स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रालगायत संलग्न रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ। आइतबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मुद्दाको मिसिलसँग सम्बन्धित थप प्रमाण र कागजात मगाउने आदेश दिएको हो।
गत कात्तिक २ गते अख्तियारले महानिर्देशक मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। प्रतिवादीहरूमा व्यवस्थापन महाशाखाका निर्देशक डा. श्रवणकुमार थापा, डा. विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा. सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले र म्याक्सिम इनकर्पोरेसन ट्रेडर्सका सञ्चालक सुन्दर भुसाललगायत छन्।
के थियो पृष्ठभूमि?
यो मुद्दा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासँग जोडिएको छ। कोभिड–१९ को महामारी र त्यसपछिको समयमा स्वास्थ्य उपकरण तथा औषधि खरिद गर्दा बजार मूल्यभन्दा उच्च दर कायम गरिएको र सेटिङमा विशेष फर्मलाई ठेक्का सुम्पिएको अख्तियारको दाबी छ। विशेषगरी म्याक्सिम इनकर्पोरेसन मार्फत भएका खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐनको उल्लंघन गरी राज्यलाई करोडौँ नोक्सानी पुर्याएको अभियोग उनीहरूमाथि छ।
आइतबारको आदेशसँगै अब अख्तियारले अभियोगपत्रको पुष्टि गर्ने थप प्रमाणहरू अदालतमा पेश गर्नुपर्नेछ। ती प्रमाणहरू अध्ययन गरेपछि मात्र अदालतले मुद्दाको अन्तिम सुनुवाइ प्रक्रिया अगाडि बढाउनेछ।
Shares

प्रतिक्रिया