(हुम्ला) — हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका अति दुर्गम मतदान केन्द्रहरूमा नेपाली सेनाको हेलिकप्टरमार्फत कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामग्री ढुवानी सुरु गरिएको छ। नाम्खा–४ को चाला र वडा नं. ६ लिमी क्षेत्रका तीनवटा मतदान केन्द्रका लागि आइतबारदेखि ढुवानी कार्य थालिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार चारवटा मतदान केन्द्रका लागि खटिएका १०२ जना कर्मचारी, म्यादी प्रहरी र सुरक्षाकर्मीलाई हेलिकप्टरमार्फत कार्यक्षेत्र पठाइएको छ। 'लिमी र चाला पुग्न पैदल मार्गबाट धेरै दिन लाग्ने र बाटो असहज भएकाले आयोगको निर्णयअनुसार हेलिकप्टर प्रयोग गरिएको हो,' चन्दले भने।
लिमीका तीन मतदान केन्द्र— तिल, हल्जी र जाङ— समुद्री सतहबाट करिब ५ हजार मिटरभन्दा बढी उचाइका नाकाहरू पार गरेर पुग्नुपर्ने हुन्छ। हिउँले बाटो पुरिएका कारण स्थलमार्गबाट निर्वाचन सामग्री लैजान असम्भव भएपछि सेनाको एमआई–१७ हेलिकप्टरले पालैपालो ओसार्ने काम गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
खटिएका कर्मचारीहरूमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य प्राविधिक कर्मचारीहरू रहेका छन्। निर्वाचन सामग्री सुरक्षित रूपमा केन्द्रमा पुर्याउन र कर्मचारीको सुरक्षालाई ध्यान दिँदै सरकारले हिमाली जिल्लाका यस्ता 'क' वर्गका दुर्गम केन्द्रहरूमा हवाई ढुवानीको विशेष व्यवस्था गरेको हो।
Shares

प्रतिक्रिया