राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेशसभा सदस्यबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका सुनिल केसी यस पटकको निर्वाचनमा काठमाडौँ २ बाट भारी मतान्तरसहित निर्वाचित भए।
कुनै राजनीतिक विरासत वा विद्यार्थी संगठनको सिँढी नचढी केवल सामाजिक काम र स्थानीय समस्याको समाधानमा निरन्तर सक्रिय रहेको दाबी गर्ने केसीले बालेन शाह टिमबाट टिकट पाएका थिए। रास्वपाभित्र केसीको यो जितलाई परम्परागत राजनीतिको विकल्पमा नयाँ कार्यशैलीप्रतिको जनसमर्थनका रूपमा हेरिएको छ।
आफ्नो राजनीतिक छलाङका बारेमा केसी निकै प्रस्ट छन्।
नेपालखबर ‘तत्कालै’सँग उनी भन्छन्, ‘सदन र सरकारको सात–आठ महिने अस्थिरताले जनतामा पारेको प्रत्यक्ष असरबाट दिक्क भएर नै एउटा बलियो शक्ति निर्माणका लागि म रास्वपामा जोडिएको हुँ।’
केसीको जितको एउटा बलियो आधार काठमाडौँका मेयर बालेन शाहसँगको उनको निकट सम्बन्ध र सहकार्य पनि हो। यो सम्बन्ध राजनीतिक मात्र नभएर व्यक्तिगत र चुनावी सहकार्यमा पनि उत्तिकै प्रगाढ देखियो। बालेनको मतदाता नामावली काठमाडौँ क्षेत्र नम्बर २ को वडा नम्बर ९ मा रहेकाले उनले सुनिल केसीलाई नै मतदान गरेका थिए। मतदानको दिन बिहानै केसी र बालेन सँगै मतदान केन्द्र पुगेका थिए, जहाँ बालेनले आफ्नो मत दिएर केसीलाई शुभकामना दिएका थिए।
‘बालेनजी र मेरो सम्बन्ध कामले गर्दा भएको हो,’ उनले भने, ‘उहाँ पनि काम गर्न अनि नतिजा दिन एकदम आतुर, म पनि त्यही लाइनको मानिस हो।’

निर्वाचनको समयमा बालेनको लहर र रास्वपाको घण्टीको उदयले एउटा सकारात्मक माहोल सिर्जना गरेको र सबैको एकताले नै सुखद नतिजा सम्भव भएको उनको भनाइ छ।
रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेरै चुनावमा होमिएको थियो। रास्वपाले देशभरबाट झन्डै दुइ तिहाइ अर्थात १८२ सिट ल्याएपछि र बालेनले झापा ५ मा एमाले अध्यक्ष केपी ओलीलाई झन्डै ५० हजार मतान्तरले हराएपछि अहिले उनी मौन छन्। अबको प्रधानमन्त्री भनेर हेरिएका उनी निर्वाचन परिणामपछि सार्वजनिक रुपमा देखिएका छैनन्।
हामीले बालेन निकट मानिएका सुनिललाई सोध्यौँ– ‘कहाँ छन् त बालेन, के गर्दैछन् अहिले?’
जवाफमा उनले अहिले उनी नतिजा र डेलिभरीको गृहकार्यमा व्यस्त रहेको बताए। उनी दृश्यमा नदेखिए पनि कसरी देशलाई समृद्ध बनाउने र जनताका समस्या समाधान गर्ने भन्ने योजना बुन्नमा सक्रिय रहेको केसीको भनाइ छ।
अब बन्ने सरकारको स्वरूप र उद्देश्यबारे केसीले भने, ‘अब राम्रो डेलिभरी दिने सरकार बन्छ, यो देशलाई कसरी समृद्धि र विकासलाई अगाडि बढाउने भन्ने सरकार बन्छ, भ्रष्टाचारमुक्त समाज बनाउनका लागि अहम् भूमिका खेल्ने सरकार बन्छ र इमानदारीपूर्वक देश र जनताको लागि काम गर्ने सरकार बन्छ।’

रास्वपाभित्र अनावश्यक पदको लोभ नगर्ने संस्कृति विकास गरिने उनले बताए।
‘हामीलाई यो चाहियो, यो दिनुस् भनेर हामीले कहिल्यै भनेका पनि छैनौँ र भन्दा पनि भन्दैनौँ,’ केसी भन्छन्।
केसी आफ्नो कार्यशैली पनि बालेनजस्तै बोलेर भन्दा पनि एक्सनमा विश्वास गर्ने खालको रहेको बताउँछन्। कोटेश्वरको सडक जाम हटाउनेदेखि ट्राफिक लाइट व्यवस्थापन र मेलम्चीको खानेपानी समस्या सल्ट्याउन उनी सधैँ अग्रपङ्क्तिमा देखिने बताउँछन्।
‘मेरो बानी के छ भने म एकपटक फोन हानेर चुप लागेर बस्दिनँ। एउचोटि भन्दा गरेनन् भन्ने बारम्बर ताकिता गरेर भए पनि काम गराएरै छोड्छु। रिजल्ट ल्याएरै छोड्छु,’ उनले भने।
बाँकी उनले के–के भने, हेर्नुहोस् उनीसँग गरिएको भिडिओ कुराकानी नेपालखबर ‘तत्कालै’ :
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया