नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मोरङ क्षेत्र नं.६ को चुनावी अभियानका क्रममा पूर्वाञ्चल विश्वविद्यालय (पियु) को गोठगाउँमा मेडिकल कलेज सञ्चालन हुनुलाई आफ्नो प्रमुख राजनीतिक सफलताका रूपमा प्रस्तुत गरेका छन्।
आइतबार मोरङको सुन्दरहरैंचास्थित मृगौलियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले अघिल्लो निर्वाचनमा गरेको प्रतिबद्धता पूरा भएको दाबी गरे। "लामो प्रयासपछि गोठगाउँमा ५० जना विद्यार्थीको भर्नासँगै मेडिकल कलेज सञ्चालनमा आएको छ," कोइरालाले भने, "विद्यार्थीको संख्या बढ्दै जाँदा यस क्षेत्रको आर्थिक र सामाजिक स्वरूप नै बदलिनेछ।"
उनले आफ्नो कार्यकालमा भएका नदी नियन्त्रण, तटबन्ध निर्माण र खानेपानी आयोजनाको विस्तारले सुन्दरहरैंचाको भौतिक पूर्वाधारमा उल्लेख्य सुधार आएको जिकिर गरे। विकासका बाँकी काम पूरा गर्न आफूलाई पुनः अवसर दिन उनले मतदातासँग आग्रह गरे।
किसानका समस्याप्रति लक्षित हुँदै कोइरालाले निर्वाचनलगत्तै सिँचाइका लागि नयाँ डिप ट्युबेल जडान गर्ने आश्वासन समेत दिए। "सुन्दरहरैंचालाई नमुना सहर बनाउने मेरो संकल्प छ, यसका लागि मलाई स्थानीयको साथ चाहिन्छ," उनले थपे। कोइराला यतिबेला आफ्नो निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर घरदैलो र कोणसभामा व्यस्त छन्।
Shares

प्रतिक्रिया