चुनाव नजिकिएसँगै झापा क्षेत्र नम्बर २ को माहोल निकै तातेको छ। उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन्। यसै क्रममा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका पूर्वसभामुख देवराज घिमिरे आफ्नो पुरानो विरासत जोगाउने दौडधुपमा छन्।
यसपटक उनको चुनावी लडाइँ निकै रोचक र अर्थपूर्ण छ। किनकि, उनका मुख्य प्रतिस्पर्धी अरू कोही नभएर हिजो संसद्मा सँगै कुर्सी सेयर गरेकी पूर्वउपसभामुख इन्दिरा रानामगर रास्वपाबाट उम्मेदवार छिन्।
संसद्को सर्वोच्च पद सम्हालेका यी दुई अनुहार एउटै क्षेत्रबाट भिड्दै गर्दा मतदातामा नयाँ दलप्रतिको आकर्षण र पुरानाको कामको परीक्षण भइरहेको छ।
नयाँ दल र रास्वपाको लहरले देवराजको जितमा कति चुनौती थपेको छ त?
ग्राउन्ड जिरो रिपोर्टिङका लागि झापा आइपुगेको नेपालखबर टिमसँग गफिँदै घिमिरे भन्छन्, ‘सामाजिक सञ्जालमा देखिएजस्तो यथार्थ छैन। नयाँको तर्क, तथ्य, कारण अनि गन्तव्य के हो? त्यो गन्तव्य कसरी प्राप्त गर्छ? विश्वास गर्ने आधार के हो? उहाँहरूले प्रस्तुत गर्न सक्नुभएको छैन।’
घिमिरेले आफूले सभामुख हुँदा पनि क्षेत्रको विकास, सुकुम्बासी समस्या समाधान र नदी नियन्त्रणमा बजेट पारेको तर उपसभामुखले त्यसो गर्न नसकेको बताए।
‘उपसभामुखले त केही पनि गर्नुभएको छैन। मैले गरेको भनेर देखाउने गरी वा जनताले महसुस गर्ने गरी काम गर्नुभएको छैन,’ उनको दाबी छ।
काठमाडौँका पूर्वमेयर बालेन शाह झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी प्रतिस्पर्धा गर्न आएपछि अहिले राष्ट्रिय राजनीति नै तातेको छ। घिमिरे बालेनको झापा ५ आगमनलाई अस्वाभाविक ठान्छन्।

‘कानुनी हिसाबले, अधिकारको हिसाबले त स्वाभाविक कुरा हो, जो कोही जहाँ पनि आउन, लड्न पाउँछ। तर गहिरिएर हेर्दाखेरि यो अस्वाभाविक उम्मेदवारी जस्तो देख्छु,’ उनले भने
एमाले अध्यक्ष ओलीलाई घेराबन्दी गरेर भ्रम छर्न खोजिएको दाबी गर्दै उनले अहिले ओली स्वयं घरदैलोमा हिँडिरहेको दाबी गरे।
उनले भने, ‘चुनावको नामबाट अर्थोकै हुन नपाओस् भनेर पनि ध्यान दिनुपर्ने बेला आएको छ। भ्रमले काम नगरोस् भनेर पनि ध्यान दिनुपर्ने बेला आएको छ। बाह्य दबाब र षड्यन्त्रले काम नदेओस्। षड्यन्त्रलाई अन्त्य गर्नको लागि पनि यो कुराहरू भएको हो।’
देवराजको दाबी छ, झापा ५ मा अध्यक्ष ओलीले सहजै चुनाव जित्ने कुरामा कुनै शंका छैन।
‘नयाँ दलहरूको उदय, बालेन लहर र चौतर्फी घेराबन्दीका बाबजुद आगामी चुनावमा एमालेको अवस्था कस्तो होला त?’
देवराज भन्छन् ‘झापा ५ मा अध्यक्ष केपी ओलीले सहजै चुनाव जित्नुुुहुन्छ। देशभर एमालेकै लहर छ र जनताले काम गर्ने पार्टीलाई नै रोज्छन्। यो चुनावमा समग्रमा एमालेको बहुमत आउनुपर्छ, आउँछ। त्यो आएन भने पनि न्यूनतम पहिलो पार्टी बन्छ।’
घिमिरेले थप के के भने? हेर्नुस् उनीसँग उनकै निर्वाचन क्षेत्र पुगेर गरिएको भिडिओ कुराकानी नेपालखबर तत्कालै :
फोटो/भिडिओ: सरोज नेपाल

प्रतिक्रिया