निर्वाचन सुरक्षाका हिसाबले सधैं चर्चामा रहने चितवनमा यसपटक पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहाल, रास्वपा उम्मेदवार सोविता गौतम, कांग्रेसकी मीना खरेल लगायतका उम्मेदवारका कारण देशकै ध्यान खिचेको चितवनको चुनावी सुरक्षा र तयारी कस्तो छ?
प्रस्तुत छ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीसँग गरिएको कुराकानी :
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले के–कस्तो तयारी गरिरहेको छ?
यो निर्वाचनको सुरक्षा सन्दर्भमा हाम्रो केन्द्रीय निर्वाचन सुरक्षा समितिले एउटा एकीकृत सुरक्षा योजना बनाएको छ। हामी त्यही एकीकृत सुरक्षा योजना अनुरूप रहेर जनशक्ति व्यवस्थापन र खटाउने काममा जुटेका छौँ। निर्वाचनलाई हामीले तीन चरणमा हेरेका छौँ– निर्वाचन पूर्वको तयारी, मतदानको दिन र मतदान पश्चात् हुने मतगणनाको सुरक्षा।
अहिले हामी प्रारम्भिक चरणमै छौँ। निर्वाचन आयोगले दिएको टाइमलाइन अनुसार भोलि राति १२ बजेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने अवधि छ, त्यसलाई हामीले फलो गरिरहेका छौँ।
निर्वाचनमा प्रहरीको खास भूमिका के हुन्छ?
अहिलेसम्म जिल्लाको शान्ति सुरक्षाको अवस्था सामान्य छ र कुनै असहज परिस्थिति सिर्जना भएको छैन।

हेभिवेट उम्मेदवार र कडा प्रतिस्पर्धाका कारण चर्चामा रहेको यो जिल्लामा उम्मेदवारको सुरक्षा र सम्भावित चुनौतीलाई कसरी हेर्नुभएको छ?
हो, यहाँले भन्नुभएजस्तै चितवनमा रास्वपाका सभापति हुनुहुन्छ, पूर्वमेयर सापहरू हुनुहुन्छ र उहाँहरूसँगै जिल्लाभर ६४ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। क्षेत्र नम्बर १ मा १८ र क्षेत्र नम्बर २ र ३ मा २३–२३ जना उम्मेदवार हुनुहुन्छ। उहाँहरू सबैको सुरक्षाका लागि हाम्रो प्रहरी टोली समन्वय र सम्पर्कमा छ। रिस्क फ्याक्टरको विश्लेषण गरेर सुरक्षा समितिको मापदण्ड अनुसार सुरक्षा उपलब्ध गराइएको छ।
चुनावमा साना घटनाले पनि ठूलो इस्यु निम्त्याउन सक्छ, कसैको लापरबाहीले असहज परिस्थिति आउन सक्छ भन्नेमा हामी सचेत र सतर्क छौँ। चुनावलाई बिथोल्न सक्ने वा अवरोध गर्न सक्ने खालका कुनै पनि गतिविधि हाम्रो नोटिसमा आउने बित्तिकै एक्सन लिने गरी तयारी छ। सबै उम्मेदवारले आ–आफ्नो प्रचारप्रसार गरिरहनुभएको छ, त्यसलाई हामीले सुरक्षा दिइरहेका छौँ।
चितवनमा बुथ कब्जा हुन सक्ने सम्भावना कत्तिको देख्नुहुन्छ?
बुथ कब्जाको सम्भावना त हुने कुरै भएन। सम्भावना होइन, हामी हुन दिँदैनौँ। कसैले क्याप्चर हुन्छ भन्यो भने त्यो उहाँलाई लाग्ने कुरा होला, तर त्यो शंका मात्रै हो, त्यस्तो कतै पनि हुँदैन। कतै बुथ क्याप्चर गर्ने, फर्जी मत हाल्छु भन्ने वा कतै डिस्टर्बेन्स गर्छु भन्ने कसैले कल्पना नगर्दा हुन्छ। त्यसमा सुरक्षाले अपनाउनुपर्ने सबै सतर्कता कार्यान्वयन गर्छौँ। सुरक्षा निकायले अपनाउनुपर्ने सतर्कतामा कुनै कमी रहँदैन।
मौन अवधिमा सबैभन्दा बढी आर्थिक चलखेल हुने सम्भावना हुन्छ, यसलाई कसरी नियन्त्रण गर्नुहुन्छ?
मौन अवधिमा पैसा बाँड्ने, मतदातालाई प्रलोभनमा पार्ने वा डिस्टर्ब गर्ने जस्ता कुराहरू विगतमा पनि सुनिने गर्थे। निर्वाचनमा एउटा ‘च’ भन्ने शब्द छ। निर्वाचनको आचारसंहितालाई पालना गर्दा त्यो ‘च’ भनेको चलखेल नगर्ने भन्ने हो। चलखेल गरेर चुनाव जितिने वा हारिने भन्ने पनि त होइन नि। यो आम जनताले पनि बुझेको विषय हो। चलखेल गर्न पाइँदैन, गरियो भने कानुनी दायरामा आउँछन्।
मौन अवधिमा हुनसक्ने अवाञ्छित गतिविधिलाई रोक्न हाम्रा मोबाइल टिमहरूले निरन्तर निगरानी गरिरहेका छन्। कसैले पैसा बाँड्न खोजेको वा मतदातालाई प्रभावमा पार्न खोजेको सूचना पाउने बित्तिकै ५ देखि १० मिनेटभित्रै हाम्रो टोली पुग्ने खालको अप्रोच हामीसँग छ। हामीले हाम्रा सबै बेसहरू र टोलीहरूलाई सक्रिय बनाएका छौँ।

निर्वाचनको सम्मुखमा गाडीहरूको चेकजाँच र रातको समयमा हुने गस्ती कस्तो छ?
रातिमा हामीले चेकजाँच र गस्तीलाई निकै कडा बनाएका छौँ। २० गते रातिदेखि त बिना पासका गाडीहरू चल्नैै पाउँदैनन्। चितवन भित्रिने र बाहिरिने नाकाहरूमा कुकुर सहितको टोलीले चेकजाँच गरिरहेको छ। साना–साना टुकडीहरूमा पनि चेकजाँच भइरहेको छ। सिनियर प्रहरी अधिकृतहरू आफैँ रातभर मोनिटरिङमा खटिएका छन्।
अहिलेसम्म सौहार्द्रपूर्ण रूपमा सबै राजनीतिक दल र उम्मेदवारहरू प्रचारप्रसारमा हुनुहुन्छ, उहाँहरूबीच एक आपसमा हार्दिकता देखिएको छ। कतै पनि त्यस्ता खालका असहज परिस्थितिहरू भएका छैनन् र हुन दिँदैनौँ पनि। निर्वाचन बिथोल्ने हर्कत कतै गरियो भने त्यसलाई कानुनी दायरामा लयाएर पूर्ण कारबाही गर्न जिल्ला निर्वाचन सुरक्षा समिति प्रतिबद्ध छ। त्यसैले ढुक्क भएर मतदान गर्ने वातावरण मिलाउन प्रहरी जताततै परिचालित छ।
फोटो/भिडिओ : सरोज नेपाल

प्रतिक्रिया