मधेस


धनुषामा ८८ उम्मेदवारले मात्र खोले बैंक खाता

धनुषामा ८८ उम्मेदवारले मात्र खोले बैंक खाता

नेपालखबर
फागुन १७, २०८२ आइतबार १६:४०, जनकपुरधाम

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि धनुषा जिल्लामा उम्मेदवारी दिएका १ सय ५४ जनामध्ये हालसम्म ८८ जनाले मात्र बैंक खाता सञ्चालनमा ल्याएको मधेश प्रदेश निर्वाचन कार्यालय, जनकपुरधामले जानकारी दिएको छ।

जनकपुरधाममा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख रोमबहादुर महतले आयोगको निर्देशन अनुसार प्रत्येक उम्मेदवारले छुट्टै बैंक खाता खोलेर निर्वाचन खर्च तथा आम्दानीको अभिलेख राख्नुपर्ने प्रावधान रहेकोबताए।

उम्मेदवारले बैंक खाता खोल्नुपर्ने अनिवार्यता छ। तर धनुषा जिल्लामा अहिलेसम्म ८८ जना उम्मेदवारले मात्र बैंक खाता खालेका हुन्।

जिल्ला आचारसंहिता अनुगमन अधिकृत कृष्ण गैरेका अनुसार आचारसंहिता उल्लंघन गर्दै विभिन्न स्थानमा राखिएका करिब १ लाख ५० हजार प्रचार सामग्री नियन्त्रणमा लिइएको छ। उनले आचारसंहिताको पूर्ण पालना गर्न सबै राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गर्दै उल्लंघन भए कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिए। 

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईंटेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, पारदर्शी र धाँधलीरहित बनाउन प्रशासन पूर्ण तयारीमा रहेको जानकारी दिए।

उनले जिल्लामा सुरक्षाको व्यापक व्यवस्था मिलाइएको बताउँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरिएको बताउँदै आवश्यक परेमा पाँचदेखि सात मिनेटभित्र अतिरिक्त सुरक्षा टोली मतदान केन्द्रमा पुग्ने व्यवस्था गरिएको बताए।

प्रमुख जिल्ला अधिकारी लुईंटेलले सामाजिक सञ्जालमार्फत चरित्रहत्या वा दुष्प्रचार नगर्न राजनीतिक दल र उम्मेदवारलाई सचेत गराउँदै प्रमाणसहित दोषी भेटिए कारबाही हुने स्पष्ट पारे।

धनुषामा प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र छन्। जिल्लाभर ६४५ मतदान केन्द्र र ३२३ मतदान स्थल तोकिएका छन्, जसमध्ये १९४ स्थललाई अतिसंवेदनशील श्रेणीमा राखिएको छ।

निर्वाचनका लागि ३ हजार ८७५ कर्मचारी परिचालन गरिने र ४ हजार ५०० म्यादी प्रहरी छनोट भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad