राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।
पहिलो अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि आजै (बुधवार) मतदान हुने निर्वाचन समितिले जनाएको छ।
अधिवेशनबाट सभापति पदका लागि पाँच जना आकाङ्क्षीहरू देखिएका छन्। सभापतिका लागि अहिलेसम्म चन्द्र राई, सरिन तामाङ, नारायण घिमिरे, डा. खगेन्द्र कटुवाल र पारसमणि गेलाल सभापति बन्नको लागि रस्साकस्सीमा लागेका छन्।
यद्यपि, आकाङ्क्षीहरूबिच आन्तरिक सहमतिको लागि प्रयास भइरहेको रास्वपा स्रोतले जनाएको छ। यो समाचार तयार पार्दासम्म पनि उम्मेदवारी फिर्ता गराउने प्रयास समेत भइरहेको नेताहरूले जनाएका छन्।
सभापति सँगै भूगोल र खुल्ला क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिहरूले पदाधिकारीलाई मतदान गर्नेछन्।
अधिवेशनमा करिब एक हजार जना प्रतिनिधिहरू सहभागी छन्। रास्वपाको विधान र निर्वाचन कार्यविधि अनुसार उपसभापति, महामन्त्री र
सहमहामन्त्री जस्ता प्रमुख पदाधिकारीहरूको चयन भने तत्कालै प्रारम्भिक मतदानबाट नभई दोस्रो चरणमा हुनेछ।
पहिलो चरणको निर्वाचनबाट निर्वाचित भएर आउने प्रदेश सदस्यहरूले मात्र दोस्रो चरणको निर्वाचनमा भाग लिन पाउनेछन्। निर्वाचित सदस्यहरू बिचबाटै उपसभापति र महामन्त्री लगायतका पदाधिकारीहरू चयन गरिने नेताहरू बताउँछन्।
आजै साँझ मतदान हुने जनाइएको छ। कार्यवाहक सभापति सरिन तामाङले लेखेकी छिन्, ‘मेरा साथीहरू प्रति दृढ विश्वासको साथमा आज कठिन परीक्षाको सङ्घारमा उभिएको सरिनलाई साथीहरूले अन्याय गर्नु हुन्न भन्ने विश्वासको साथमा आज उभिएको छु।’
Shares

प्रतिक्रिया