नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावमा एकपटक प्राप्त गरेको नतिजा स्थायी नहुने बताएका छन्।
सामाजिक सञ्जालमा उनले भारतको चुनाव र त्यहाँको कांग्रेस (आई) को हविगतको उदाहरण दिँदै पोखरेलले यस्तो तर्क गरेका हुन्।
‘सन १९८४ को भारतीय आम चुनावमा आजको नेपालको चुनावमा देखिएको ‘बालेन लहर’ जस्तै ‘राजीव लहर’ देखिएको थियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यस समयमा भारतीय लोकसभामा कांग्रेस (आई)ले दुई तिहाइभन्दा बढी सिटमा ऐतिहासिक विजय हासिल गरेको थियो। वर्तमान सत्तारूढ दल भाजपा भने उक्त चुनावमा केवल २ सिटमा सीमित भएको थियो।’
तर, त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गएको पोखरेलको भनाई छ।
‘त्यस्तो विशाल सफलता प्राप्त गरेपछि पनि कांग्रेस (आई) क्रमशः कमजोर बन्दै गयो, जबकि भाजपा विस्तारै सशक्त बन्दै अघि बढ्यो,’ पोखरेलले भनेका छन्, ‘यही प्रक्रियाको परिणामस्वरूप आज भाजपा नरेन्द्र मोदीको नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि भारतको केन्द्रीय शासनमा स्थापित भएको छ।’
भारतको यस घटनाक्रमले एउटा महत्वपूर्ण शिक्षा दिने पोखरेलको तर्क छ।
‘चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन,’ एमाले महासचिव पोखरेलले भनेका छन्, ‘जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन्। जित्ने र हार्ने दुबैका लागि यी शिक्षाका विषय हुन्।’

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनबाट एमाले संसद्मा कमजोर खाले तेस्रो शक्तिमा रूपान्तरण भएको छ। उसले ०७९ को निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सबैभन्दा धेरै मत प्राप्त गरेको थियो।
तर अघिल्लो निर्वाचनमा चौथो स्थानमा रहेको रास्वपा यो निर्वाचनबाट दुई तिहाइ नजिकको बहुमतसहित बलियो शक्तिको रुपमा उदाएको छ।
रास्वपा एकलौटी ढंगले सरकार गठन गर्ने तयारीमा लागेका बेला एमाले महासचिवको यस्तो भनाई आएको हो।
Shares

प्रतिक्रिया