आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ दलहरूले निकै कम संख्यामा महिलालाई मैदानमा उतारेका छन्। टिकट पाएका महिला उम्मेदवारले पनि हेभिवेट पुरुषहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा लगायत दलले उठाएका महिला उम्मेदवारका प्रतिस्पर्धीमा पूर्वप्रधानमन्त्रीदेखि पार्टीका प्रमुखहरू छन्।
कांग्रेसले यसपटक प्रत्यक्षतर्फ ११ जना महिलालाई उम्मेदवार बनाएको छ।
झापा क्षेत्र नम्बर २ मा सरिता प्रसाईं उम्मेदवार छिन्। उनको प्रतिस्पर्धीमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, राप्रपाका भद्रप्रसाद शर्मा र नेपाली कम्युनिस्ट पार्टीका धर्मशीला चापागाईं लगायत छन्। २०७९ सालमा सो क्षेत्रबाट घिमिरे निर्वाचित भएका थिए।
यस्तै, क्षेत्र नं ५ मा कांग्रेसले उम्मेदवार बनाएको मन्धरा चिमरियाको प्रतिस्पर्धीमा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह र नेकपाका रञ्जित तामाङ लगायत छन्।
चार पटक प्रधानमन्त्री भइसकेका ओलीले पटकपटक जित्दै आएको सो क्षेत्रमा यसपटक रास्वपाका शाह मैदानमा उत्रिँदा कांग्रेसले चिमरियालाई अघि सारेको हो। यहाँको चुनाव रोचक हुने देखिन्छ। किनकि, विगतको चुनावमा एकपक्षीय नतिजा ल्याउन सफल भइरहेका ओलीका लागि यसपटक त्यो सहजता छैन।
यस्तै, काठमाडौँ ८ मा कांग्रेस उम्मेदवार सपना राजभण्डारीको प्रतिस्पर्धी पनि हेभिवेट नै छन्। रास्वपाबाट अघिल्लो पटक चुनाव जितेका विराजभक्त श्रेष्ठले फेरि उम्मेदवारी दिएका छन्। यस्तै, अघिल्लो चुनावमा उम्मेदवार बनेका सुमन सायमी यसपटक नेकपाबाट चुनाव लड्दैछन्। बलिया प्रतिस्पर्धीसँग चुनाव लडे पनि आफू जित्ने राजभण्डारीको भनाइ छ।
‘हाम्रै मत लगेर रास्वपाले जितेको हो, यसपटक त्यो सबै मत फर्काएर म चुनाव जित्छु,’ उनले भनिन्, ‘घरदैलो गर्दा मतदाताले त्यही कुरा भन्नुभएको छ।’ यद्यपि, स्थानीय उम्मेदवार नै भएकोले तीव्र प्रतिस्पर्धा हुने उनले बताइन्।
यस्तै, कांग्रेसले काठमाडौँ क्षेत्र नम्बर ९ मा नानु बस्तोलालाई उठाएको छ। उनको प्रतिस्पर्धा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, एमालेका अजयक्रान्ति शाक्य र नेकपाका राधाकृष्ण महर्जनसँग हुनेछ।
त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना रहेको यो क्षेत्रमा बास्तोलाले मुख्य दलका पुरुष उम्मेदवारसँग मुकाबिला गर्दैछिन्। शाक्य र महर्जन सोही क्षेत्रका स्थानीय उम्मेदवार हुन् भने रास्वपाका अर्याल लामो समय धादिङमा बसोबास गरेका व्यक्ति हुन्।
मकवानपुर–१ बाट कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाको प्रतिस्पर्धीमा राप्रपाका दीपकबहादुर सिंह, एमालेका रामेश्वर राना मगर, नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतम लगायत छन्। अघिल्लो चुनावमा सिंहले जितेको सो क्षेत्रमा डिना फेरि उम्मेदवार बनेकी हुन्। बदलिएको कांग्रेसको एजेन्डा लिएर चुनावमा खटिएकी उनी यसपटक विजयी हुने बताउँछिन्।
यसैगरी, चितवन–२ मा कांग्रेसकी मीनाकुमारी खरेलले रास्वपाका रवि लामिछानेसँग प्रतिस्पर्धा गर्नुपरेको छ। २०७९ सालको आमनिर्वाचन र २०८० सालको उपनिर्वाचनमा लामिछानेले ऐतिहासिक मत पाएर जितेको सो क्षेत्रमा कांग्रेसले खरेललाई अघि सारेको छ।
यस्तै, सिन्धुली–२ मा कांग्रेसले सुशीला थिङलाई टिकट दिएको छ। अघिल्लो पटक समानुपातिक सांसद बनेकी उनलाई यसपटक पार्टीले नेकपाका लेखनाथ दाहाल, एमालेका मनोजजंग थापा र रास्वपाका आशिष गजुरेलसँग प्रतिस्पर्धामा उतारेको छ। नेकपाका दाहालले अघिल्लो पटक सो क्षेत्र जितेका थिए।
मधेस प्रदेशको सिरहा–४ मा कांग्रेसले चन्द्रकलाकुमारी यादवलाई अघि सारेको छ। जहाँ जनता समाजवादी पार्टीका राजकिशोर यादव र जनमतका वीरेन्द्रप्रसाद महतो, एमालेका धर्मनाथप्रसाद साह र नेकपाका अजयशंकर नायक लगायत प्रतिस्पर्धी छन्।
उता, महोत्तरी–२ की कांग्रेस उम्मेदवार किरण यादवले पनि शरदसिंह भण्डारीजस्ता अहिलेसम्म चुनाव नहारेका नेतासँग भिड्नुपरेको छ। यसपटक सो क्षेत्रमा रास्वपाका दीपकुमार साह, नेकपाका लक्ष्मणकुमार यादव र एमालेका कासिम नदाफ लगायत उम्मेदवार छन्।
कांग्रेसले रूकुम पूर्वमा कुशुमदेवी थापा मगरलाई प्रतिनिधि सभाको चुनावमा उम्मेदवार बनाएको छ, तर उनले नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
दैलेख–१ मा बासना थापालाई कांग्रेसले चुनावी मैदानमा पठाएको छ। उनले अघिल्लो पटक चुनाव जितेका नेकपाका अम्मरबहादुर थापा, एमालेका रविन्द्रराज शर्मा र रास्वपाका नन्दकिशोर बस्नेतलगायतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
कांग्रेसको मात्र होइन, यसपटकको प्रतिनिधि सभाको चुनावमा एमालेले उठाएका १० जना महिला उम्मेदवारका प्रतिस्पर्धी पनि हेभिवेट नै छन्। तनहुँ–१ मा भगवती न्यौपानेले रास्वपाका स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराईसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। वाग्लेले २०८० वैशाखमा भएको उपचुनाव सो क्षेत्रबाट जितेका थिए।
यस्तै, सोलुखुम्बुमा कल्पना राई र ओखलढुंगाबाट उम्मेदवार बनाइएकी अस्मिता थापाको प्रतिस्पर्धी कांग्रेस र नेकपाका प्रभावशाली नेता छन्।
सोलुखुम्बुमा राईले कांग्रेसका प्रकाशसिंह कार्की र नेकपाका असिम राईसँग लड्नुपर्नेछ। ओखलढुङ्गामा थापाको प्रतिस्पर्धा कांग्रेसका कुमार लुइँटेल र नेकपाका अम्बिरबाबु गुरुङसँग हुनेछ। रामहरि खतिवडाले जितेको सो क्षेत्रमा यसपटक कांग्रेसले लुइँटेललाई अघि सारेको छ। एमालेको जिल्ला कमिटी लिएर गुरुङ नेकपा प्रवेश गरी टिकट लिएका हुन्। यसकारण यो क्षेत्रको चुनाव रोचक हुने देखिन्छ।
बर्दिया–२ का लागि एमाले उम्मेदवार विमला विकको कांग्रेसका पूर्वसहमहान्त्री किशोरसिंह राठौरसँग प्रतिस्पर्धा हुँदैछ। यस्तै, सो क्षेत्रमा नेकपाले सुरेश पन्थलाई उम्मेदवार बनाएको छ। अघिल्लो पटक नागरिक उन्मुक्ति पार्टीबाट लालवीर चौधरीले सो क्षेत्र जितेका थिए। यद्यपि, नेकपासँग एकतापछि उनी यसपटक उम्मेदवार बनेका छैनन्।
मञ्जु शर्मा चालिसेलाई एमालेले बागलुङ–२ बाट चुनावी प्रतिस्पर्धामा उठाएको छ। सो क्षेत्रमा कांग्रेसले टेकराज पौडेल, नेकपाका ज्ञामनाथ गैरे, रास्वपाका सोम शर्मासँग मञ्जुको प्रतिस्पर्धा हुँदैछ। सो क्षेत्रमा राष्ट्रिय जनमोर्चाले नेकपालाई सहयोग गरेको छ।
यसबाहेक एमालेले अघिल्लो पटक चुनाव जितेकाले धनुषा–३ मा जुली महतो, बारा–३ मा ज्वाला शाह र सुनसरी–४ मा भगवती चौधरीलाई फेरि उम्मेदवार बनाएको छ।
नेकपाले १० जना महिलालाई प्रत्यक्ष चुनावमा उठाएको छ। नेकपाका महिला उम्मेदवारको पनि प्रतिस्पर्धी कांग्रेस, एमाले र रास्वपाका प्रभावशाली नेताहरू छन्।
चितवन–३ मा रेनु दाहाल उठेकी छन्। उनको प्रतिस्पर्धी रास्वपाकी सोविता गौतम, कांग्रेसका टेकप्रसाद गुरुङ, एमालेका शंकरराज थपलिया र राप्रपाका दीपक थापा मगर छन्। सो क्षेत्रमा अघिल्लो पटक राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका थिए।
भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयर जितेकी रेनु पहिलो पटक संसदीय चुनाव लड्न लागेकी हुन्। काठमाडौँ क्षेत्र नम्बर २ बाट अघिल्लो पटक चुनाव जितेकी रास्वपाकी सोविता गौतम क्षेत्र परिवर्तन गरेर चितवन पुगेकी हुन्।
यसैगरी, नेकपाले कञ्चनपुर–१ मा विना मगरलाई उम्मेदवार बनाएको छ। अघिल्लो पटक उनी सो क्षेत्रबाट उठे पनि एमालेका तारा लामासँग पराजित भएकी थिइन्। यसपटक पनि विनाको प्रतिस्पर्धा एमालेका लामा, कांग्रेसका गोपीप्रसाद उपाध्याय र रास्वपाका जनकसिंह धामीसँग हुँदैछ।
यसबाहेक, नेकपाले काठमाडौं–१ मा मेनका भण्डारीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाएको छ। भण्डारीका प्रतिस्पर्धीमा राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, रास्वपाका रञ्जु दर्शना, कांग्रेसका प्रबल थापा र एमालेका मोहनराज रेग्मी लगायत छन्।
यसैगरी, काठमाडौँ क्षेत्र नम्बर ५ बाट नेकपा उम्मेदवार कल्पना शर्माको प्रतिस्पर्धी कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमालेका चर्चित नेता ईश्वर पोखरेल, राप्रपाका वरिष्ठ नेता कमल थापा र रास्वपाका सस्मित पोखरेल लगायत छन्।
यता, रुपा महर्जनलाई नेकपाले काठमाडौँ क्षेत्र नम्बर १० मा उम्मेदवार बनाएको छ। उनका प्रतिस्पर्धी पनि एमालेका विनोद श्रेष्ठ, कांग्रेसका हिमाल कार्की र रास्वपाका प्रदीप विष्ट लगायत छन्।
झापा–२ मा धर्मशीला चापागाईं उम्मेदवार छिन्। उनका प्रतिस्पर्धीहरू निवर्तमान सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, चर्चित अधिवक्ता समेत रहेका राप्रपाका भद्रप्रसाद शर्मा छन्।
सरिता खड्का थापालाई नेकपाले संखुवासभाबाट उम्मेदवार बनाएको छ। सो जिल्लामा कांग्रेसका दिपनकुमार श्रेष्ठ, एमालेका अर्जुनकुमार कार्की र रास्वपाका मिङ्मा शेर्पा प्रतिस्पर्धी छन्।
कोसीकै सुनसरी–२ मा नेकपाले रामकुमारी चौधरीलाई चुनावी मैदानमा उतारेको छ। सो क्षेत्रमा कांग्रेसका राजीव कोइराला, एमालेका सुजन लामा, रास्वपाका लालविक्रम थापा र श्रम संस्कृति पार्टीका चेतन राईसँग चौधरीको प्रतिस्पर्धा हुनेछ।
मनाङमा नेकपाले यशोदा सुवेदीलाई उम्मेदवार बनाएको छ। उनले यसअघि निर्वाचित कांग्रेसका टेकबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
यस्तै, सप्तरी ४ मा नेकपाले उम्मेदवार बनाएका रुवकुमारी कर्णको प्रतिस्पर्धा कांग्रेसका तेजुलाल चौधरी, एमालेका गंगाप्रसाद चौधरी, जसपा नेपालका बबी सिंह लगायतसँग भिड्नुपर्नेछ। तेजुलाल चौधरीले अघिल्लो पटक निर्वाचन जितेका थिए।
नेकपाकी अर्की उम्मेदवार हुने–सिन्धु जलेसा बुढाथोकी। जसले नवलपरासी पश्चिममा डलर अर्बपति विनोद चौधरीसँग प्रतिस्पर्धा गर्दैछिन्। सो क्षेत्रमा एमालेले रामप्रसाद पाण्डे र रास्वपाले विक्रम खनाललाई उठाएको छ।
रौतहट ३ की नेकपा उम्मेदवार पुनमदेवीले आम जनता पार्टीका अध्यक्ष प्रभु साहसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यही क्षेत्रबाट २०६४ देखि निरन्तर जित्दै आएका साह बलिया मानिन्छन्। सो क्षेत्रमा एमालेका कुन्दनप्रसाद कुसवाह, कांग्रेसका रामकृपालप्रसाद यादव, लोसपाका वीरेन्द्रकुमार गुप्ता लगायत प्रतिस्पर्धामा छन्।
रास्वपाले १६५ वटा निर्वाचन क्षेत्रमध्ये १६ स्थानमा महिलालाई उम्मेदवार बनाएको छ। जसमा अघिल्लो पटक जितेका ललितपुर–३ मा तोसिमा कार्की र सोविता गौतम दोहोरिएका छन्। गौतम क्षेत्र परिवर्तन गरेर चितवन झरेकी छन्।
त्यसबाहेक, झापा १ मा निशा डाँगी रास्वपाबाट उम्मेदवार छिन्। उनले एमालेका रामचन्द्र उप्रेती र कांग्रेसका केशवराज पाण्डेसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। अघिल्लो पटक समानुपातिक सांसद भएकी डाँगीलाई यसपटक प्रत्यक्षमा अवसर दिएको रास्वपाले अघिल्लो चुनावमा कांग्रेसका विश्वप्रकाश शर्माले जितेको क्षेत्रमा उठाएको हो।
झापा–२ बाट चुनावी मैदानमा उत्रेकी इन्दिरा राना मगरको प्रतिस्पर्धी निवर्तमान सभामुख देवराज घिमिरे छन्।
यस्तै, काठमाडौं–१ मा रञ्जु दर्शनाले राप्रपाका नेता रवीन्द्र मिश्र, कांग्रेसका प्रबल थापा लगायतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
जुम्लामा विनिता कठायतलाई रास्वपाले यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छ। तर, उनको प्रतिस्पर्धा राप्रपाका निवर्तमान सांसद ज्ञानबहादुर शाहीसँग हुनेछ। यस्तै यसपटक सो क्षेत्रमा नेकपाले नरेश भण्डारीलाई चुनावी मैदानमा उतारेको छ।
कर्णालीकै हुम्लामा युवा टासी ल्हान्जोमलाई रास्वपाले उम्मेदवार बनाएको छ। तर, त्यहाँ नेकपाका दीपेन्द्र रोकाया, कांग्रेसका जयपति रोकाया र एमालेबाट दल फडेरा जस्ता उम्मेदवार छन्। जोसँग पहिलोपटक संसदीय चुनाव लड्दैछिन ल्हान्जोम।
यस्तै, धादिङ क्षेत्र नम्बर १ मा रास्वपाले आसिका तामाङलाई उम्मेदवार बनाएको छ। तर, लामो समय राजनीति गरेका, संसदीय अनुभव बटुलेका नेकपाका वरिष्ठ नेता राजेन्द्र पाण्डे, एमालेका भूमि त्रिपाठीसँग उनले प्रतिस्पर्धा गर्नुपर्नेछ। त्यसबाहेक कांग्रेसले सो क्षेत्रमा कृष्ण रिजाललाई उम्मेदवार बनाएको छ।
मोरङ ५ मा रास्वपाले आशा झालाई चुनावी मैदानमा उतारेको छ। सो क्षेत्रमा एमालेका मनोजकुमार अग्रवाल, कांग्रेसका फूलकुमार लालवानी र नेकपाका शिवकुमार केवट उम्मेदवार छन्। यस्तै, जसपाबाट राजकुमार यादव पनि प्रतिस्पर्धामा छन्।
सुनसरी १ की रास्वपा उम्मेदवार गोमा तामाङले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई, एमालेका टीकाराम लिम्बू, कांग्रेसका सुजेन्द्र तामाङसँग भिड्नुपर्नेछ। हर्कको प्रभाव क्षेत्र मानिने त्यहाँको चुनाव रोचक हुने देखिन्छ।
यसैगरी पुष्पा चौधरीलाई रास्वपाले सप्तरी १ बाट उठाएको छ। जहाँ एमालेका सुमनराज प्याकुरेल, कांग्रेसबाट रामदेव साह तेली लगायत २१ जना उम्मेदवार छन्।
सर्लाही १ की रास्वपा उम्मेदवार नीतिमा भण्डारीको प्रतिस्पर्धी पनि नेकपाका प्रमोद साह, कांग्रेसका शम्भुलाल श्रेष्ठ, एमालेका मनोजकुमार देवकोटा लगायत २८ जना छन्।
उता, कास्की ३ मा रास्वपाले विना गुरुङलाई उठाएको छ। जुन क्षेत्रमा कांग्रेसका मनोज गुरुङ, एमालेका दामोदर पौडेल र नेकपाका गोपाल गिरी प्रतिस्पर्धी छन्।
राप्रपाले ११ जना महिला उम्मेदवार उठाएको छ। काठमाडौँ क्षेत्र नम्बर २ मा कुन्ती पोखरेल सबैभन्दा बलियो दाबेदार हुन्। उनी यसअघि सो क्षेत्रमा निकतम् प्रतिद्वन्द्वी थिइन्।
यसपटक उनको एमालेका मणिराम फुयाल र कांग्रेसका कविर शर्मा, राप्रपाबाट प्रदेश सांसद जितेर अहिले रास्वपा प्रवेश गरेका सुनिल केसी लगायतसँग प्रतिस्पर्धा हुनेछ।
Shares

प्रतिक्रिया