राजनीति


कांग्रेसको आन्तरिक विश्लेषण : प्रत्यक्षमा ५० आसपास, समानुपातिकमा ३० लाख

कांग्रेसको आन्तरिक विश्लेषण : प्रत्यक्षमा ५० आसपास, समानुपातिकमा ३० लाख

लोकेन्द्र भट्ट
फागुन १५, २०८२ शुक्रबार २१:४६, काठमाडौँ

नेपाली कांग्रेसले आसन्न निर्वाचनमा प्रत्यक्षमा सबैभन्दा बढी सिट जित्ने र समानुपातिकतर्फ मत बढ्ने आन्तरिक विश्लेषण गरेको छ। कांग्रेसले गत निर्वाचनमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत पाएको थियो। 

तत्कालीन माओवादी, एकीकृत समाजवादी र लोसपासँग गठबन्धन गरी १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसले ५७ सिट जितेको थियो। अहिले १६५ क्षेत्रमै उम्मेदवारी दिएको कांग्रेस प्रत्यक्षमा सबैभन्दा बढी सिट जित्नेमा ढुक्क सुनिन्छ। कांग्रेस उपसभापति तथा चुनावी परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले पार्टीका सबै उम्मेदवारको अवस्थाबारे सर्वेक्षण रिपोर्ट लिरहेका छन्।

देशव्यापी सर्वेक्षणका लागि २२ जना खटिएका छन् भने अनौपचारिक रूपमा ४ सय जनामार्फत कांग्रेसले सूचना संकलन गरिरहेको छ। उपसभापति शर्मालाई आएका रिपोर्टहरूको विश्लेषण गर्दा प्रत्यक्षमा ५८ सिटमा कांग्रेस अगाडि छ। 

कोसी प्रदेशका २८ सिटमध्ये कांग्रेसले ११ क्षेत्रमा अग्रता लिइरहेको विश्लेषण छ। सोलुखुम्बु, ओखलढुंगा, इलाम १, झापा १, मोरङका १, २, ३ र ६ मा अगाडि रहेको कांग्रेसको विश्लेषण छ। सुनसरीका २ तथा उदयपुरको १ क्षेत्रमा जित्न सकिने कांग्रेसको आकलन छ। यस्तै खोटाङ, पाँचथर, भोजपुर, र तेह्रथुममा पनि कडा प्रतिस्पर्धा रहेको आकलन कांग्रेसको छ। रिपोर्ट अनुसार बाँकी क्षेत्रमा दोस्रो र तेस्रो स्थानमा रहने अवस्था देखिएको छ।

मधेस प्रदेशका ३२ सिटमध्ये कांग्रेसले १३ क्षेत्रमा अग्रता लिइरहेको विश्लेषण छ। सर्लाही १, ४, महोत्तरीको १ क्षेत्र, धनुषा ३ र ४, रौतहट १ र २, सप्तरी १ र ४, पर्सा २, सिरहाका २ र बाराको १ क्षेत्रमा अहिले अगाडि रहेको कांग्रेसको विश्लेषण छ। मधेसका एकाधबाहेक बाँकी क्षेत्रमा कडा प्रतिस्पर्धामा रहेको कांग्रेसको सर्वेक्षण टोलीका एक सदस्यले बताए।

बागमती प्रदेशमा ३३ मध्ये ११ सिटमा अगाडि रहेको कांग्रेसको आन्तरिक रिपोर्ट छ। मकवानपुर १, रसुवा, नुवाकोट १, काभ्रे २, धादिङ २, ललितपुर १, काठमाडौँ १, २, ४, ५, र १० को चुनावी प्रतिस्पर्धामा अहिलेसम्म अगाडि रहेको कांग्रेसको विश्लेषण छ। बाँकी अधिकांश क्षेत्रमा कडा प्रतिस्पर्धामा रहेको कांग्रेसको विश्लेषण छ। 

गण्डकी प्रदेशका १८ सिटमा कांग्रेसले मनाङ, मुस्ताङ, स्याङ्जा १, बागलुङ १, तनहुँ–१, नवलपुर–१ सहित ६ वटा जित निश्चित भएको क्षेत्रका रूपमा हेरेको छ। बाँकी क्षेत्रमा तीव्र प्रतिस्पर्धीमा रहेको कांग्रेस रहने आन्तरिक विश्लेषण छ।

लुम्बिनी प्रदेशका २६ सिटमध्ये कांग्रेसले दाङ–१, रूपन्देही–२ र ५, बर्दिया १ र २, कपिलवस्तुका २ वटा, प्युठान र अर्घाखाँचीसहित ९ वटा क्षेत्रमा कांग्रेस अगाडि रहेको सो पार्टी बताउँछ। यस्तै रोल्पा, रुकुम पूर्व, गुल्मी, नवलपरासी–१ र २, रूपन्देहीका १, ३, ४, कपिलवस्तु–२ र ३ र बाँकेका ३ वटै क्षेत्रमा कांग्रेस प्रतिस्पर्धामा रहेको सर्वेक्षण रिपोर्टमा देखिन्छ।

कर्णाली प्रदेशमा कांग्रेसले हुम्ला, सुर्खेत–१ र जाजरकोट जित्ने आन्तरिक आकलन गरेको छ। सुर्खेत–२, दैलेख– १ र २, डोल्पा, मुगु, सल्यान, कालिकोट र जुम्लामा प्रतिस्पर्धा देखिएको कांग्रेसको विश्लेषण छ। 

सुदूरपश्चिम प्रदेशका कैलाली ५, कञ्चपुर २ र डडेल्धुरा, बैतडी, डोटी, बाजुरा जित्ने आधार बनेको कांग्रेसको रिपोर्ट छ। बाँकी क्षेत्रमा कांग्रेसका उम्मेदवारको अवस्था तल–माथि भइरहेको विश्लेषण छ।

सर्वेक्षण टोलीका एक सदस्यले नेपालखबरसँग भने, ‘बिहीबार बिहानसम्मको रिपोर्ट अनुसार हामी ५८ सिटमा लिडमा रहेको देखिन्छ। त्यसमा ८–१० वटा स्थानको अलिकति विरोधाभाष देखिन्छ। एकथरीको रिपोर्टमा लिड देखाउँछ। अर्कोथरीको रिपोर्टमा पछाडि देखाउँछ। त्यो सबैको हिसाब गर्दा ५० सिट तल झर्दैन भन्नेमा छौँ।’ 

कांग्रेसको आन्तरिक सर्वेक्षण टोलीका अनुसार ४२ सिटमा रास्वपा र ३३ सिटमा एमालेको लिड देखिएको छ भने नेकपाको १२ र जसपाको ४ सिटमा लिड देखिन्छ। बाँकी २४ सिट मध्ये पनि अधिकांशमा मुख्य दलबीच नै प्रतिस्पर्धा भइरहेको कांग्रेसको विश्लेषण छ। 

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ २५.७१ प्रतिशत मत पाएको कांग्रेस यसपटक मत बढ्ने निष्कर्षमा छ। कांग्रेसको आन्तरिक विश्लेषणमा समानुपातिक मत कम्तीमा ३० र बढीमा ३३ लाख पुग्ने आकलन छ। विशेष महाधिवेशनबाट शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी गत पुस ३० मा गगन थापा नेतृत्वमा आएपछि विगतको मत जोगिएर नयाँ मत थपिने अवस्था बनेको कांग्रेसको विश्लेषण छ। 

निर्वाचन आयोगमा कांग्रेसका समानुपातिक उम्मेदवारको बन्दसूची निवर्तमान सभापति शेरबहादुर देउवाले बुझाएका थिए भने सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गरी निर्वाचनमा होमिएको कांग्रेसले सुरुमा समानुपातिकतर्फ रेकर्ड ब्रेक गर्ने लक्ष्य राखेको थियो। कांग्रेसले २०१५ सालमा ३७.२ प्रतिशत मत प्राप्त गर्दा २०४८ मा ३७.७५ प्रतिशत मत पाएको थियो। २०५१ मा भएको मध्यावधि निर्वाचनमा कांग्रेसले ३३.३८ प्रतिशत मत पाउँदा २०५६ मा ३७.१७ प्रतिशत मत पाएको थियो। २०६४ को निर्वाचनमा कांग्रेस समानुपातिकतर्फ २१.१४ प्रतिशतमा खुम्चिन पुग्यो। कांग्रेसले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा २५.५५ प्रतिशत मत पाउँदा २०७४ मा ३२.७८ मत पाएको थियो। 

कांग्रेसले २०७९ मा २५.७१ प्रतिशत मत पाउँदा लक्ष्य प्राप्तिका लागि १२.२ प्रतिशत मत बटुल्नुपर्ने हुन्छ। सभापति थापाको ‘बदलियो कांग्रेस, बदल्छौँ देश’ भन्ने संकल्प अहिलेसम्म पनि गाउँगाउँमा पुर्‍याउन नसक्दा रेकर्ड ब्रेकको लक्ष्य प्राप्त नहुने परिस्थिति देखिएको सर्वेक्षण टोलीको निष्कर्ष छ। कांग्रेस उपसभापति शर्माले भने नेपाली कांग्रेसको लहर मेची–महाकाली बढिरहेको भन्दै पहिलो दल बन्ने दाबी गरे।

‘नेपाली कांग्रेस सबैभन्दा ठूलो दलको रूपमा, निर्णायक शक्तिको रूपमा आउँदैछ। त्यो आकार कुन रूपमा पुग्ला, बहुमत नै प्राप्त गर्ने गरी पुग्ला या बहुमतको छेउमा पुग्ला, त्यसको लागि केही दिन पर्खिनु पर्छ। तर, नेपाली कांग्रेस पार्टी पहिलो दलको रूपमा आउँछ,’ शर्माले नेपालखबरसँग झापामा भने।

कांग्रेसले ‘अब की बार सय पारको नारा’ अगाडि सारे पनि उसकै सर्वेक्षण रिपोर्टमा त्यो सम्भव देखिएको छैन। तथापि कांग्रेस पहिलो दल बन्ने शर्माको दाबी छ।

चुनावी कमान्डर शर्माले भने ‘अब की बार सय पार भन्ने हैन, यो पालि सयको उकाली भन्ने दिशातर्फ लम्किँदैछ। हामी ठूलो आकारका साथ पनि आउँछौँ। नेतृत्व गर्ने आकारका साथ आउँछौँ।’

यस्तै नेता रमेश लेखकले पनि कांग्रेस पहिलो पार्टी बन्नेमा द्विविधा नरहेको बताए।

‘कांग्रेसको अवस्था राम्रो बन्दै गएको छ। प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो बन्नेमा कुनै द्विविधा छैन। कांग्रेस जिताउन हामी सबै लागिरहेका छौँ,’ उनी भन्छन्।

कांग्रेसको दाबी र सर्वेक्षणमा ठूलो अन्तर नदेखिए पनि फागुन १७ गते आउने आन्तरिक सर्वेक्षणको अन्तिम रिपोर्टले वास्तविक आकडा आउने छ। 

‘हामीले फागुन १७ गते समग्रमा रिपोर्ट बनाउछौँ,’ सर्वेक्षण टोलीका एक सदस्यले भने, ‘अहिलेसम्म आएको रिपोर्टबाट कहाँ के गर्दा राम्रो गर्न सकिन्छ भन्ने कुरामा केन्द्रित भएका छौँ। नेताहरूले पनि त्यही अनुसार बोलिराख्नु भएको होला। राम्रो हुँदा यो पालि सयको उकाली असम्भव पनि छैन।’ 

राजनीतिक चेत भएका मतदाताले मत दिनेमा समस्या नभए पनि अरुलाई कांग्रेसमा मत हाल्न कति प्रेरित गर्छ भन्ने कुराले अर्थ राख्ने ती सदस्यको भनाइ छ। 

‘पार्टीको सबै तहले कांग्रेसमा भएको सुधारको कुरा बताउन सकेको छैन। फागुन २१ मा मतदानका लागि लाइन लाग्ने बेलासम्म के कति बुझाउन सकिन्छ भन्ने हो,’ उनी भन्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad