एसियाली निर्वाचन निगरानी संस्था (एनफ्रेल) ले बिहीबारदेखि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण मिशन (आइइओएम) सक्रिय पारेको छ। ९ देशका २० अन्तर्राष्ट्रिय पर्यवेक्षकहरू सातै प्रदेशका ३५ जिल्लामा परिचालित हुनेछन्।
आइइओएम अन्तर्गत बंगलादेश, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र बेलायतबाट आएका पर्यवेक्षकले काठमाडौं उपत्यकाकेन्द्रित 'हब एन्ड स्पोक' मोडेलमा काम गर्नेछन्। मिशनले निर्वाचन आयोगको तयारी, स्वतन्त्रता र सार्वजनिक विश्वसनीयतामा विशेष ध्यान दिनेछ।
एनफ्रेलको मिशनले निर्वाचनको समग्र प्राविधिक व्यवस्थापनको स्वतन्त्र मूल्यांकनका साथै नेपालको विकसित लोकतान्त्रिक परिवेशभित्र राजनीतिक प्रतिस्पर्धाका व्यापक अवस्थाहरूको समीक्षा गर्ने जनाएको छ।
आइइओएमले निर्वाचनमा युवा, महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति र एलजीबीटीक्यूआइएबी प्लस समुदायको सहभागिताबारे पनि मिशनले चासो राख्नेछ।
निर्वाचन आयोगले एनफ्रेल बाहेक इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आईआरआई) र मल्टिडिसिप्लिनरी इन्स्टिच्युट अफ ट्रेनिंग एन्ड लर्निंग गरी तीन अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति दिएको छ।
एनफ्रेलले मतदान दिनको निष्कर्षसहित ८ मार्च २०२६ मा पत्रकार सम्मेलन गरी अन्तरिम वक्तव्य जारी गर्नेछ। मतदान दिनपछि एक महिनाभित्र अन्तिम समग्र प्रतिवेदन सार्वजनिक गरी निर्वाचन आयोगमा औपचारिक रूपमा पेश गर्नेछ।
नेपालको प्रतिनिधि सभाको निर्वाचन फागुन २१ मा हुनेछ।
Shares

प्रतिक्रिया