राजनीति


आफूलाई भोट दिन नपाउने यी शीर्ष नेता: मतदानपछि हेलिकप्टरमा प्रचण्ड रुकुम, गगन सर्लाही जाने

ओली र बालेन काठमाडौँमा, बालकोट र सिनामंगलमा मतदान गरेर दुवै उड्दै छन् झापा
आफूलाई भोट दिन नपाउने यी शीर्ष नेता: मतदानपछि हेलिकप्टरमा प्रचण्ड रुकुम, गगन सर्लाही जाने

सागर न्यौपाने
फागुन २०, २०८२ बुधबार २०:६, काठमाडौँ

जेनजी आन्दोलनका कारण हुन लागेको प्रतिनिधिसभा चुनावमा १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४०६ उम्मेदवार मैदानमा छन्। तर, कयौँ दलका शीर्ष नेताहरु आफूले मतदान गर्ने क्षेत्रमा होइन, अन्यत्रै उम्मेदवार छन्। 

नेपालको निर्वाचन कानुनले उम्मेदवारलाई जुनसुकै क्षेत्रबाट चुनाव लड्न छुट दिए पनि मतदाता नामावली स्थायी ठेगानासँग जोडिएको हुन्छ। यसैकारण यी नेताहरुले फागुन २१ गते एक ठाउँमा मत खसालेर आफू उम्मेदवार रहेको अर्काे ठाउँमा पुग्नुपर्नेछ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मतदाता नामावली भक्तपुरमा छ। २ नम्बर क्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले मतदान गर्ने स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए। 

प्रतिनिधि सभा सदस्य चुनावमा ओली झापा–५ बाट उम्मेदवार छन्। मतदानलगत्तै ओली आफूले उम्मेदवारी दिएको क्षेत्र जाने उनले बताए।

‘उहाँ मत दिएर प्लेन सञ्चालन भयो भने झापा ५ जाने कार्यक्रम छ,’ बज्राचार्यले नेपालखबरसँग भने। 

भक्तपुर २ मा एमालेले पार्टी सचिव महेश बस्नेतलाई उठाएको छ। 

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड मत दिनको लागि चितवन पुगेका छन्।

उनको मतदाता नामावली चितवन क्षेत्र नम्बर ३ मा छ। जहाँबाट उनकी छोरी रेनु दाहाल उम्मेदवार बनेकी छिन्। 

उनको सचिवालयकी निशा न्यौपानेले दिएको जानकारी अनुसार प्रचण्डले भरतपुर–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्नेछन्। 

अघिल्लो पटकको चुनाव गोरखा–२ बाट जितेका प्रचण्ड यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका छन्।  

‘उहाँ मत दिएलगत्तै हेलिकप्टरमा रुकुम पूर्व जाने कार्यक्रम छ,’ उनले भनिन्।

उता, नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उठेका छन्। तर, उनी काठमाडौं–४ का मतदाता हुन्।  मैतीदेवी मन्दिर छेउमा रहेको केन्द्रमा मतदान गरेर थापा हेलिकप्टरमार्फत सर्लाही ४ जाने उनको सचिवालयका सदस्य सविन मुडभरीले जानकारी दिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि काठमाडौँ–३ का मतदाता हुन्। उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको महांकालचौर केन्द्रबाट मतदान गर्ने स्वकीय सचिव अविनास आचार्यले जानकारी दिए। रवि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्।

मत खसालेर उनी उम्मेदवारी दिएका क्षेत्र जाने तयारी छ।

यसैगरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पहिलो पटक प्रतिनिधि सभाको चुनाव लड्दैछन्। झापा–५ बाट उम्मेदवारी दिए पनि उनको मतदाता नामावली काठमाडौँमा छ।

सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान दिएपछि उनी हवाइ मार्ग हुँदै झापा ५ जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। 

‘सात बजे मतदान गर्ने कार्यक्रम छ, त्यो लगत्तै उहाँ झापा जानुहुन्छ। प्लेन चल्यो भने प्लेनमा नभए हेलिकोप्टरबाट भएपनि उहाँ झापा पुग्नुहुन्छ’ बालेनको सचिवालयलका एक सदस्यले भने, ‘उहाँ सकभर आफ्नो निर्वाचन क्षेत्रका सबै स्थानीय तहमा पुग्नुहुन्छ। चारवटै पालिकाका मतदाता भेट्नुहुनेछ।’

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा ३ का मतदाता हुन्। उनी सोही क्षेत्रका उम्मेदवार पनि छन्। हल्दिबारी गाउँपालिका १ को वडा कार्यालय गोलधाप मतदान केन्द्रबाट मत खसाल्ने उनले जानकारी दिए। 

‘म मत खसालेर यही निर्वाचन क्षेत्र घुम्छु,’ राप्रपा अध्यक्ष लिङ्देनले नेपालखबरसँग भने। 

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले गौर नगरपालिका–२ स्थित रामजानकी कन्या प्राथमिक विद्यालय भवन मतदान केन्द्रमा मतदान गर्दैछन्। उनी रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। 

यसैगरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव कोसी प्रदेशको मोरङ-५ निवासी हुन्। उनको मतदाता नामावली विराटनगर नगरपालिका–१४ मा छ। त्यहाँ रहेको डिग्री क्याम्पस विज्ञान भवनमा रहेको मतदान केन्द्रमा उनले मतदान गर्नेछन्। चुनावमा भने उनी मधेस प्रदेशको सप्तरी क्षेत्र नं ३ बाट उठेका छन्। 

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार छन्। उनी सोही क्षेत्रका मतदाता पनि हुन्। महादेवा गाउँपालिका २ को आधारभूत जनता मावि महादेवाबाट उनले मतदान गर्नेछन्। 

उता, नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ गोरखाको सिरानचोक गाउँपालिका–८ का मतदाता हुन्। त्यहाँको जौबारीस्थित मतदान केन्द्रमा उनले मतदान गर्दै आए पनि यसपटक उनी सर्लाही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन्। उनले आफ्नै लागि मत दिन पाउने छैनन्।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ क्षेत्र नम्बर ३ का मतदाता हुन्। उनी सोही क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेदवार बनेका छन्।

उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाका अनुसार बौद्ध महाँकालस्थित जनकल्याण माध्यामिक विद्यालय मतदान केन्द्रमा घिसिङले मत खसाल्नेछन्। उनी पहिलो पटक प्रतिनिधि सभाको चुनाव लड्दैछन्। 

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)   सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवार छन्। उनी धरान उपमहानगरपालिका वडा नम्बर १८ का मतदाता हुन्। 

यसैगरी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देहीका मतदाता हुन्। उनी रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार पनि छन्। उनले बुटवल–८ स्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालय मतदान केन्द्रमा मतदान गर्नेछन्। 

एमालेका महासचिव शङ्कर पोखरेल दाङका मतदाता हुन्। उनले तुलसीपुर– १९ स्थित जनता विद्यापीठ केन्द्र बिजौरीमा  मत खसाल्नेछन्। उनी दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार छन्। 

कांग्रेस महामन्त्री प्रदीप पौडेल तनहुँ–२ ढोरफेदीका मतदाता हुन्। तर उनी काठमाडौं–५ बाट उम्मेदवार भएका छन्। उनी आफूलाई मत दिन नपाउने नेता हुन्।

रास्वपा उपसभापति स्वर्णिम वाग्ले काठमाडौँका मतदाता हुन्। काठमाडौँको टोखास्थित चण्डेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्दै आएका उनी तनहुँ–१ बाट उम्मेदवार छन्। आफूलाई मत दिन नपाउने उनीपनि एक हुन्। 

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिका वडा नम्बर १ स्थित अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदान गर्दै आएका छन्। उनी मतदानका लागि गोरखा पुगिसकेको उनको सचिवालयले जनाएको छ। 

यता, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे प्रतिनिधि सभाको उम्मेदवार छैनन्। भक्तपुर दरबार स्क्वायरको विद्यार्थी निकेतन उच्च मावि मतदान केन्द्रबाट उनले मतदान गर्नेछन्।  

डडेलधुराको गन्यापधुराबाट मतदान गर्ने नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा अहिले उपचारका लागि सिंगापुरमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad