राजनीति


मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जाँतो चलाउँछौँ: राजेन्द्र लिङ्देन

मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जाँतो चलाउँछौँ: राजेन्द्र लिङ्देन

नेपालखबर
फागुन १३, २०८२ बुधबार १६:३८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म आफूले एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको र भ्रष्टाचार गर्नेलाई कारबाही हुनुपर्ने बताए। 

बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार गरेको प्रमाणित भएमा राजनीति छोड्ने जिकिर गरे। सुशासनका सवालमा आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो। 

‘कसैले राजेन्द्र लिङ्देनले एक रुपैयाँ भ्रष्टाचार गरेको छ, मैले कुनै काम गराउँदाखेरि एक रुपैयाँ घुस लिएको छु अथवा मसँग घुस लिएको छ भन्ने प्रमाणित गर्छ भने म सारा राजनीतिक जीवन छोडेर त्यसको नोकर बस्न तयार छु भनेर ललकारेको मान्छे हुँ,’ लिङ्देनले भने, ‘हामी सुशासनको सवालमा पूर्णरुपमा प्रतिबद्ध र इमानदार छौँ मात्र होइन, हामीले मौका पायौँ भने भ्रष्टाचारीको टाउकोमाथि जाँतो पनि चलाउँछौँ।’

त्यसका लागि उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार सम्बन्धी छानबिनलाई उदाहरणका रुपमा प्रस्तुत गरे। आफूले पोखरा विमानस्थलको भ्रष्टाचार छानबिन गरेर फाइल अगाडि बढाएको उनले बताए। 

‘लेखा समितिले पोखरा र भैरहवा विमानस्थलमा भएको भ्रष्टाचारबारे छानबिन गर्ने दुर्इ वटा उपसमिति एकैसाथ बनायो, एकैदिन बनायो। पोखरामा हामीले छानबिन गर्‍यौँ, परिणाम दियौँ। आज कोही खोरमा छन्, कोही खोरमा जाने लाइनमा छन्,’ लिङ्देनले भने, ‘तर भैरहवाको त फाइल पनि खुलेन। अत्तोपत्तो पनि छैन।’

अहिलेसम्म आफूले निषेधको राजनीति नगरेको उनले सुनाए। त्यसैले अहिले पनि राप्रपा चुनावमा गएको उनको भनाइ थियो। ‘आज देश जबर्जस्त चुनावको बाटोमा गएको छ। हामीले एउटा प्रजातान्त्रिक दल हुनको नाताले यो चुनावमा भाग्नुभन्दा सहभागी हुन उचित हुन्छ भन्ने निष्कर्षमा पुगेर अहिले यो चुनावलाई उपयोग गर्ने र एउटा आन्दोलनकै अंशको रुपमा लिएर आज तपाईँहरूको बिचमा आएका छौँ,’ उनले भने। 

चुनावअघि राष्ट्रिय शक्तिहरूबीच सहमति गर्नुपर्ने उनको भनाइ थियो। अझै पाँच-सात दिन बाँकी रहेकाले सहमति गर्न उनले आह्वान गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad