प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा झन् झन् पछि पर्दै गएका छन्।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंहले थापासँगको मतान्तर अझ फराकिलो बनाउँदै लगेका हुन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार रास्वपाका सिंहले १६ हजार २२७ मत पाउँदा थापाले नौ हजार ६७४ मत पाएका छन्।
यहाँ थापा र सिंहबीचको मतान्तर ६५ सय ५३ पुगेको छ।
थापा सुरुदेखि नै सिंहसँग पछाडि परेका हुन्। यसअघि सार्वजनिक मत परिणाममा सिंह र थापाबीचको मतान्तर ४४ सय ३१ थियो।
यो क्षेत्रमा एमालेका अमनिशकुमार यादवले ३२ सय ६२ मत पाएका छन् भने नेकपाका रजनिश रायले जम्मा ७०३ मत ल्याएका छन्।
सर्लाही ४ को मतगणना गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा जारी चलिरहेको छ।
सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
Shares

प्रतिक्रिया