नेपाली कांग्रेसले निर्वाचन परिचालन निर्देशिका पारित गर्दै जसको पदीय जिम्मेवारी जहाँ छ, त्यहीँबाट खट्ने निर्णय गरेको छ।
आज (आइतबार) भर्चुअल रूपमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन परिचालन निर्देशिका पारित गरेको हो।
निर्देशिकाको बुँदा नम्बर २१ मा भनिएको छ, ‘फागुन २१ को आम चुनावका लागि मेरो २१ दिन´ भन्ने प्रतिबद्धता साथ फागुन १ देखि २१ गतेसम्म `जसको पदीय जिम्मेवारी जहाँ/उसले खट्ने त्यहाँ´ नीतिअन्तर्गत पार्टीका सबै साथीहरू चुनाव मैदानमा खट्नुहुनेछ।’
यस्तै संघ, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रमा पनि तोकेका प्रतिनिधिले काम सकेर पुन: आफ्नै जिल्ला/ क्षेत्र/पालिका र वडामा केन्द्रित रहनुपर्ने निर्देशिकामा उल्लेख छ।
तोकिएको जिम्मेवारी लिएर अन्यत्र गएका बाहेक बाँकी सबै तहका पार्टी पदाधिकारी र सदस्य आआफ्ना क्षेत्रमा केन्द्रित रहन निर्देशिकाले निर्देशन दिएको छ।
‘एउटा वडाको क्रियाशील सदस्य अर्को वडामा नगएर `हाम्रो वडा हामी जिताउँछौ´ उद्घोषसाथ आआफ्नै वडामा खट्नुहुनेछ,’ निर्देशिकामा भनिएको छ, ‘पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थामा आबद्धहरूले सोहीबमोजिम जिम्मेवारी निभाउनुहुनेछ।’
उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका-०८२ र नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका-०८२ बैठकले पारित गरेको हो।
उपसभापति शर्मा पार्टीको केन्द्रीय निर्वाचन परिचालन समिति संयोजक हुन्।
Shares

प्रतिक्रिया