प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधि सभालाई स्वच्छ छविका जनप्रतिनिधिको थलो बनाउन आग्रह गरेकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अङ्गकै भएको बताइन्। कुनै पनि कार्यालयमा हुने अनियमितताका लागि सोही कार्यालयका प्रमुखलाई नै जिम्मेवार बनाइनुपर्ने उनको भनाइ थियो।
‘भ्रष्टाचार नियन्त्रणका लागि हामी कहाँ पर्याप्त संरचना छन्, पर्याप्त कानूनी र नीतिगत व्यवस्था पनि छन्। तर पनि किन हामी कहाँ भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन सकेको छैन,’ उनले भनिन्, ‘भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अङ्गको नै हो। त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुख नै आफ्नो संस्था र संस्था भित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्दछ।’
भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्ग भन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्दासम्म सुधार गर्न नसकिने उनले बताइन्। जेनजी युवाको आन्दोलनको जगमा बनेको वर्तमान सरकारले सार्वजनिक सेवालाई नागरिकमैत्री बनाउन राहदानी र नागरिकता जस्ता सेवामा सरलीकरण गरेको उनको जिकिर छ।
‘जबसम्म हामी भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अङ्गभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्छौँ, तबसम्म आफू भित्र चाहेको सुधार गर्न सक्ने छैनौँ,’ उनले भनिन्, ‘प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख नै जिम्मेवार हो। यो मान्यता, चेतना र जिम्मेवारीको वोध प्रत्येक राष्ट्रसेवक कर्मचारी, राजनीतिक नेतृत्व र अन्य सरोकारवालामा पनि हुन जरुरी छ।’
आगामी फागुन २१ गते हुने निर्वाचनमा स्वच्छ छवि भएका प्रतिनिधिहरू छनोट गरी सदाचारको महाअभियान सफल पार्न उनले सबैमा आग्रह गरिन्। निर्वाचनलाई मुलुकमा सदाचार र सुशासन स्थापनाको ऐतिहासिक महाअभियानका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
देशको नीति निर्माण गर्ने सर्वोच्च निकाय प्रतिनिधि सभालाई योग्य, नैतिकवान र भ्रष्टाचार विरुद्ध स्पष्ट अडान भएका जनप्रतिनिधिको थलो बनाउन जरुरी रहेको उनले बताइन्। निर्वाचनले मुलुकको राजनीतिक दिशा र भविष्यलाई नयाँ मोड दिने अपेक्षा गरिन्।
‘सबैलाई म के आग्रह गर्न चाहन्छु भने आउँदो फागुन २१ को निर्वाचनलाई पनि मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानको रूपमा लिऔँ। स्वच्छ छवि र भ्रष्टाचार विरुद्धको प्रस्ट प्रतिवद्धता भएका जनप्रतिनिधिको थलो प्रतिनिधि सभालाई बनाऔँ,’ उनले भनिन्।
विगतका वर्षहरूमा देखिएका राजनीतिक अस्थिरता र भ्रष्टाचारका विभिन्न प्रकरणले सर्वसाधारणमा केही निराशा पैदा गरेको भए पनि आगामी निर्वाचनले नयाँ आशाको सञ्चार गरेको उनको भनाइ थियो।
निर्वाचनलाई केवल मतदानको प्रक्रिया मात्र नभई राज्य संयन्त्रलाई शुद्धीकरण गर्ने एउटा महत्त्वपूर्ण अभियानको रूपमा लिनुपर्ने प्रधानमन्त्री कार्कीले बताइन्।
Shares

प्रतिक्रिया