राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिताविना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताएका छन्।
भ्रष्टाचार नियन्त्रणलाई विकास र समृद्धिको अनिवार्य शर्तका रूपमा उल्लेख गर्दै राष्ट्रपति पौडेलले अख्तियार दुरुपयोग गर्ने जो कोहीलाई छानबिनको दायरामा ल्याउनुपर्नेमा जोड दिए।
‘लोकतन्त्रले अपेक्षा गर्ने सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्त रूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनै पर्छ। अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र होइन। यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि हो,’ राष्ट्रपति पौडेलले भने, ‘यसले आर्थिक क्षति वा नैतिक विचलन भन्दा धैरे पर पुगेर राज्य र नागरिक बिचको भरोसाको सेतुमा चोट पुर्याउँछ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार केवल कानुनी उल्लङ्घन मात्र नभई नागरिकको आस्था र भविष्यमाथिको प्रहार भएको टिप्पणी गरे।
‘लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हाम्रो चाहना हो। सुशासन र पारदर्शिताविना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन सकिँदैन,’ उनले भने, ‘जनताको अपेक्षा अनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य शर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण हो।’
सार्वजनिक शक्तिको दुरुपयोगले राज्य र नागरिकबीचको भरोसा कमजोर बनाउने उनको भनाइ थियो। जसले शासन प्रणालीप्रति नै निराशा पैदा हुने उनले बताए।
‘जब सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिन्छ तब राज्यले नागरिक माथि गरेको विश्वास मात्र होइन नागरिकले राज्य प्रति राखेको भरोसा पनि कमजोर बन्छ। यसले शासन प्रणाली प्रति निराशा जन्माउँछ, कानुनप्रति आस्था कमजोर बनाउँछ र लोकतन्त्रको आधारभुत मूल्यलाई क्षति पुर्याउँछ,’ उनले भने, ‘त्यसैले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि होइन, यो राज्यको वैधानिकता र सामाजिक न्याय माथिको गम्भीर चुनौती हो।’
युवा पुस्ताले संघर्षमार्फत प्रकट गरेको सुशासनको चाहनालाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ यियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिकाबारे चर्चा गर्दै राष्ट्रपतिले कुनै पनि व्यक्ति पद र शक्तिको आडमा कानुनी जवाफदेहिताबाट मुक्त हुन नहुने स्पष्ट पारे।
‘जनताको ठूलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ। सहज र सरल तरिकाले जनतामा सेवा प्रवाह तथा सुशासनमार्फत देशको समृद्धि नै हाम्रो संविधान र लोकतान्त्रिक गणतन्त्रले राखेको अभिष्ट हो,’ पौडेलले भने, ‘संविधान र व्यवस्थाले राखेको यही अभिष्टलाई पूरा गर्न सम्पूर्ण ध्यान केन्द्रित होस् भनेर नै बेलाबेलामा आवाज उठ्ने गरेको र भर्खरै युवा पुस्ताले सङ्घर्ष मार्फत आफ्नो त्यही चाहना प्रकट गरेका हुन् भन्ने पनि हामीले नबिर्सौं।’
सबैले मिलेर काम गरेमा भ्रष्टाचार अन्त्य गर्न सकिने उनको भनाइ थियो। ‘बानी, व्यवहार, आचरण र अभ्यासमा भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्ने हो भने जे जसरी पनि सत्ता शक्ति र धन प्राप्तिको मोहलाई नियन्त्रण गर्न सकिन्छ र भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न सकिन्छ भन्ने मेरो विश्वास छ’, उनले भने।
आयोगलाई कसैको दबाब वा प्रभावमा नपरी, कसुर र कसुरदारको आकार नहेरी निष्पक्ष र प्रभावकारी ढङ्गले काम गर्न आग्रह गरे। आयोगलाई अझ स्वतन्त्र र नागरिकप्रति उत्तरदायी बनाउनु सबैको साझा दायित्व भएको उनले बताए।
Shares

प्रतिक्रिया