नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही-४ का लागि छुट्टै प्रतिज्ञापत्र ल्याएका छन्। सोमबार सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा यो क्षेत्रमा गर्ने कामबारे उल्लेख गरेका छन्।
प्रतिनिधि सभा निर्वाचनका लागि थापा सर्लाही-४ बाट उम्मेदवार बनेका छन्। अहिले घरदैलोमा रहेका थापाले प्रतिज्ञापत्रमा नौ बुँदे प्रतिज्ञा गरेका छन्। यसमा उनले ‘मेरो प्रतिज्ञा, मेरा अभियान’ भनेका छन्।
उनले यस क्षेत्रमा पूर्वाधार विकासमा काम गर्ने प्रतिज्ञा गरेका छन्। ‘कतै वर्षौंदेखि अलपत्र पुल छ, कतै डुवान समस्या छ त कतै बाँधको मर्मत अपरिहार्य छ। कतै नहर र सडक, कहीँ ढल निकास र खानेपानीको समस्या छ। कतै सिँचाइको असुविधा छ र त्यसका लागि बिजुली पनि चाहिएको छ भने कुनै ठाउँमा कृषि भण्डारण, कृषि औजार र पूर्वाधारको आवश्यक छ,’ थापाले प्रतिज्ञापत्रमा भनेका छन्, ‘बाटोदेखि बाँधसम्म थुप्रै पू्र्वाधार निर्माण र मर्मत गर्नुपर्नेछ। यी कामहरू कुनै संघ सरकारसँग सम्बन्धित छन्, कुनै प्रदेशसँग। यी जुन जुन तहका सरकारसँग सम्बन्धित छन्, ती सरकारहरूसँग समन्वय गरेर म पूर्वाधारको समस्याको हल गर्नेछु। यो मेरो प्रतिज्ञा हो।’
उनले विभिन्न समुदायमा पुग्दा स्वास्थ्य, शिक्षा, पोषणका साथै महिला, बालबालिकाका समस्या र विपन्न समुदायको उत्थानका लागि सुझाव पाएको बताएका छन्। सबै स्थानीय तहका ५१ वटै वडाका समस्याको सूची बनाएको र त्यसमा काम गर्ने उनले जनाएका छन्।
थापाले यस क्षेत्रका बालबालिकाको शिक्षका लागि ‘गुणस्तरीय शिक्षा- कापी कलम अभियान’ सञ्चालन गर्ने उल्लेख गरेका छन्। स्वास्थ्य संस्थाहरू मार्फत घर नजिकै सहज रुपमा गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि ‘सुलभ स्वास्थ्य- स्वस्थ नागरिक अभियान’ ल्याएका छन्।
त्यस्तै, आफ्नो क्षेत्रका किसानलाई बीउ, मल र मूल्य समयमा सुनिश्चित गर्न र ऋणको बोझमा थिचिनुपर्ने व्यथाको अन्त्यका लागि ‘कृषि उत्थान, किसान गौरव अभियान’ अघि सारेका छन्।
बाढी र डुबानको जोखिम कम गर्न, बागमती र मनुस्मरा नदीको कटानलाई रोकी नागरिकको जीवन सुरक्षित गर्नको लागि ‘प्राकृतिक स्रोत र विपद् व्यवस्थापन-संरक्षण अभियान’ ल्याएका छन्।
उनको पाँचौ अभियान रोजागरीसँग सम्बन्धित छ। जसमा ‘मिसन रोजगारी अभियान’ नाम दिएर रोजगारी, अवसर र सीपको अभावले विदेश जानपर्ने बाध्यतालाई कम गर्न, सीप र बजारबीचको खाडल, पुँजीको अभाव अन्त्य गर्दै युवालाई उद्यमी र स्वरोजगार बनाउन काम गर्ने प्रतिज्ञा गरेका छन्।
भारतीय सीमासँग जोडिएको करिब ३० किलोमिटर भूभाग सर्लाही-४ का नागरिकको सुरक्षा र सम्मानका लागि ‘दशगजा उज्यालो अभियान’ अघि सारेका छन्। त्यस्तै, महिला सशक्तिकरणका लागि ‘महिला तथा बालबालिका, मेरो आवाज, मेरो अधिकार अभियान’ चलाउने बताएका छन्।
यसैगरी, मुसहर, चमार, डोम, पासवान, खत्वे लगायतका दलित समुदायमा भएको असमानताको अन्त्य गरी दलित समुदायको उत्थानका लागि थापाले ‘दलित अधिकार, समता र न्याय अभियान’को अवधारणा अघि सारेका छन्।
उनको नवौँ अभियानमा मिथिला संस्कृतिसँग सम्बन्धित छ। संस्कृति संरक्षणका लागि ‘मेरो संस्कृति मेरो पहिचान अभियान’ चलाउने प्रतिज्ञा गरेका छन्। उनले भनेका छन्, ‘मैथिली-बज्जिकाको माधुर्य, छठ र ईदको साझा संस्कृति, गाउँका मौलिक भाकादेखि पुर्खाको गौरवसम्म, यो विविधता नै यस क्षेत्रको सुन्दरता हो।’


Shares

प्रतिक्रिया