राजनीति


पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन: अर्जुननरसिंह केसी

पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन: अर्जुननरसिंह केसी

नेपालखबर
चैत ६, २०८२ शुक्रबार १४:१०, काठमाडौँ

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन्। 

शुक्रबार कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सभापति गगन थापाको राजीनामा बेठिक भएको बताए। पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको भनाइ थियो। ‘एउटा ठुलो मैदानमा क्याप्टेन भएर पार्टी पनि बदल्छु, देश पनि बदल्छु भनेर जो व्यक्ति अघि बढ्यो उसले बिचमा छोडेर जान मिल्दैन,’ केसीले भने। 

उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्तालाई आग्रह पनि गरे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्थिरता, समृद्धि र विकास दिन आग्रह गर्दै लोकतन्त्रलाई संरक्षण गर्ने काममा कांग्रेसले सहयोग गर्ने केसीले बताए। 

‘कुनै पनि नेपाली कांग्रेसका साथीले हारबाट आत्तिनुपर्ने कुरा छैन। यत्रो ठूलो जनमत प्राप्त गरेर आउनुभएका साथिहरू छन्। उहाँहरूलाई हाम्रो सम्पूर्ण रुपबाट शुभेच्छा छ,’ उनले भने, ‘स्थिरता दिनुस्, समृद्धि र विकास दिनुस् र लोकतन्त्रलाई संरक्षण गर्ने काममा उहाँहरू जहाँ जहाँ अगाडि बढ्नुहुन्छ त्यो साथमा हामी पनि छौँ।’

पार्टीका विगतका विकृति र विसंगतिहरू रातारात समाधान नहुने तर्क गर्दै केसीले ५० दिनको छोटो अवधिमा जादुई परिवर्तन खोज्नु व्यवहारिक नहुने टिप्पणी गरे। 

‘एक चुनावको जीत र हारबाट नेतृत्वको परीक्षण हुनु गलत हुन्छ। ५० दिनको अवधिमा विगत वर्षौँदेखि थुप्रिएका विकृति र विसंगति तथा हाम्रै कामबाट समेत जनता असन्तुष्ट रहेको अवस्थामा ५० दिनमा के गर्न सकिन्छ?,’ केसीले भने, ‘म त गगनजीले राजीनामा गर्नु नै बेठिक भन्ने मान्छे हो।’

कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा सभापति थापाको राजीनामा र प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामबारे छलफल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad