हिमाली जिल्ला सोलुखुम्बुबाट ७ पटक चुनाव लडेका नेपाली कांग्रेसका बलबहादुर केसीले मैदान खाली गर्दा यसपटक नयाँ सांसद चुनिने निश्चित छ। यहाँबाट चार पटक जितेका बलबहादुरसँगै उनलाई तीन पटक हराउने नेताहरु पनि यसपालि प्रतिस्पर्धामा छैनन्।
सोलुखुम्बुमा २०४८ सालपछि पहिलो पटक बलबहादुरबिना चुनाव हुँदैछ। आफू प्रत्यक्ष चुनावबाट पछि हटेका बलबहादुरले पत्नी रिना उप्रेतीलाई समानुपातिकतर्फ अघि सारेका छन्।
सोलुखुम्बुमा प्रमुख तीन दलले नै यसपटक नयाँ उम्मेदवार उठाएका छन्। नेपाली कांग्रेसले प्रकाशसिंह कार्कीलाई टिकट दिएको छ। एमालेबाट कल्पना राई र नेपाली कम्युनिस्ट पार्टीबाट असिम राई उम्मेदवार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले ऋषिधन थुलुङ राईलाई उम्मेदवार बनाएको छ।
एमाले उम्मेदवार कल्पना दुधकुण्ड नगरपालिकाकी पूर्वउपमेयर हुन्। एउटा मात्रै क्षेत्र रहेको सोलुखुम्बुमा यसअघि एमालेले नै चुनाव जितेको थियो। कांग्रेस र तत्कालीन माओवादीसहितको गठबन्धनलाई पराजित गर्दै एमालेका मानवीर राई निर्वाचित भएका थिए। तर गठबन्धनलाई हराएका मानवीरले यसपटक टिकट पाएनन्। एमालेले कल्पनालाई अघि बढायो।
नेकपाका उम्मेदवार असिम राईले थुलुङ दुधकोसी गाउँपालिकाका अध्यक्ष थिए। ८ वर्षदेखि गाउँपालिका हाँकिरहेका उनले कार्यकाल सकिनु २ वर्षपहिले नै राजीनामा दिएका हुन्।
सोलुखुम्बुमा २०७९ को निर्वाचनको मतलाई आधार मान्ने हो एमाले बलियो देखिन्छ। यो चुनावमा प्रत्यक्षमा जितेको एमालेले समानुपातिक मतमा पनि अन्य दललाई पछि पारेको थियो।
मानवीरले १९ हजार ३२४ मत ल्याउँदा बलबहादुरले १६ हजार ५४५ मत पाएका थिए। समानुपातिकमा पनि एमालेले १५ हजार ७०५, कांग्रेसले १० हजार ४७३ र माओवादीले ८ हजार ५२४ मत पाएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको भने अन्य ठाउँमा जस्तो लहर यहाँ देखिएको छैन। तर पछिल्लो माहोलले सोलुखुम्बुमा पनि प्रभाव बढ्ने आशा रास्वपालाई छ। यसअघिको निर्वाचनमा रास्वपाले १ हजार १३५ मत मात्रै पाएको थियो।
पछिल्ला तीन चुनावमा सोलुखुम्बुले तीन ठूला दललाई पालैपालो पठाएको छ। २०७४ सालको निर्वाचनमा यहाँबाट तत्कालीन माओवादी (नेकपा) ले जितेको थियो। एमालेसँगको गठबन्धनबाट माओवादी उम्मेदवार हेमकुमार राई निर्वाचित भए। हेमकुमारले २० हजार ७४७ मत पाउँदा बलबहादुर केसीले १७ हजार २९४ मत पाएका थिए।
समानुपातिकमा भने कांग्रेस पहिलो दल बनेको थियो। कांग्रेसले १५ हजार १४८ मत पाउँदा एमालेले १२ हजार ६६ र माओवादीले ७ हजार ६७३ मत ल्याएको थियो।
तर २०७० सालको निर्वाचनमा दलहरु अहिले जस्तै एक्लाएक्लै चुनावमा होमिएका थिए। त्यतिबेला कांग्रेसका बलबहादुर केसी निर्वाचित भएका थिए। त्यसबेलासम्म बलबहादुरले सोलुखुम्बुमा २०६४ बाहेक सबै चुनाव जित्दै आएका थिए। २०४८, २०५१ र २०५६ सालमा बलबहादुरले नै लगातार चुनाव जितेका थिए।

तर त्यसपछि भने कांग्रेसभित्रै उनीप्रति असन्तुष्टि बढ्दै गएको थियो। पूर्व जिल्ला सभापति आङगेलु शेर्पा समूहले केसीलाई असहयोग गर्न थालेको थियो।
अहिले कांग्रेसबाट टिकट पाएका कार्कीलाई पनि आङगेलु शेर्पा समूहको सहयोग हुन्छ या हुँदैन भन्ने कुराले परिणाम फरक पार्ने जिल्लाका नेताहरु बताउँछन्। तर प्रकाशसिंह कार्की भने आफूलाई जिल्लाका कांग्रेसी सबैले एकजुट भएर सहयोग गरिरहेको दाबी गर्छन्।
उनले दाबी गरेजस्तो आङगेलु शेर्पा अहिलेसम्म उनको चुनावी अभियानका लागि जिल्ला फर्किएका छैनन्। कार्की अहिले जिल्लामा घरदैलोमा छन्। काठमाडौँमा रहेका मतदाता र कांग्रेस नेता–कार्यकर्तासँग भेटघाट गरेका छन्।
‘सबै नेताको साथ छ। सोलुखुम्बु कांग्रेस एकजुट भएर चुनाव लडेको छ। म चुनाव जित्छु,’ कार्कीले भने, ‘सुरुमा केही नेताको असन्तुष्टि थियो तर अहिले सबैले सहयोग गर्नु भएको छ।’
२०५९ सालमा शेरबहादुर देउवाले कांग्रेस विभाजन गरे। त्यतिबेला आङगेलु र बलबहादुर देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसतिर लागे। तर पछि बलबहादुरले खेमा परिवर्तन गरे।
२०६४ सालमा कांग्रेस एक भयो। जिल्लामा पनि पार्टी एक त भयो तर फुटको असर भने रहिरह्यो। बलबहादुर र आङगेलुका गुट भावनात्मक रूपमा कहिल्यै एकजुट हुन सकेनन्।
बलबहादुरले ०७९ को चुनाव हार्नुमा पनि धेरैले आङगेलुलाई दोष दिए। तर, आङगेलु आफू जिल्लाको चुनावमा निर्णायक नभएको दाबी गर्छन्।
‘म निर्णायक भए त कांग्रेसलाई चुनाव जिताइहाल्छु नि। कांग्रेसकै मान्छे हुँ, नजिताएर के गर्नु!’ शेर्पाले भने, ‘टिकट नपाउँदाको असन्तुष्टि एउटा फेजमा हो, त्यो चरण बितिसक्यो। अब २÷४ दिनपछि जिल्ला जान्छु।’
चुनावमा हारजितका लागि उम्मेदवारहरुको लोकप्रियताको कुरा पनि हुने र पार्टीको भोटले मात्रै नजितिने शेर्पाले बताए। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार असिम राई पनि यो कुरामा सहमत छन्।
राई गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर चुनावी मैदानमा छन्। थुलुङ दुधकोसी गाउँपालिका अध्यक्षको दोस्रो कार्यकाल पूरा नहुँदै संसदको उम्मेदवार बनेका उनी पार्टीले पनि निर्वाचन जित्न सक्ने देखेकैले आफूलाई गाउँपालिकाबाट राजीनामा गर्न लगाएर टिकट दिएको दाबी गर्छन्।
‘जनताले पार्टी भन्दा पनि उम्मेदवार हेर्ने बेला हो। जेनजी आन्दोलनपछि माहोल नै अर्को छ। पहिलेको मत हेरेर यतिउति भन्न मिल्दैन। त्यसरी मात्रै मतदान अब हुँदैन,’ असिम भन्छन्, ‘अब उम्मेदवार हेरेर मलाई नै मतदान गर्नुहुन्छ भन्ने विश्वास छ।’
जिल्लामा २०६४ र २०७४ सालमा तत्कालीन माओवादीले नै चुनाव जितेको थियो। सोलुखुम्बुमा एमालेले भने एक पटक मात्रै चुनाव जितेको छ।
गएको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेका मानवीर राई निर्वाचित भएका थिए। त्यहाँबाट चुनाव जितेपछि मानवीर रक्षामन्त्री पनि बने। तर जेनजी आन्दोलनसँगै रक्षामन्त्री पद गुमाएका मानवीरले संसदको टिकट पनि पाएनन्।
एमालेले पूर्वउपमेयर कल्पनालाई टिकट दियो। यसअघि गठबन्धनविरुद्ध पनि विजयी भएको एमालेलाई जित जोगाउन चुनौती छ। त्यतिबेला कांग्रेसको एउटा समूहले र माओवादीले पनि बलबहादुरलाई भोट नदिएको आरोप थियो। तर, कल्पना भने एक्लाएक्लै भिड्दा पनि आफूले चुनाव जित्ने दाबी गर्छिन्।
चुनावी अभियानमा व्यस्त कल्पनाले बिहीबार छोटो कुरा गर्दै भनिन्, ‘मेरो माहोल भव्य छ। सामाजिक सञ्जालतिरबाट पनि देखिरहनु भएकै होला, उत्साहजनक छ। म मतदाता भेटघाटमा व्यस्त छु।’
सोलुखुम्बुमा १२ दलका उम्मेदवार प्रतिस्पर्धामा छन्। यहाँ स्वतन्त्र उम्मेदवार छैनन्। ८५ हजार ५१५ जना मतदाता भएको जिल्लामा १२३ मतदानस्थलमा १३८ वटा मतदान केन्द्र छन्।
Shares

प्रतिक्रिया