झापा-५ मा आफूलाई हराउँदै प्रतिनिधि सभा निर्वाचन जितेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानो तस्बिरसहित बधाई दिएका छन्।
शनिबार निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजनिक गर्दै बालेन विजयी भएको घोषणा गरेपछि पूर्वप्रधानमन्त्री ओलीले कुनै बेला बालेनलाई तबला उपहार दिएको तस्बिर सामाजिक सञ्जालमा राख्दै बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
ओलीले लेखेका छन्, ‘बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई! तपाईंको पाँचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस्, हार्दिक शुभकामना!’
एमाले अध्यक्ष ओलीले २०७९ असार २९ गते आफूलाई भेट्न तत्कालीन निवास बालकोटमै आएका तत्कालीन मेयर बालेनलाई तबला उपहार दिएका थिए।
रास्वपाबाट भावी प्रधानमन्त्री पदको उम्मेदवार घोषित बालेन एमाले अध्यक्ष ओलीलाई ४९ हजार ६१४ मतले उछिन्दै सांसद पदमा निर्वाचित भएका हुन्।
विजयी बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमा सीमित भएका छन्।
काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय निर्वाचनको प्रतिस्पर्धामा होमिएका बालेन प्रधानमन्त्री पनि बन्ने निश्चितजस्तै छ।
किनभने उनको पार्टी रास्वपाले एक्लै सरकार गठन गर्न सक्ने गरी बहुमत सिट जित्ने देखिएको छ।
Shares

प्रतिक्रिया