आज (शुक्रबार) प्रधानमन्त्री पदको शपथ खान लागेका बालेन्द्र शाह (बालेन) लाई पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कार्यकाल सफलतालका लागि शुभकामना दिएका छन्।
प्रधानमन्त्री पदमा नियुक्त हुनुअघि नै शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले बालेनलाई ‘इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्री’ भन्दै शुभकामना दिएका हुन्।
‘ऐतिहासिक कार्यभार बहन गर्न लाग्नुभएका नेपाली इतिहासकै कान्छा र मधेसी मूलका पहिलो प्रधानमन्त्री युवा इन्जिनीयर श्री बालेन्द्र शाहलाई सफल कार्यकालको हार्दिक शुभकामना’, भट्टराईले लेखेका छन्, ‘आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक गत्यावरोधमा फसेको अर्थ-राजनीति र बाह्य रूपमा तीव्र गतिले बदलिँदै गएको भू-राजनीतिका चुनौती र सम्भावनाहरूलाई कुशलतापूर्वक व्यवस्स्थापन गर्दै देश र जनताका एक्काइसौँ शताब्दीका आकांक्षा पूरा गर्न सफलता मिलोस्!’
उनले अगाडि लेखेका छन्, ‘लामो र कष्टसाध्य लोकतान्त्रीकरणको प्रक्रियापछि सुशासन र समावेशी समृद्धीकरणको नयाँ चरणमा प्रवेश गरेको नेपाली राजनीतिको अब समयानुकूल डिजिटल प्रविधि/एआईमैत्री युवापुस्तामा पुस्तान्तरण हुँदै गएको वस्तुगत यथार्थलाई सबैले आत्मसात गरौँ। कसैको देवत्वकरण वा दानवीकरण नगरी गुणदोषको आधारमा सहकार्य र प्रतिस्पर्धा गर्ने नयाँ लोकतान्त्रिक संस्कृतिको विकास गरौँ।’
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन वैदिक विधि अनुसार आज दिउँसो १२:३४ मा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री पदको शपथ खाने तयारीमा छन्।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शपथग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद गरिनेछ भने १०८ वटा बटुकबाट स्वस्ति शान्ति वाचन गरिनेछ।
यससँगै शपथग्रहण समारोहमा बौद्ध भिक्षुलाई पनि निम्त्याइएको उनको भनाइ छ। समारोहमा १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने उनले बताए।
प्रधानमन्त्रीको शपथ लिएपछि दिउँसो पद बहालीको कार्यक्रम तय गरिएको छ। शुक्रबार दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बालेनले पद बहाली गर्ने छन्।
Shares

प्रतिक्रिया