छिमेकी मुलुक चीनले नेपालमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै बधाई दिएको छ। शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपालको पछिल्लो राजनीतिक विकासक्रमलाई चीनले नजिकबाट नियालिरहेको र यसलाई सकारात्मक रूपमा लिएको बताइन्।
'नेपालले निर्धारित समयमै प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरेकोमा चीन बधाई ज्ञापन गर्दछ,' प्रवक्ता निङले भनिन्, 'नेपालले आफ्नो राजनीतिक एजेन्डालाई सुव्यवस्थित ढंगले अघि बढाएको देख्दा हामीलाई खुसी लागेको छ।'
फागुन २१ (मार्च ५) मा सम्पन्न मतदानका क्रममा करिब ६० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण रहेको निर्वाचन आयोगको प्रारम्भिक प्रतिवेदनपछि बेइजिङको यस्तो प्रतिक्रिया आएको हो।
नेपाल र चीनबीचको सम्बन्धलाई 'परम्परागत मित्रवत् छिमेकी' का रूपमा व्याख्या गर्दै प्रवक्ता निङले स्वतन्त्रता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि दुवै मुलुकले एकअर्कालाई दिँदै आएको समर्थनको स्मरण गरिन्।
'चीन नेपालसँगको सम्बन्धलाई उच्च महत्त्व दिन्छ,' उनले थपिन्, 'विकास र समृद्धिका लागि स्थायी मित्रतासहितको रणनीतिक साझेदारीलाई अझ उचाइमा पुर्याउन चीन नेपालसँग मिलेर काम गर्न तयार छ।'
कुटनीतिक वृत्तमा बेइजिङको यो सन्देशलाई नेपालको आन्तरिक राजनीतिक स्थिरता र दुई देशबीचको दीर्घकालीन साझेदारीप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ। विशेष गरी नेपालमा नयाँ सरकार गठनको पूर्वसन्ध्यामा छिमेकी मुलुकबाट आएको यो सकारात्मक टिप्पणीलाई अर्थपूर्ण मानिएको छ।
Shares

प्रतिक्रिया