कर्पोरेट


सिटिजन्स बैँकको ५ करोड हिनामिना प्रकरणः फरार कर्मचारी खोज्दै प्रहरी

सिटिजन्स बैँकको ५ करोड हिनामिना प्रकरणः फरार कर्मचारी खोज्दै प्रहरी

नेपालखबर
चैत ५, २०८२ बिहिबार १६:५१, काठमाडौँ

सिटिजन्स बैंक इन्टरनेसनलको विराटनगर–३ मा राजबंशी चोकमा रहेको शाखाबाट करिब ५ करोड रुपैयाँ हिनामिना गरी फरार रहेकी कर्मचारीको प्रहरीले खोजी तिब्र बनाएको छ। 

बैंकका निक्षेपकर्ताहरूको मुद्दती निक्षेपलाई धितो राखी नक्कली ऋणी खडा गरेर ४ करोड ९१ लाख ५२ हजार १३ रुपैयाँ घोटाला गरेको आरोपमा तत्कालीन अपरेसन इन्चार्ज ३५ वर्षीया रोजी कँडेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले उनको खोजी तीव्र बनाएको हो।
बैंकको आन्तरिक लेखापरीक्षण (अडिट) का क्रममा कर्मचारीहरूकै मिलेमतोमा १३ जना नक्कली ऋणीका नाममा किर्ते कर्जा फाइल खडा गरी रकम निकालिएको तथ्य बाहिरिएको थियो।
 
यस प्रकरणमा बैंकले २८ फागुनमा जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो। हिनामिनामा संलग्नता देखिएको भन्दै बैंकले कँडेललाई बर्खास्त गरिसकेको छ भने शाखा प्रबन्धक अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्यसहित अन्य सात जना कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याएको छ।
 
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालका अनुसार, बैंकले बुझाएको २५० पेज लामो छानबिन प्रतिवेदनका आधारमा बैंकिङ कसुर मुद्दामा अनुसन्धान अघि बढाइएको छ। उच्च अदालत विराटनगरले कँडेललाई पक्राउ गर्न अनुमति दिएलगत्तै प्रहरी टोली उनको खोजीमा जुटेको छ।

 
यसअघि कँडेलले पक्राउ पूर्जि रोक्न माग गर्दै उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरे पनि न्यायाधीशद्वय प्रकाश खरेल र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रहरीलाई उनलाई कानुनी नियन्त्रणमा लिएर अनुसन्धान गर्ने बाटो खोलिदिएको हो। ‘अहिले घटनामा संलग्नहरुको खोजी भइरहेको छ, एसपी कटुवालले भने, ‘अहिलेसम्म एकजना मात्रै  भन्ने कुरा आएको छ, उसलाई पक्राउ गरेर अनुसन्धान थालेपछि थप  के हो भन्ने थाहा होला।’

बैँकको केन्द्रबाट खटिएको चार्टर्ड एकाउन्टेन्टको विशेष टोलीले दुई महिनाअघि नै घोटाला पत्ता लगाएको थियो। छानबिनका क्रममा कञ्चनबारी शाखाका तत्कालीन प्रबन्धकदेखि सहायक कर्मचारीसम्मको युजर आईडी प्रयोग गरी २० लाखदेखि १ करोड २५ लाख रुपैयाँसम्मका १३ वटा नक्कली ऋण फाइल तयार पारिएको देखिएको बैँकले बुझाएको प्रतिवेदनमा उल्लेख छ।  

कँडेलले सुरुमा १५ दिनभित्र रकम फिर्ता गर्ने भनेर बैँकसँग कागज गरे पनि पछि सम्पर्कविहीन भएपछि बैंक कानुनी उपचारमा गएको हो। तर कँडेलको परिवारले भनेँ बैँकले प्रहरीमा उजुरी दिएर फँसाउन खोजेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad