कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अभिव्यक्तिलाई लिएर बिहीबारको प्रदेश सभा बैठकमा पनि सांसदहरूले कडा आपत्ति जनाएका छन्। बिहीबारको कोसी प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद गम्बु शेर्पाले मुख्यमन्त्रीको नैतिकतामाथि नै गम्भीर प्रश्न उठाए। प्रदेशको सर्वोच्च कार्यकारी पदमा बसेको व्यक्तिले नै सङ्घीयता र प्रदेश संरचनाको औचित्यमाथि संशय व्यक्त गर्नु आपत्तिजनक रहेको बताए। उनले यदि मुख्यमन्त्री स्वयं यो व्यवस्थाप्रति विश्वस्त र ‘कन्भिन्स’ हुनुहुन्न भने नैतिकताका आधारमा पदमा बसिरहनुको कुनै अर्थ नभएको जिकिर गरे। शेर्पाले गैर जिम्मेवार अभिव्यक्तिबारे मुख्यमन्त्रीले तत्काल सदनलाई चित्तबुझ्दो जवाफ दिनुपर्ने माग समेत गरेका छन्।

यसै गरी, सांसद मिना श्रेष्ठले बजेट विनियोजनमा प्रत्यक्ष र समानुपातिक सांसदहरूबिच चरम विभेद गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। समानुपातिक प्रणाली कुनै दया वा कृपाको विषय नभएको उल्लेख गर्दै उनले सदनमा सँगै शपथ खाएका सांसदहरूलाई दोस्रो दर्जाको व्यवहार गरिनु लोकतान्त्रिक पद्धति विपरीत भएको बताइन्।

बैठकमा समसामयिक समस्याहरू उठाउने क्रममा सांसद राजन किरातीले मध्यपूर्वको युद्धलाई बहाना बनाएर नेपालमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको कालोबजारी भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराए।

Shares

प्रतिक्रिया