संघीय संसद् सचिवालयले दलहरूको सांसद संख्या अनुसार संसदीय दलको कार्यालय पुनः व्यवस्थापन गरेको छ। संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का लागि दलको कार्यालयको व्यवस्था गरिएको हो।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाका १८२, कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका पाँच तथा स्वतन्त्र सांसद एक जना निर्वाचित भएका छन्।
संघीय संसद् सचिवालयभित्रै भएका संसदीय दलका कार्यालयलाई पार्टीको ‘स्ट्रेन्थ’ अनुसार व्यवस्थापन गरिएको छ। कांग्रेस र एमालेलाई साबिककै संसदीय दलको कार्यालयमा व्यवस्थापन गरिएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।
प्रवक्ता गिरीका अनुसार नेकपाले प्रयोग गर्दै आएको सचिवालयको भवन नं. २ अन्तर्गत साविकको कार्यालय रास्वपाका लागि व्यवस्था गरिएको छ भने रास्वपाले प्रयोग गर्दै आएको कार्यालय भवनलाई नेकपाका लागि व्यवस्था गरिएको छ। विगतमा जनता समाजवादी पार्टी (जसपा)ले प्रयोग गर्दै आएको कार्यालय श्रम संस्कृतिका लागि व्यवस्थापन गरिएको गिरीले बताए। राप्रपाका लागि भने साविकै संसदीय दलको कार्यालय व्यस्थापन गरिएको छ।
‘यो अल्पकालीन व्यवस्था हो, निर्माणाधीन संसद् भवन सम्पन्न भएपछि सोही भवनभित्रै दलको कार्यालयहरू रहनेछन्,’ प्रवक्ता गिरीले भने, ‘नयाँ संसद् भवनमा सबै सांसदलाई बेग्लाबेग्लै चेम्बरको समेत व्यवस्था गरिएको छ।’
उनका अनुसार संघीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनको तयारीमा जुटिरहेको छ। सचिवालयले यही चैत ५ गते सूचनामार्फत निर्वाचित सांसदलाई शपथ कार्यक्रममा सहभागी हुन आह्वान गरिसकेको छ।
चैत १२ गते अपराह्न २ बजे शपथ समारोहको आयोजना गरिएको उनको भनाइ छ। निर्धारित समयभन्दा दुई घण्टाअगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि सचिवालयको नवनिर्वाचित सांसदलाई अनुरोध छ। ‘सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा सांसदहरूको शपथ र अधिवेशनका प्रारम्भिक बैठक गर्ने तयारी भइरहेको छ,’ गिरीले भने।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले चैत ११ गते राष्ट्रपति भवन शीलतनिवासमा शपथ लिन्छन् भने १२ गते निर्वाचित प्रतिनिधि सभा सदस्यलाई ज्येष्ठ सदस्य केसीले शपथ दिलाउनेछन्।
नेपालको संविधानको धारा, ८८ मा ‘सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने’ व्यवस्था छ।
संविधानको धारा, ९१ (५) मा प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ। शपथ समारोहपछि नवनिर्वाचित सदस्यलाई प्रतिनिधि सभा सदस्यको प्रतीक चिह्न (लोगो), संविधान, संसद् नियमावली, सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी सँगालोसहितका सामग्री उपलब्ध गराइनेछ।
Shares

प्रतिक्रिया