नेपाली कांग्रेसले आगामी निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बने गैरआवासीय नेपालीसँग सम्बन्धित कानुन पूर्ण रूपमा संशोधन गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित 'प्रतिज्ञा र प्रश्नोत्तर' कार्यक्रममा सभापति गगन थापाले 'एकपटकको नेपाली, सधैंको नेपाली' भन्ने मान्यतालाई कानुनी रूप दिने घोषणा गरे।
थापाले एनआरएन नागरिकता दिएर मात्र नभई दर्जनौं अन्य ऐनहरू संशोधन गरेर अधिकार सुनिश्चित गर्ने बताए। 'हामीले एनआरएन नागरिकता त दियौं, तर अधिकारका सवालमा अनुदार भयौं। पैतृक सम्पत्तिको सुरक्षा, जग्गा कारोबार, मताधिकार र पुँजी बजारमा लगानी सहज बनाउन हामीले कुन–कुन कानुन बदल्ने भनेर सूची नै तयार पारेका छौं,' थापाले भने।
ब्रिटिस गोर्खाको हकहित, दोहोरो कर प्रणालीको अन्त्य र विदेशमै बसेर नेपालको कर्मचारीतन्त्र तथा विश्वविद्यालयमा योगदान गर्न सक्ने गरी संस्थागत व्यवस्था मिलाउने कांग्रेसको योजना छ। लगानीका कानुनी अड्चन हटाएर डायस्पोरालाई समृद्धिको साझेदार बनाउने थापाको दाबी छ।
Shares

प्रतिक्रिया