राजनीति


भोट हाल्दा आन्दोलनकारी जेनजी ‘भावुक’, भन्छन् : अब छानबिन प्रतिवेदनको पर्खाइ छ

भोट हाल्दा आन्दोलनकारी जेनजी ‘भावुक’, भन्छन् : अब छानबिन प्रतिवेदनको पर्खाइ छ

आयुषा ढकाल
फागुन २१, २०८२ बिहिबार १५:५९, काठमाडौँ

‘हिजो हामीले सुशासनका निम्ति सडकमा प्रश्न उठाएका थियौँ, आज परिवर्तनका लागि मतदान गर्‍यौँ लोकतन्त्रप्रतिको हाम्रो प्रेम यही हो। हाम्रो पुस्ताले लोकतन्त्र पुनः दाबी गरेको छ,’ भोट हालेपछि नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले तस्बिरसहित सामाजिक सञ्जालमा लेखेकी छन्।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले फागुन २१ मा चुनावको मिति तोकेको थियो। अनेक आशंकाका बाबजुद घोषित मितिमै चुनाव भएको छ। यसबाट जेनजी नेताहरूले खुसीका साथै भावुक भएको प्रतिक्रिया दिएका छन्।

‘यत्तिका समस्याका बाबजुद समयमै चुनाव भयो। भोट हाल्दा म त साह्रै इमोसनल भएँ,’ रक्षाले नेपालखबरसँग भनिन्।

झापा–५ को दमकबाट मतदान गरेकी जेनजी प्रतिनिधि तनुजा पाण्डेले आशा, जिम्मेवारी र विश्वास बोकेर आफ्नो मत दिएको बताइन्। 

‘यो केबल लोकतन्त्र मत होइन, दण्डहीनता, विभाजनको राजनीति र फासीवादको उभार विरुद्धको एउटा सचेत आवाज पनि हो,’ पाण्डेले भनिन्, ‘यो मत राजनीतिक संस्कार सुनिश्चित गर्नका लागि हाम्रो पुस्ताले सडकमा उभिएर प्रश्न गर्‍यो र लोकतन्त्रलाई केबल शब्द होइन, अभ्यास बनाउने प्रयास गर्‍यो।’

उनले आफ्नो मत तिनै संघर्षको निरन्तरता भएको बताइन्।

काउन्सिल अफ जेनजीकी मोनिका निरौलाले पनि आफ्नो मतदान क्षेत्र काठमाडौँ–३ बाट मतदान गरेकी छिन्।

मतदान गरिसकेपछि तनुजा र मोनिकाले अब गौरीबहादुर कार्की आयोगले सार्वजनिक गर्ने अनुसन्धान प्रतिवेदनको प्रतीक्षामा रहेको बताउँछन्।

नेपाल जेनजी फ्रन्टका युजन राजभण्डारीले भक्तपुर–२ को मध्यपुर ठिमी वडा नं. ५ बाट मतदान गरेका छन्। काउन्सिल अफ जेनजीका कोसी प्रदेश संयोजक उपार्जुन चाम्लिङले पनि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी वडा नं. ९ को श्री मनोकामना जनकल्याण माध्यमिक विद्यालयबाट मतदान गरेका गरे।

उपार्जुन चुनाव लड्ने चर्चा पनि थियो। तर, दलहरूसँग कुरा नमिलेकाले उनले सडकमै रहने निर्णय लिए।

घाइते जेनजी विजेस गोलेले सिन्धुपाल्चोक क्षेत्र नं. १ बाह्रबिसेको सरस्वती माध्यमिक विद्यालयबाट आफ्नो मताधिकार प्रयोग गरे। देशले निकास पाउने र स्थिर सरकारको आश रहेको उनको भनाइ छ। यो उनको पहिलो मतदान पनि हो।

भदौ २३ को आन्दोलनमा गोलेलाई संसद भवनअगाडि दाहिने पिँडुलामा गोली लागेको थियो।

जेनजी आन्दोलनमा अग्रपंक्तिमा रहेका केही जेनजीहरू विभिन्न पार्टीमा प्रवेश गरेका छन्। तथापि, अधिकांश सडकमै रहेर खबरदारी गरिरहने बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad