सन् २०२६ को डाइभर्सिटी भिसा (डिभी) चिट्ठा विजेता नेपालीका लागि अमेरिकी सरकारको नीति केही लचिलो देखिएको छ। अमेरिकी विदेश मन्त्रालय, ब्युरो अफ कन्सुलर अफेयर्सले अप्रिल महिनाका लागि सार्वजनिक गरेको नयाँ भिसा बुलेटिनअनुसार नेपालका लागि 'कट-अफ' नम्बर उल्लेख्य बढाएर १० हजार तोकिएको छ।
यसको अर्थ केस नम्बर १० हजारभित्र पर्ने डिभी विजेता नेपालीका लागि अप्रिल महिनामा आवेदन गर्न बाटो खोलेको हो। भिसा पाउने, नपाउने भन्ने चाहिँ निश्चित छैन। यसअघि ६ हजार ५ सय केस नम्बरको सीमा रहेकोमा अप्रिलका लागि बढाएर १० हजार पुर्याइएको हो।

आवेदन र अन्तर्वार्ता हुने, भिसा नपाइने
अहिलेको ठूलो परिवर्तन भनेको भिसा जारी गर्ने प्रक्रियामा लगाइएको अनिश्चितकालीन रोक हो। विदेश मन्त्रालयले दूतावासहरूबाट डिभी भिसा जारी गर्ने प्रक्रिया हाललाई स्थगित गरेको छ।
अहिलेको अवस्थाअनुसार आवेदकहरूले भिसा आवेदन पेश गर्न र तोकिएको समयमा अन्तर्वार्तामा उपस्थित हुन सक्छन्। अन्तर्वार्ता सफल नै भए पनि हाललाई नयाँ डाइभर्सिटी भिसा जारी चाहिँ हुँदैन। पहिले नै जारी भइसकेका डिभी भिसा भने रद्द गरिएको छैन। ब्युरो अफ कन्सुलर अफेयर्सका अनुसार अमेरिका प्रवेशबारेको अन्तिम निर्णय भने 'होमल्याण्ड सेक्युरिटी'ले गर्छ।
सन् २०२६ का डिभी विजेताहरूले २०२५ अक्टोबरदेखि नै भिसा पाउन सुरु गरेका थिए। अक्टोबरदेखि जनवरीसम्म ६ हजार केस नम्बरभित्रका डिभी विजेता नेपाली भिसा अन्तर्वार्ताका लागि योग्य मानिएका थिए। अप्रिलका लागि केस नम्बरको सीमा बढाएर १० हजार पुर्याए पनि अमेरिकाको पछिल्लो आप्रवासी नीतिका कारण भिसा पाउने भने निश्चित छैन।
Shares

प्रतिक्रिया