सिंहदरबारको सुरक्षा व्यवस्थापन र आगामी संसदीय प्रक्रियाको तयारीबारे गृह मन्त्रालयमा छलफल भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार बसेको बैठकमा नवनिर्वाचित संघीय सांसदहरूको शपथ ग्रहण र संसद अधिवेशन सञ्चालनका लागि आवश्यक सुरक्षा रणनीतिका विषयमा छलफल भएको हो।
बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ र प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत उच्च सुरक्षा अधिकारीहरूको सहभागिता थियो। गृहमन्त्री अर्यालले सांसदहरूको व्यवस्थापन, सिंहदरबारभित्रका मन्त्रालयहरूको सुरक्षा, ट्राफिक व्यवस्थापन र आर्थिक पक्षलाई समेत ध्यानमा राखेर कार्य गर्न निर्देशन दिएका थिए।
सुरक्षा निकायका प्रमुखहरूले शपथ ग्रहण र सदन सञ्चालनका लागि आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइसकिएको जानकारी गराएका छन्। सिंहदरबारभित्रको आन्तरिक सुरक्षालाई थप सुदृढ बनाउन मन्त्रालयले विशेष योजना अघि सारेको छ।
Shares

प्रतिक्रिया