सदरमुकामबाट टाढा, कोसीपारिको त्यो गाउँमा न सडक थियो, न बिजुलीको उज्यालो। तर, त्यही अँध्यारोमा पनि हुर्किरहेकी गीता एउटा प्रकाश देख्थिन्– आफ्नो बुवा।
गाउँमा कसैलाई गाह्रोसाह्रो पर्दा सबैले पुकार्ने नाम थियो इन्द्रबहादुर गुरुङ। नेपाली कांग्रेसका स्थानीय नेता उनी सबैलाई सहयोग गर्न हमेसा तत्पर हुन्थे। बुवालाई देखेर गीताको बाल मस्तिष्कमा गढ्यो– ‘सेवा गर्न त बुवाजस्तै नेता पो हुनुपर्ने रहेछ!’
स्कुलमा उनी तेज विद्यार्थी थिइन्। वाक्कलामा पोख्त छँदै थिइन्, पाठ्यक्रमबाहिरका पुस्तक पनि प्रशस्त पढेकाले सानै उमेरमा सोचाइको दायरा फराकिलो भएको थियो। वक्तृत्वकला र वादविवादमा स्कुलमा मात्र होइन, क्षेत्रीय स्तरमै प्रथम हुन्थिन्।
उनको स्वभाव पनि नेतृत्व लिने किसिमको थियो।
त्यसमाथि, उनी हुर्किरहेको समय उथलपुथलकारी थियो। भर्खरै सकिएको सशस्त्र द्वन्द्वको छाया हटिसकेको थिएन। देशमा व्यवस्था बदलिँदै थियो। यसले पनि राजनीतिक घटनाक्रमसँग निकट हुँदै गइन् उनी।
मेधावी विद्यार्थी भएकाले शिक्षकहरू उनलाई हौसला दिन्थे– ‘राजनीतिमा ब्याक बेन्चर मात्रै होइन, फस्ट बेन्चर पनि आउनुपर्छ।’ राजनीतिमा पढे–लेखेको मान्छेको आवश्यकता धेरै हुन्छ भन्ने कुरा उनले त्यही बेला बुझिन्।
यो सबैको प्रभावस्वरूप जनकल्याण उच्च माविमा नेविसंघको इकाई गठन हुँदा उनी अध्यक्ष बनिन्। १३ वर्षकी गीता त्यसबेला कक्षा ८ मा पढ्दै थिइन्।
गीता पढाइमा त्यत्तिकै अब्बल थिइन्। २०६६ सालमा एसएलसी दिँदा उनले विशिष्ट श्रेणी हासिल गरिन् र उच्च शिक्षाका लागि काठमाडौँ छिरिन्।

प्रायः उत्कृष्ट अंक ल्याउने विद्यार्थीले डाक्टरी, इन्जिनियरिङजस्ता विषय पढून् भन्ने अपेक्षा परिवारको हुन्छ। काठमाडौँ आउँदासम्म गीताको पनि सोच त्यही थियो। त्यसैले विज्ञान विषय लिएर पढ्न थालिन्।
तर, त्रिचन्द्र क्याम्पसमा स्नातक गर्दै गर्दा उनको सपना बदलिन थाल्यो। उनी नेविसंघमा झनझन् सक्रिय हुँदै गएकी थिइन्। दूरदराजबाट आउने विद्यार्थीहरूलाई सघाउने, संगठन बनाउन उपत्यकाबाहिरका जिल्लासम्म पुग्न थालिन्।
विज्ञानमा स्नातकपछि अध्ययनको विषय पनि फेरियो। त्रिभुवन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गर्दासम्म उनी नेविसंघको केन्द्रीय सदस्य बनिसकेकी थिइन्।
विद्यार्थी राजनीतिपछि उनी पार्टी राजनीतिमा प्रवेश गरिन्। पार्टीका विभिन्न कार्यक्रम, आन्दोलन र चुनावी अभियानमा नेतृत्वदायी भूमिका खेलिन्।
त्यही योगदानको कदरस्वरूप ०७९ मा पार्टीले उनलाई प्रदेशसभा सदस्यमा समानुपातिक उम्मेदवार बनाएको थियो। तर, त्यसबेला उनी अन्तिम सूचीमा परिनन्। यसपटक भने कांग्रेसले उनलाई समानुपातिक प्रतिनिधित्वमार्फत प्रतिनिधिसभा सदस्यमा छनोट गरेको छ। र, ३० वर्षीया गीता नेपाली कांग्रेसकै कान्छी सांसद बनेकी छन्।
‘बुवाको प्रेरणा लिएर म राजनीतिमा आएँ। उहाँले मलाई पितृसत्तासँग जुध्ने साहस मात्र दिनुभएन, मेरा हरेक निर्णयहरूमा साथ खडा रहनुभयो, हौसला दिनुभयो। जसका कारण म राजनीतिमा लाग्न सकेँ,’ गीता भन्छिन्, ‘पार्टीले पनि कम उमेरमै मलाई यति ठूलो जिम्मेवारी दिएको छ। संसदमा पुगेर जनताको आवाज उठाउने कर्तव्य पूरा गर्न कुनै कसर छाड्ने छैन।’
बहिनी रिताले घर सम्हाल्ने जिम्मेवारी लिइदिएकाले पनि आफूलाई राजनीतिमा लाग्न सहज भएको गीताको भनाइ छ।

नेविसंघको पहिलो महिला अध्यक्ष हुने अधुरो सपना
नेविसंघलाई कांग्रेसको नर्सरी मानिन्छ। किनकि शेरबहादुर देउवादेखि गगन थापा र विश्वप्रकाश शर्मासम्म नेविसंघकै उत्पादन हुन्।
तर, नेविसंघको ५ दशक लामो इतिहासमा पुरुष मात्रै अध्यक्ष बनेका छन्। त्यसैले गीताले सपना देखिन्– नेविसंघको पहिलो महिला अध्यक्ष बन्छु। र, त्यसका लागि तयारी पनि थालिन्।
गीताले दुई पटक पूर्व–पश्चिम देश दौडाहा गरिन्, हरेक ठाउँका कलेजमा गएर नेविसंघसँग अन्तर्क्रिया गरिन्। तर दुई वर्षमा हुनुपर्ने महाधिवेशन १० वर्ष बित्न लाग्दा समेत भएन।
‘म अध्यक्ष हुन्छु भन्नेमा ढुक्क थिएँ, तर महाधिवेशन नै भएन,’ गीता भन्छिन्, ‘२०७३ को महाधिवेशन भइसकेपछि चुनावी कार्यसमिति आयो तर चुनावै भएन। दुई वटा अध्यक्ष तदर्थ नै आए। गुटबन्दी र तदर्थले दुई वर्षमा हुनुपर्ने महाधिवेशन करिब दस वर्ष हुन लाग्दा पनि हुन सकेको छैन। जसले गर्दा संगठन नै जाम भएको छ।’
जहाँ विभिन्न बोटबिरुवा उम्रन्छन् र त्यसलाई काटछाँट–गोडमेल गर्ने काम नेतृत्वको हातमा हुन्छ।
३२ वर्षे उमेर हदका कारण अब उनी नेविसंघको अध्यक्ष बन्न सम्भव छैन। यसरी आफ्नो सबैभन्दा ठूलो सपना अधुरै रहेको सम्झिँदा मात्र पनि उनलाई पीडा हुन्छ।
‘नेविसंघको अध्यक्ष हुन नपाएकोमा मलाई अहिले पनि पीडा महसुस हुन्छ,’ गला अवरुद्ध पार्दै गीता सुनाउँछिन्, ‘अहिले म सांसद त भएँ पार्टीबाट, तर मलाई चाहिँ नेविसंघमै अध्यक्ष भएर काम गर्ने रहर थियो।’
यति ठूलो संगठनमा अहिलेसम्म छात्राले नेतृत्व लिन नसकेको कुराले गीतालाई चसक्क बिझाउँछ।
‘त्यतिबेला मैले पार्टी नेतृत्वसमक्ष गएर प्रश्न गरेकी थिएँ– ‘ती छात्रहरूको दाँजोमा हामी कुन हिसाबले सक्षम छैनौँ?’ यो कुरालाई लिएर नेतृत्वसँग चर्काचर्की नै परेको थियो,’ उनले सुनाइन्, ‘कांग्रेस पार्टीभित्र महिलाहरू राजनीतिक र शैक्षिक हिसाबमा अब्बल हुँदा पनि नेतृत्वको भूमिकामा नपुग्ने कुरा दुखद हो।’
पार्टीका भ्रातृ संगठनहरूमा भएको गुटबन्दीका कारण नयाँ मान्छे जोडिने मौका नपाएको उनले बताइन्। त्यहीकारण हाल पार्टीमा युवा पुस्ता आकर्षित नभएको उनको भनाइ छ।
‘हाम्रो सांगठनिक संरचना त छ। तर त्यो ‘कोमा’मा गएजस्तो भयो। सक्रिय नै भएन नि त। नत्र भए हाम्रो त नेविसंघ छ, तरुण दल छ, महिला संघ छ। अहिले ती कतै पनि काम लागेनन् नि। किनकि तिनीहरू अधिवेशन भएर चलायमान छैनन्। अब पनि पार्टीले यो कुरालाई महसुस नगर्ने हो भने अझै ठूलो क्षति बेहोर्नु पर्ने हुन्छ,’ उनको चेतावनी छ।
युवापुस्ताले राजनीतिमा सक्रिय भएर र नेतृत्वमा पुगेर मात्र देशलाई सही दिशामा लैजानसक्ने उनको तर्क छ।

सशक्त प्रतिपक्ष बन्ने र हिमालको आवाज उठाउने अठोट
यसपटकको चुनावमा देशभर कांग्रेसको खराब प्रदर्शन रहे पनि सोलुखुम्बुमा भने सो पार्टीले जित निकाल्यो। प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिकमा पनि कांग्रेसले सोलुबाटै थप दुई सांसद छनोट गरेको छ। त्यसमध्ये एक हुन् गीता।
नेविसंघको नेतृत्व गर्ने अवसर नपाए पनि उनका सामु सम्भावनाको नयाँ ढोका खुलेको छ। संसदीय राजनीतिमा उनी सिकारु हुन्। तथापि युवा र हिमाली क्षेत्रको आवाजलाई संसदसम्म पुर्याउने पर्याप्त आत्मविश्वास उनमा देखिन्छ। संसद् भवन छिर्दै गर्दा उनी अनुभवको लामो फेहरिस्त होइन, छचल्किँदो उत्साह बोकेर आएकी छन्।
जसरी विद्यार्थी राजनीतिमा हुँदा केन्द्रमा रहेर पूर्व–पश्चिम जहाँ, जे परे पनि दगुरेकी थिइन्, त्यसरी नै सदनमा नागरिकको आवाजलाई विशेषतः युवा महिलाको प्रतिनिधित्व हुने हिसाबले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गीताले बताइन्।
‘हाम्रो पार्टीबाट थुप्रै दिग्गज नेताहरू पराजित भएको यो समयमा एउटा युवा अनुहार सदनमा पुग्नु अवसर र चुनौती दुवै हो,’ गीता भन्छिन्, ‘म एउटा सशक्त प्रतिपक्षका रूपमा पेस हुने कोसिस गर्नेछु।’
चुनाव प्रचारका क्रममा जिल्लाका कुनाकुनामा पुग्दा नागरिकको चेतना विस्तार हुँदै गएको अनुभूति उनलाई भयो। पहिलेजस्तो सडक बनाइदिन्छु, पुल बनाइदिन्छु, बिजुली ल्याइदिन्छु भनेर मात्र भोट पाइने स्थिति नरहेको उनी बताउँछिन्।
‘विकास निर्माणसँगै अब नागरिकको चासो नीति निर्माणमा पनि देखिएको छ। म उहाँहरूको त्यही चासो सम्बोधन गर्ने कोसिस गर्नेछु,’ उनले भनिन्।
खासगरी युवालाई देशमै अड्याउने र ग्रामीण उत्पादन वृद्धि कसरी गर्ने भन्ने विषयमा आफू केन्द्रित हुन् उनको भनाइ छ।
त्यसैगरी, हिमाली जिल्ला सोलुखुम्बुले जलवायु परिवर्तनका कारण ठूलो असर झेलिरहेको छ। यसलाई पनि संसदमा प्रभावकारी रूपमा उठाउने गीताको योजना छ।
‘शिक्षामा क्षेत्रगत रूपमा र विद्यालयगत रूपमा भएको फरकपनलाई बदल्न नयाँ शिक्षानीति ल्याउनु पर्ने अवस्था छ,’ उनी भन्छिन्।
कांग्रेसमा पछिल्लो समय देखिएको आन्तरिक खिचोलाबाट उनी निकै चिन्तित छिन्। पार्टीमा शिरपुछार दुई कित्ता देखिएको छ। यसलाई जतिसक्दो चाँडो सल्ट्याउनुपर्ने उनको भनाइ छ।
‘सबै पुस्ता, सबै वर्ग, क्षेत्रलाई समेटेर अघि बढ्नुपर्छ। पार्टी बनाउने बाटो यही मात्र हो,’ उनी भन्छिन्।
आज पार्टीले ठूलो झड्का बेहोरे पनि कांग्रेसको राजनीतिक भविष्यप्रति उनी विश्वस्त छिन्।
‘यति लामो इतिहास बोकेको पार्टी हो। भोलिका दिनमा पनि यो पार्टी निर्णायक शक्ति नै बन्नेछ,’ आत्मविश्वासपूर्वक उनी भन्छिन्, ‘कांग्रेसलाई उभ्याउने, एक बनाएर अगाडि लैजाने जिम्मा हाम्रै काँधमा छ।’
Shares

प्रतिक्रिया