प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्ष तर्फको परिणाम अन्तिम चरणमा पुग्दै गर्दा समानुपातिकतर्फको मतगणना पनि चलिरहेको छ।
सोमबार बिहान साढे बजेसम्म समानुपातिकतर्फ ८३ लाख ६ हजार ६९६ मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ।
प्रत्यक्षतर्फ अहिलेसम्म १२४ सिटमा जित निकालेको रास्वपाले अहिलेसम्म समानुपातिकतर्फ ४० लाख भन्दा धेरै मत प्राप्त गरेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाले ४० लाख ९ हजार ५५५ मत प्राप्त गरेको छ।
त्यसैगरि प्रत्यक्षमा १७ सिटमा जित निकालेको नेपाली कांग्रेसले १३ लाख ४९ हजार ४०८ मत पाएको छ।
प्रत्यक्षमा अहिलेसम्म ८ सिट मात्रै जितेको एमालेले समानुपातिकतर्फ ११ लाख ४३ हजार ४६६ मत प्राप्त गरेको छ। ०७९ को निर्वाचनमा एमालेले समानुपातिक तर्फ सबैभन्दा बढी मत प्राप्त गर्दा रास्वपा चौथो भएको थियो।
अहिलेसम्म नेकपाले समानुपातिकतर्फ ५ लाख ८७ हजार ७३९ मत पाएको निर्वाचन आयोगले जनाएको छ।
त्यसैगरि हर्क राई नेतृत्वको श्रम संस्कृति पार्टीले अहिलेसम्म २ लाख ८९ हजार ९९२ मत पाएको छ भने राजावादी दलको रुपमा चिनिएको राप्रपाले अहिलेसम्म २ लाख ७५ हजार १२४ मत मत पाएको छ।
मधेसवादी कुनै पनि दलले यसपटको निर्वाचनमा समानुपातिकतर्फको थ्रेसहोल्ड कटाउने अवस्था देखिएको छैन।
जसपाले अहिलेसम्म १ लाख २४ हजार २०७ मत मात्रै पाएको छ। त्यसैगरि राष्ट्रिय परिवर्तन पार्टीले पनि १ लाख १८ हजार १६५ मत पाएको छ।
Shares

प्रतिक्रिया