राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पूर्वतालिकाबमोजिम पार्टीका नवनिर्वाचित सांसदका लागि आज (मंगलबार) देखि ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित अभिमुखीकरण कार्यक्रमको उद्घाटनमा सहभागी भएका छैनन्।
पार्टीका उपसभापति डीपी अर्यालले दुवै नेता ‘स्वास्थ्यका कारण’ आज उद्घाटन सत्रमा उपस्थित हुन नसकेकाे बताए।
‘स्वास्थ्य अवस्था र व्यस्तताले गर्दा वरिष्ठ नेता बालेन शाह उद्घाटन सत्रमा आउन सक्नुभएन’, उनले भने, ‘सभापति लामिछाने पनि स्वास्थकै कारण उद्घाटनमा उपस्थित हुन सक्नुभएन।’
तर स्वास्थ्यमा के समस्या भएको भन्ने विषयमा उनले खुलाएनन्। बुधबारसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रम बालेनले उद्घाटन गर्ने र रविले समापन गर्ने तालिका थियो।
‘बालेनजीलाई भोलि समापन सत्रमा ल्याउने प्रयास हुनेछ’, उपसभापति अर्यालले भने।
अभिमुखीकरण कार्यक्रम रास्वपाका उपभासपतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले संयुक्त रूपमा घण्टी बजाएर उद्घाटन गरेका छन्।
नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्न, पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट पार्न तथा संसद्, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाउन प्रशिक्षण आयोजना गरिएको रास्वपाले जनाएको छ।
कार्यक्रममा रास्वपाबाट प्रत्यक्ष निर्वाचित १२५ र समानुपातिक ५७ जना गरी १ सय ८२ सांसद सहभागी छन्।


Shares

प्रतिक्रिया