नेपाली कांग्रेस काठमाडौँका सभापति एवं काठमाडौँ क्षेत्र नम्बर ६ का उमेदवार कृष्ण सबुज बानियाँले आफू निर्वाचित भए काठमाडौँका खोला–नदीलाई ढलमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
मंगलबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले काठमाडौँलाई प्रदुषणमुक्त र ढलमुक्त बनाउने प्रतिज्ञा गरेका हुन्।
उनले सिंगो काठमाडौँको वातावरणीय सुधार आफ्नो प्राथमिक एजेन्डा रहेको उल्लेख गरे। उनले काठमाडौँका विभिन्न क्षेत्रबाट निर्वाचित हुने जुनसुकै दलका जनप्रतिनिधिसँग समन्वय गरेर खोलामा मिसिएको ढल व्यवस्थापन र प्रदुषण नियन्त्रणका लागि अग्रसर हुने दाबी गरे।
उनले भने, ‘म सिंगो काठमाडौँ र काठमाडौँको खोलालाई प्रदुषण र ढलमुक्त गर्ने संकल्प गर्न चाहान्छु। काठमाडौँका अन्य क्षेत्रबाट निर्वाचित भएर जाने जुनसुकै दलका नेताहरुसँग समन्वय गरेर त्यसको अग्रपंक्तिमा रहेर काठमाडौंका खोलाहरुमा रहेको ढलको समस्या समाधान गर्छु।’
बानियाँले सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि उत्तिकै महत्व दिएको उल्लेख गर्दै परापूर्वकालदेखि रहेका सम्पदाको यथोचित व्यवस्थापन र प्रवद्र्धन गरिने बताए।
काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउन समन्वित पहल आवश्यक रहेको उनको भनाइ छ। उनले शिक्षा क्षेत्र सुधार आफ्नो अर्को प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सामुदायिक विद्यालयको गुणस्तर उकास्न विशेष कार्यक्रम ल्याउने प्रतिवद्धता जनाए।
काठमाडौँ–६ उच्चस्तरीय शहरीकरण भइसकेको उल्लेख गर्दै बानियाँले व्यवस्थित शहरी व्यवस्थापनका लागि समयसापेक्ष योजना आवश्यक रहेको धारणा पनि राखे।
उनले सबै वर्ग, उमेर र समुदायको हकहित र भावनाअनुसार काम गर्ने प्रतिज्ञा गर्दै आसन्न निर्वाचनमा आफूलाई निर्वाचित गराउन समेत अपिल गरे।
Shares

प्रतिक्रिया