राजनीति


नेकपा संसदीय दलको नेता प्रचण्ड, एमालेमा बादल

नेकपा संसदीय दलको नेता प्रचण्ड, एमालेमा बादल

सागर न्यौपाने
चैत २, २०८२ सोमबार २०:३८, काठमाडौँ

हालै सम्पन्न प्रतिनिधि सभाको चुनावमा नेकपा एमालेबाट प्रत्यक्षतर्फ अध्यक्ष केपी शर्मा ओलीसहित कुनै पनि पदाधिकारी निर्वाचित हुन सकेनन्। एमालेका १९ जना पदाधिकारीमध्ये ११ जना उम्मेदवार थिए।

प्रत्यक्षमा ९ जना मात्र निर्वाचित भएका छन्। जसमा बाँके क्षेत्र नं २ बाट मोहम्मद इस्तियाक राई, इलाम–२ बाट सुहाङ नेम्बाङ, दार्चुलाबाट गणेशसिंह ठगुन्ना, बझाङबाट ऐनबहादुर महर, धनकुटाबाट राजेन्द्रकुमार राई, सङ्खुवासभाबाट अर्जुनकुमार कार्की, ताप्लेजुङ क्षेत्र नं १ बाट क्षितिज थेबे, दैलेख– २ बाट लक्ष्मीप्रसाद पोखरेल र अछाम– २ बाट यज्ञबहादुर बोगटी निर्वाचित भएका छन्। 

२०६४ सालबाहेक कुनै पनि चुनाव नहारेका ओली यसपटक झापा ५ बाटै भारी मतान्तरले पराजित भए। भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर त्यही क्षेत्रमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उनलाई ४९ हजार बढीको मतान्तरले पराजित गरे। 

उनी मात्र होइन, तीन उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवले पनि चुनाव जित्न सकेनन्। 

उपाध्यक्षहरू विष्णु पौडेल (रुपन्देही २), पृथ्वीसुब्बा गुरुङ (लमजुङ) र गोकर्ण विष्ट (गुल्मी २) मा पराजित भए।

महासचिव शंकर पोखरेल दाङ २ बाट पराजित हुँदा  उपमहासचिव लेखराज भट्ट (कैलाली ४) र रघुवीर महासेठ (धनुषा ४) ले पनि जित्न सकेनन्। सचिवहरू शेरधन राई, राजन भट्टराई, महेश बस्नेत र भानुभक्त ढकालको पनि हालत उस्तै भयो। शेरधन भोजपुर, राजन काठमाडौँ ४, महेश भक्तपुर २ र भानुभक्त तेह्रथुमबाट उम्मेदवार थिए। 

प्रत्यक्षमा उठेका सबै पदाधिकारी पराजित हुँदा समानुपातिकबाट भने दुई जना पदाधिकारी सांसद बनेका छन्। उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव पद्मा अर्याल समानुपातिक तर्फबाट निर्वाचित भएका हुन्। 

यस्तै, ११ औँ महाधिवेशनमा उपाध्यक्ष लडेर पराजित भएका गुरु बराल पनि समानुपातिकबाट सांसद बनेका छन्। यसैगरी, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलसहित विभिन्न क्लस्टरबाट १६ जना एमालेको समानुपातिकसांसद निर्वाचित भए। 

जसमा, आदिवासी जनजाति पुरुषमा उपाध्यक्ष रामबहादुर थापा र नेता कुलभक्त शाक्य परे।

महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ सांसद बन्दा  खसआर्य महिला समूहबाट सचिव पद्मा अर्याल, नेताहरू टुकाभद्रा हमाल र यशोदाकुमारी बराल पनि निर्वाचित भए।

खस आर्य पुरुषतर्फबाट गुरु बराल र पुष्प कँडेल निर्वाचित हुँदा थारु क्लस्टरबाट कृपाराम राना थारु विजयी बने। यसैगरी, दलित समूहबाट विष्णुमाया बिके, निता घतानी निर्वाचित भएका छन्। मधेसी महिला समूहबाट रिङ्ला यादव र यशोदाकुमारी यादव, मधेसी पुरुषबाट चन्देश्वर मण्डल, मुस्लिम महिला समूहबाट सजिता यादव सिद्दिकी पनि निर्वाचित भएका छन्।

को होला दलको नेता?
संसदमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दलको नेता चयन गर्ने अभ्यास छ। जसले सदनमा आफ्नो पार्टीको आधिकारिक धारणा राख्ने र महत्वपूर्ण छलफलमा भाग लिने गर्छन्।

संसदमा पेस हुने विधेयकहरूमा पार्टीको अडानबारे अन्तिम निर्णय दलको नेताले गर्ने अभ्यास छ।  

यसैगरी, यदि दल सरकारमा छ भने सरकारका नीति र कार्यक्रमलाई संसदबाट पारित गराउन मुख्य भूमिका खेल्नेदेखि सरकारका कामकारबाहीको निगरानी गर्ने काम दलको नेताको हुन्छ।

संसदीय दलको नेता चुनिनका लागि सम्बन्धित दलका निर्वाचित सांसदहरूबीच मतदान वा सर्वसम्मति हुनुपर्छ। 

पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रत्यक्ष लडेका सबै पदाधिकारी पराजित भएकाले एमालेको संसदीय दलको नेता को चयन हुन्छ भन्ने चासो छ। एमालेले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा बादललाई संसदीय दलको नेता बनाउने कोसीका मुख्यमन्त्री तथा पार्टी सचिव हिक्मतकुमार कार्कीले जानकारी दिए।

‘पार्टीले नै निर्णय गर्न पनि सक्छ वा दललाई छाड्न पनि सक्छ,’ उनले नेपालखबरसँग भने, ‘हाम्रो पार्टीको संगठनात्मक प्रणालीमार्फत हामी जान्छौँ। यस आधारमा हेर्दा उपाध्यक्षमध्येका वरिष्ठ रामबहादुर थापा बादल दलको नेता चुनिनुहुन्छ।’

‘पद्मा अर्याल, गुरु बराल, पुष्प कँडेलहरू पनि हुनुहुन्छ। तर, उहाँहरूको संसदमा अरु पनि भूमिका र जिम्मेवारी हुन्छ। अहिले मैले हेर्दा बादल नै हुनुहुन्छ,’ कार्कीले थपे, ‘पपुलिस्ट कुराको पछि हामी दगुर्नु हुँदैन।’ 

युवा सांसदलाई सचेतक बनाउने सम्भावना रहेको उनले बताए।

नेकपामा प्रचण्ड
प्रतिनिधि सभाको यसपटकको चुनावमा प्रत्यक्षतर्फ ८ र समानुपातिकमा ९ सिट जितेर चौथो शक्ति बनेको नेपाली कम्युनिस्ट पार्टीले संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता बनाउँदैछ।

नेकपाका वरिष्ठ नेता बेदुराम भुसालका अनुसार प्रचण्डलाई दलको नेता बनाउने निर्णय हुन्छ। प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भएका हुन्। तर, सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, राजेन्द्र पाण्डे लगायतका पदाधिकारी पराजित भएका थिए। 

‘यो त स्वभाविक छ, हाम्रो संयोजक हुँदा–हुँदै अरु कोही हुँदैन। दलको नेता भनेको पार्टी प्रमुखलाई नै बनाउने अभ्यास छ,’ उनले भने, ‘पार्टीभित्र एउटा दलको प्रमुख र अर्काे संसदीय दलको नेता बनाउँदा काममा असन्तुलन ल्याउँछ। पार्टी काम र संसदीय कामबीच द्वन्द्व ल्याउँछ। त्यो राम्रो हुँदैन। कि त दलको प्रमुख नभए स्वतः अर्काे बन्ने हो। हाम्रो त पार्टी प्रमुख निर्वाचित भएर आएपछि उहाँलाई नै दलको नेता बनाउनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad