राजनीति


बनेको बाटोमा हिँड्नेभन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ: ओली

बनेको बाटोमा हिँड्नेभन्दा पनि नयाँ बाटो खन्ने मान्छे हुँ: ओली

नेपालखबर
फागुन ११, २०८२ सोमबार १२:३५, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाईको पार्टी फुटाउनेहरूले देशलाई कमजोर पारेको आरोप लगाएका छन्। 

पत्नी राधिका शाक्यको पुस्तक ‘मेरा अनुभूतिहरू’को नवौँ संस्करण विमोचन तथा आफ्नो ३८औँ वैवाहिक वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीतिक इमानदारिता र दृढ संकल्प नै सफलताको आधार भएको बताएका छन्। आफ्नो राजनीतिक जीवनका कठिन संघर्ष, पार्टी निर्माणको अभियान र वर्तमान राजनीतिक अवस्थाबारे उनले चर्चा गरेका छन्। 

सम्बोधनका क्रममा अध्यक्ष ओलीले एमालेलाई देशको प्रमुख शक्तिका रूपमा स्थापित गर्न आफूले गरेको संघर्षको स्मरण गरे। ‘सानो ठाउँबाट निर्माण सुरु गरेर एमालेलाई देशको प्रमुख पार्टी र दुईतिहाइ हैसियतको शक्ति बनाइयो तर त्यो सफलता सहन नसक्नेहरूले पार्टी फुटाएर आन्दोलनलाई कमजोर पारे’, उनले भने। 

आफ्नो कार्यशैलीबारे टिप्पणी गर्दै ओलीले आफू बनेको बाटोमा हिँड्नेभन्दा पनि नयाँ बाटो खन्ने मान्छे भएको जिकिर गरेका छन्। आफू जीवनभर नयाँ ठाउँमा जाने र आफैँ बाटो खन्ने मानिस भएको बताएका छन्। 

‘म भीरपखेरामा हामफाल्दै बाटो बनाउने मान्छे हुँ। जसले बाटो बनाउँछ, ऊ पहिले अप्ठ्यारोमा जान्छ, ब्लास्टिङ गर्छ र ट्रयाक खोल्छ,’ ओलीले भने, ‘मैले जिन्दगीभर नयाँ ठाउँमा जाने र आफैँ बाटो खन्ने काम गरेको छु।’

पञ्चायत र राजतन्त्र फाल्ने संकल्पका साथ किशोरावस्थादेखि नै राजनीतिमा होमिएको उनले उल्लेख गरेका छन्। १४ वर्षको कठोर जेल जीवन, भूमिगत कालका चुनौती र त्यस क्रममा गुमेका आफ्ना साहित्यिक सिर्जनाबारे उनले भावुक हुँदै स्मरण सुनाएका छन्। पक्राउ पर्ने डरले नोटहरू नराख्ने बानी परेका कारण अहिले पनि आफूले धेरै कुरा स्मृतिबाटै बोल्ने गरेको उनको भनाइ थियो।

आफ्नो व्यक्तिगत जीवनमा कहिल्यै पैसाको हिसाब नराखेको र श्रीमतीको कमाइमा बाँच्न आफूलाई कुनै लाज नभएको बताएका छन्। उनले राजनीतिमा त्याग र पारदर्शिताको महत्त्व धेरै रहेको उल्लेख गरे। 

‘मैले आफूलाई जोइटिंग्रे घोषणा गरेको छु, श्रीमतीलाई बलियो बनाउनु र उनको कमाइ खानुमा मलाई गर्व छ,’ ओलीले भने। यसलाई उनले सामाजिक न्याय र समानताको नयाँ भाष्यका रूपमा व्याख्या गरे। 

राजनीतिक नेतृत्वले समयको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले युवालाई ‘टाइम पास’ नगर्न सुझाव दिए। ‘समयका डटहरूको जोडाइ नै जिन्दगी हो। समय खेर फाल्नु भनेको जिन्दगी खेर फाल्नु हो,’ ओलीले भने। 

देशको घट्दो जनसंख्याप्रति चिन्ता व्यक्त गर्दै उनले युवालाई समयमै विवाह गर्न र सन्तान जन्माएर देशको भविष्य सुरक्षित गर्न समेत आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad