ग्लोबल


बंगलादेशमा जारी चुनावमा झडप, एक नेताको मृत्यु

बंगलादेशमा जारी चुनावमा झडप, एक नेताको मृत्यु

मतदान गर्दै प्रधानमन्त्री पदका प्रमुख दाबेदार बीएनपी अध्यक्ष तारिक रहमान।


नेपालखबर
माघ २९, २०८२ बिहिबार १४:५, काठमाडौँ

बंगलादेशमा जारी संसदीय निर्वाचनका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार खुलनाको एक मतदान केन्द्र बाहिर जमात-ए-इस्लामी कार्यकर्तासँग विवाद हुँदा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको हो।

जमातका एक नेताले धकेलेर रुखमा ठोकाउँदा उनको मृत्यु भएको आरोप बीएनपीले लगाएको छ। 

तर जमातका नेताले हृदयाघात भएर कोचीको मृत्यु भएको दाबी गरेको छ। 

बंगलादेशमा मुन्सीगन्ज-३ र गोपालगन्ज सदर क्षेत्रका मतदान केन्द्रबाहिर कच्चा बम प्रहार गरिएको थियो।

मुन्सीगन्ज-३ मा विस्फोटपछि केही समयका लागि मतदान रोकिएको थियो, तर पुनः सुरु भइसकेको छ।

गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा दुई अन्सार जवान (अर्धसैनिक बल) र एक १४ वर्षीया बालिका घाइते भएका छन्।

बंगलादेशका ३३ हजार मतदान केन्द्रमा आज बिहानदेखि मतदान जारी छ। 

भोट हाल्न लाइन लागेका बंगलादेशी महिला।

मतदानमा १२ करोड ७० लाख मतदाता सहभागी छन्। झन्डै आधा मतदाता १८ देखि ३७ वर्षसम्मका छन्। यीमध्ये ४५ लाख ७० हजार जनाले पहिलोपटक मतदान गरिरहेका छन्।

अहिलेसम्म ३३ प्रतिशत मतदाताले मतदान गरेको जनाइएको छ। मतदान स्थानीय समयअनुसार अपराह्न ४:३० बजेसम्म जारी रहनेछ। 

मतदान गर्दै अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस।

सन् १९९१ देखि २०२४ सम्म आलोपालो सत्ता चलाइरहेका तत्कालीन प्रधानमन्त्री शेख हसिना भारत भागेपछि र पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भएपछि बंगलादेशमा पहिलोपटक आज संसदीय चुनाव भइरहेको हो। जुन निर्वाचनले बंगलादेशलाई ३५ वर्षपछि नयाँ प्रधानमन्त्री दिलाउनेछ। 

जारी चुनावमा प्रधानमन्त्री पदको प्रमुख दाबेदार हुन्- पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान। उनको पार्टी बीएनपी विजयी भएका खण्डमा रहमान बंगलादेशको प्रधानमन्त्री हुने निश्चित छ।

यद्यपि देशमा कट्टरपन्थी मुस्लिम दल जमात-ए-इस्लामी र युवा दल एनसीपीप्रतिको समर्थन पनि बढ्दो छ।

जमात-ए-इस्लामी नेता सिफुकर रहमान र एनसीपी नेता नाहिद इस्लाम पनि प्रधानमन्त्री पदका अर्का दाबेदार हुन्।

सबैभन्दा अगाडि तारिक रहमान

तारिक रहमान १७ वर्ष बेलायत (लन्डन) मा निर्वासित जीवन बिताएर गत जनवरी २५ तारिख मात्र बंगलादेश फर्केका हुन्। फर्केको पाँच दिनपछि नै आमा पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन भयो। यसपछि बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) को बागडोर रहमानको हातमा आएको हो।

२००१ देखि २००६ सम्म बीएनपीको शासनकालमा तारिकलाई भ्रष्टाचार मुद्दा लाग्यो। २००७ मा अन्तरिम सरकारको समयमा उनलाई १८ महिनाको जेल सजाय तोकियो। यसबिच उपचारका लागि विदेश जाने अनुमति पाएपछि उनी यही निहुँमा २००८ मा लन्डन गए। तर स्वदेश फर्केनन्। हसिना भागेपछि मात्र उनी १७ वर्षपश्चात् बंगलादेश फर्किएका हुन्। 

यद्यपि देशमा नभए पनि तारिकलाई बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) को नेता मानिएको थियो। टाइम पत्रिकाको रिपोर्टअनुसार पार्टीको रणनीति, आन्दोलन र राजनीतिक लाइन उनैले निर्धारण गरिरेहेका थिए।

डिसेम्बरमा गरिएको मत सर्वेक्षणले तारिकको पार्टीले लगभग ७० प्रतिशत समर्थन प्राप्त गरेको देखाएको छ। आफ्नी आमाको मृत्युपछि उनले पाएको सहानुभूति र उनको राजनीतिक पुनरागमन पनि वर्तमान परिस्थितिका महत्त्वपूर्ण कारक बनेका छन्।

तारिक रहमानले आफूलाई शान्त, सुन्ने र नीति-केन्द्रित नेताका रूपमा प्रस्तुत गरिरहेका छन्। उनले वार्षिक ५ करोड रुख रोप्ने, ढाकामा नयाँ हरित क्षेत्र सिर्जना गर्ने र प्राविधिक शिक्षा विस्तार गर्ने एजेन्डा अघि सारेका छन्। 

पाकिस्तान समर्थक जमात नेता सिफुकर प्रधानमन्त्रीका अर्का दाबेदार

जमात-ए-इस्लामीका नेता सफिकुर रहमान। उनले चुनाव निष्पक्ष भए आफ्नो पार्टीले नतिजा स्वीकार्ने बताए।

प्रधानमन्त्री पदको दौडमा दोस्रो प्रमुख दाबेदार हुन्- सिफुकर रहमान। उनी बंगलादेशी इस्लामिक पार्टी जमात-ए-इस्लामीका अमिर (प्रमुख) हुन्।

पार्टीलाई कट्टरपन्थी राजनीतिको आरोप लगाइएको छ। जमात अहिलेसम्म बंगलादेशको सत्तामा आएको छैन। तर बंगलादेशको राजनीतिमा यस पार्टीलाई एक सुव्यवस्थित भोट बैंक मानिन्छ। धार्मिक प्रभाव भएका क्षेत्रमा यसको बलियो उपस्थिति छ।

रिपोर्टअनुसार, अमेरिका र केही पश्चिमी देशका नेताले जमात नेता सिफुकर रहमानसँग भेट गरेका छन्। हालै के खुलासा भएको छ भने अमेरिकाले जमात-ए-इस्लामीलाई चुनाव जित्न मद्दत गर्न खोजिरहेको छ।

अमेरिकी वेबसाइट 'द इन्टरसेप्ट'को दाबीअनुसार अमेरिकाको विदेश मन्त्रालयले दक्षिण एसियामा सन्तुलन कायम राख्न जमातलाई मध्यम इस्लामिक पार्टी मानेर समर्थन गरिरहेको छ।

यद्यपि जमात-ए-इस्लामीको इतिहास यसको सबैभन्दा ठुलो कमजोरी मानिन्छ। यस पार्टीले १९७१ मा पाकिस्तानबाट बंगलादेशको स्वतन्त्रताको विरोध गरेको थियो। त्यतिबेला यसका धेरै नेतालाई स्वतन्त्रता समर्थकको हत्यामा पाकिस्तानी सेनासँग मिलेको आरोप लगाइएको थियो।

पार्टी १९७१ पछि पाकिस्तानबाट अलग हुँदै बंगलादेशमा गठन भयो, तर यसको पाकिस्तान समर्थक छवि यथावत् रह्यो। धेरै सञ्चारमाध्यम र विश्लेषकले यसलाई 'प्रो-पाकिस्तान' वा 'पाकिस्तान समर्थक' भन्छन्।

यसलाई १९७२ मा बंगलादेशमा प्रतिबन्ध पनि लगाइएको थियो। तर १९७५ मा प्रतिबन्ध हटाइयो। र, १९७९ मा जियाउर रहमानको शासनकालमा पार्टीलाई चुनावमा भाग लिन अनुमति दिइयो। 

यसैले बंगलादेशको ठुलो वर्गमा जमातविरुद्ध आक्रोश छ। यद्यपि यो पार्टीले झन्डै २ करोड समर्थक र २ लाख ५० हजार सदस्य भएको दाबी गर्छ।

विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लाम अर्का दाबेदार 

मतदान गर्दै प्रधानमन्त्रीका अर्का दाबेदार एनसीपी नेता नाहिद इस्लाम।

नयाँ र सबैभन्दा कान्छा नाहिद इस्लाम पनि बंगलादेशका भावी प्रधानमन्त्रीका दाबेदार हुन्। सन् २०२४ मेमा तत्कालीन हसिना सरकारविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनका प्रमुख नेतामध्ये एक हुन् उनी।

त्यसबेला उनी नाहिद स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन नामक विद्यार्थी मञ्चका संयोजक थिए। यस अवधिमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो।

शेख हसिनालाई सत्ताबाट हटाइएपछि नाहिद इस्लामलाई मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारमा सूचना, हुलाक र दूरसञ्चारसँग सम्बन्धित विभागको सल्लाहकार बनाइएको थियो। उनले केही महिनासम्म यो पद सम्हाले।

पछि सरकारबाट राजीनामा दिँदै उनी सक्रिय राजनीतिमा प्रवेश गरे।  र, २०२५ फेब्रुअरीमा नाहिद इस्लामले राष्ट्रिय नागरिक पार्टी (एनसीपी) घोषणा गरे।  

यो पार्टीले आफू विद्यार्थी आन्दोलन, युवा र प्रणालीसँग असन्तुष्ट मतदाताहरूको राजनीतिक आवाज भएको दाबी गर्छ। यद्यपि एनसीपीले सिफुकर रहमानको जमात-ए-इस्लामीसँग गठबन्धन गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नाहिद इस्लामलाई सहरी क्षेत्र, विद्यार्थी र पहिलोपटक मतदानमा सहभागी युवाबाट समर्थन मिलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad