प्रतिनिधि सभाको निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका महावीर पुनले नेकपा (एमाले) नेत्री रामकुमारी झाँक्रीलाई गाली नगर्न अनुरोध गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै पुनले एमाले नेत्री झाँक्रीले नजानेरै बोलेको बताएकी छन्। ‘रामकुमारी झाँक्री बहिनीलाई केही नभन्नु, तनाव होला, माफ गर्नु। जानिन् त भनिन्। बोल्नुपर्ने कुरा के हो, कसो हो भन्ने नजानेपछि बोलिन्,’ पुनले भनेका छन्, ‘त्यसैले उनलाई कसैले गाली नगर्नुहोला।’
एमाले नेत्री झाँक्रीले चुनावी कार्यक्रममा महावीर पुनलाई ‘बेबकुफ मन्त्री’ भनेकी थिइन्। निर्वाचन गराउने सरकारको मन्त्री चुनाव लड्न गएकोमा उनले त्यस्तो अभिव्यक्ति दिएकी थिइन्।
त्यसलाई लिएर झाँक्रीको चर्को आलोचना भइरहेको छ। कतिपयले सामाजिक सञ्जालमा गालीगलौज गरिरहेका छन्।
झाँक्रीलाई गालीगलौज आउन थालेपछि पुनले त्यसो नगर्न भनेका हुन्। उनले आफू ‘बेबकुफ’ नै भएको सुनाएका छन्।
‘झाँक्रीले भनेको कुरा पनि ठिकै हो के, म बेवकुफै हो क्या । बेबकुफ नभएको भए कहाँ नेपालमा आएर यसरी डुल्थे त नि’, पुनले भनेका छन्, ‘अहिलेसम्म जागिर गरेको छैन, यत्रो अमेरिका पढेको मान्छे। जागिर नगर्ने मान्छे बेबकुफ नभएर के हुन्छ त? केही ब्यापार व्यवसाय गर्न जान्दै जान्दैन, यो बेबकुफले। खेतीकिसानी गर्न केही जानेको छैन। त्यही डुल्न मात्रै जानेको छ।’
उनले आफूले अरु काम नजानेको सुनाएका छन्। ‘गाउँगाउँ डुल्ने, गाउँलेहरूलाई सघाउँछु भन्ने, गाउँलेहरूले जे दिन्छन्, त्यही खाने। जहाँ सुताउँछन्, त्यही सुत्ने। यस्तो मान्छे बेबकुफ नभएर के हुन्छ?,’ पुनले भनेका छन्।
आफ्नो क्रियाकलापले पनि झाँक्रीको भनाइ ठीकै रहेको पुनले बताएका छन्। ‘सरकारले गर्नुपर्ने काम आविष्कार केन्द्र खोल्छु भनेर उफ्रिने महाको बेबकुफ हो त्यो मान्छे। अनि ३० वर्षदेखि कवाडी भएको वीरगञ्जको कृषि औजार कारखानालाई किताब बेचेर चलाउँछु भन्ने बेबकुफ हो।
त्यो जस्तो बेबकुफ मान्छेलाई बेबकुफ भनिन्, एकदम ठिक भनिन्।,’ पुनले भनेका छन्।
उनले झाँक्रीलाई गाली नगर्न पटकपटक दोहोर्याएका छन्। ‘हाम्रो झाकी बहिनीलाई कसैले केही नभन्नु ल। राजनीतिको र पनि नजान्ने मान्छे, सांसद हुन्छु भनेर उठ्या छ। यस्तो मान्छेलाई बेबकुफ नभनेर के भन्ने त? एकदम ठिक भनेकी छन्,’ पुनले थपेका छन्, ‘ल है साथीहरू कसैले गाली नगर्नु होला। मेरो विनम्र अनुरोध हो, साच्चै हो, मैले ढाँटेको छैन।’
Shares

प्रतिक्रिया