झापा क्षेत्र नं ५ मा मतदान भइरहँदा त्यहाँका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाह पुगे लफडा हुने चेतावनीपछि निर्वाचन आयोगले काठमाडौँ नै फर्काएको खुलेको छ।
काठमाडौँमा मतदान गरेर हेलिकप्टरमार्फत झापा जान बालेनले बुधबार निर्वाचन आयोगबाट अनुमति लिएका थिए।
निर्वाचन आयोगले काठमाडौँ–झापा रुटमा मात्र हेलिकप्टर प्रयोग गर्न अनुमति प्रदान गरेको थियो। तर निर्वाचनको दिन बालेनलाई झापा जान अनुमति दिइएपछि बुधबार नै एमालेले आपत्ति जनाएको थियो।
मतदान चलिरहँदा बालेन झापा पुगे लफडा हुन सक्ने चेतावनी एमालले दिएपछि ओखलढुङ्गाको आकासमा हेलिकोप्टर उडिरहेका बेला आयोगले बालेनलाई ‘एयर ट्राफिक कन्ट्रलो’ मार्फत् काठमाडौँ नै फर्काएको हो।
यसअघि मौसमका कारण बालेन सवार हेलिकोप्टर फर्किएको भनिए पनि सुरक्षाका कारण फर्काइएको सुरक्षा स्रोतले पुष्टि गर्यो।
बालेनले आचारसंहिता उल्लंघन गरेको भन्दै एमालेले विरोध गरेको थियो।
निर्वाचन आयोगका एक सदस्यलाई टेलिफोन गरेरै एमाले नेताले बालेन झापा पुगे सुरक्षास्थिति जे पनि हुन सक्ने र त्यसको जिम्मेवारी आयोगले नै लिनु पर्ने चेतावनी दिएका थिए।
आयोगका सदस्यलाई फोन गरेर एमाले नेताले ‘तपाईंहरु कसको सेवा गर्न यस्तो निर्णय गर्नुहुँदैछ’ भनेर सोधेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट उडेको बालेन सवार हेलिकोप्टर ३० मिनेटपछि काठमाडौँ नै फर्केको थियो। त्यसपछि बालेन विमानस्थलबाट सिनामंगलतर्फ बाहिरिएका थिए। बालेनको टिमका एक सदस्यले पनि सुरक्षाकै कारण बालेन फर्किएको पुष्टि गरे।
‘झापाको सुरक्षा अवस्था अलिक बिग्रने भयो भन्ने कुरा आयो। त्यही भएर फर्किनु भएको हो। सायद अब आज आउनु हुन्न’, उनले झापाबाट भने।
झापा ५ मा एमालेबाट केपी शर्मा ओली र रास्वपाबाट बालेन शाहले मनोनयन गर्दा गरेदेखि नै आरोप प्रत्यारोप बढिरहेको थियो। मतदानको दिनसम्म अप्रिय घटना हुन सक्ने आकलनबिच त्यहाँको सुरक्षा व्यवस्था अत्याधिक कडा पारिएको छ।
देशकै सबैभन्दा सुरक्षा खतरा झापामा रहेको आकलनसहित प्रहरीले सोही अनुसारको व्यवस्था मिलाएको छ। एमालेले झापामा बाक्लो रुपमा सेना परिचालन गरिएको विषयमा पनि असन्तुष्टि जनाएको छ। अहिले झापाका सबै मतदान केन्द्रमा मतदान भइरहेको छ। झापामा ४० प्रतिशत मतदान भइसकेको छ।
बालेनसँगै हेलिकप्टर प्रयोग गर्न अनुमति पाएका नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड गन्तव्यमा पुगिसकेका छन्। थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा र प्रचण्डले रुकुमपूर्व जान अनुमति पाएका थिए।
बालेन र गगनले काठमाडौँमा मतदान गरेका थिए। प्रचण्ड चितवनमा मतदान गरेर उतैबाट रुकुमपूर्वतर्फ लागेका हुन्।
भक्तपुरको बालकोट केन्द्रमा मतदानपछि झापा जाने तयारी गरेका ओलीले पनि कार्यक्रम स्थगित गरेका छन्।
Shares

प्रतिक्रिया