राजनीति


आशिकाको आरोप– लात्ती हानेर गाडी कुच्याउने? राजेन्द्र पाण्डेले भने– ‘स्टन्ट’ गर्ने !?

आशिकाको आरोप– लात्ती हानेर गाडी कुच्याउने? राजेन्द्र पाण्डेले भने– ‘स्टन्ट’ गर्ने !?

रास्वपाकी उम्मेदवार आशिका तामाङ र नेकपाका नेता राजेन्द्र पाण्डे


सुनिता विष्ट
फागुन १७, २०८२ आइतबार १६:३३, काठमाडौँ

निर्वाचनको मिति नजिकिँदै गर्दा धादिङ–१ मा चुनावी प्रतिस्पर्धा रोचक मात्र होइन, विवादित समेत बन्न थालेको छ। यस क्षेत्रमा मुख्य प्रतिस्पर्धी मानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारबीच 'गाडी तोडफोड' को विषयलाई लिएर आरोप-प्रत्यारोप सुरु भएको हो।

शनिबारदेखि रास्वपाकी उम्मेदवार आशिका तामाङ र नेकपाका नेता राजेन्द्र पाण्डेबीच विवाद चुलिएको छ। चुनावी प्रचारप्रसारका क्रममा नेकपाका कार्यकर्ताले आफ्नो सवारी साधन तोडफोड गरेको आरोप तामाङले लगाएकी छिन्।

आशिकाको प्रश्न: 'अराजक गतिधिवि गर्नेलाई कारबाही हुन्छ कि नाइँ?'
आशिकाले सामाजिक सञ्जाल फेसबुकमा क्षतिग्रस्त गाडीको तस्बिर सार्वजनिक गर्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएकी छिन्। उनले लेखेकी छिन्, “गाडी घेराउ गर्ने, गाडी भित्र भएकालाई मुख छाड्ने, अराजक गतिविधि गर्ने, गाडीमा हालेको झन्डा चोरेर लाने अनि लातै लात्तीले हानी गाडी कुच्याइ दिने, सिसा फुटाइदिनेलाई कारबाही हुन्छ कि नाइँ?”

तामाङको सचिवालयका अनुसार घटना थाक्रे गाउँपालिका–८ मा भएको हो। रास्वपा र नेकपाको प्रचार टोली जम्काभेट हुँदा ५०/६० जनाको समूहमध्ये ४/५ जनाले टोलीको अन्तिममा रहेको गाडीमा तोडफोड गरेको दाबी सचिवालयको छ।

पाण्डेको प्रतिवाद: 'धकेलेर सहयोग गर्दा उल्टै फण्डा'
यता, नेकपाका उम्मेदवार राजेन्द्र पाण्डेले भने तोडफोडको कुरालाई 'रास्वपाको फण्डा' भन्दै खण्डन गरेका छन्। पाण्डेका अनुसार उकालोमा अड्किएको गाडीलाई आफ्ना कार्यकर्ताले धकेलेर सहयोग मात्र गरेका हुन्।

उनले घटनाबारे स्पष्ट पार्दै भनेका छन्, "थाक्रे गाउँपालिका–३ को सुनुवार गाउँबाट हाम्रो प्रचारप्रसार सुरु गरेका थियौँ, वडा नम्बर ४, ५, ७ को गाउँहरु हुँदै वडा नम्बर ८ मा आइपुग्दा हाम्रो प्रचार टोलीको संख्या निकै ठुलो थियो। त्यहीबेला रास्वपाकी उम्मेदवारलाई पनि भेट भयो। उनको गाडीमा कुनै समस्यै थिएन। उनको सहयोगीको गाडी उकालोमा अड्किएर उक्लन नसकेको अवस्था थियो। हाम्रो कार्यकर्ता साथीहरुले बाइकबाट झरेर धकेलेर सहयोग गरेका हुन्। त्यो भन्दा बाहेक केही घटना घटेको छैन।"

पाण्डेले निर्वाचनको माहोल बिगार्न र सहानुभूति बटुल्न रास्वपाले अनावश्यक विवाद सिर्जना गरी सिडिओ र निर्वाचन अधिकृतलाई उजुरी गरेको आरोप लगाएका छन्।

धादिङ क्षेत्र नम्बर १ मा यसपटक पुराना नेता राजेन्द्र पाण्डे र सामाजिक अभियन्ताका रूपमा चिनिएकी रास्वपा उम्मेदवार आशिका तामाङबीच कडा टक्कर हुने अनुमान छ। निर्वाचन नजिकिएसँगै जिल्लामा सुरक्षा संवेदनशीलता बढेको छ भने दुवै पक्षले सामाजिक सञ्जालमार्फत एकअर्काको आलोचना तीव्र पारेका छन्।

हाल यस क्षेत्रमा पाण्डे र तामाङसहित २४ जना उम्मेदवार चुनावी मैदानमा छन्। घटनाबारे जिल्ला प्रशासन कार्यालयले अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad