जेन जी आन्दोलनकी अगुवा रक्षा बमले रौतहटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारको गाडीले किचेर बालिकाको मृत्यु भएको विषयमा गम्भीर आपत्ति जनाएकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राजनीतिक आडमा घटनालाई सामसुम पार्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेकी हुन्।
रौतहटमा रास्वपा उम्मेदवारको गाडीले किच्दा चार वर्षीया बालिकाको ज्यान गएको घटनाप्रति लक्षित गर्दै बमले फेसबुकमा लेखेकी छन्, 'गाडीको अघिल्लो भागले ठक्कर दिएपछि ढलेकी बालिकालाई पछाडिको पांग्राले पनि किचेको सामाजिक सञ्जालमा देख्न सकिन्छ। यो गम्भीर अपराध हो। 'उनले अनुसन्धानमा सघाउन र जिम्मेवार अभिव्यक्ति दिन सम्बन्धित पक्षलाई आग्रह गरेकी छन्।
अन्धभक्तिको राजनीतिले समाजलाई क्षति पुर्याएको उल्लेख गर्दै उनले कुनै पनि दलका कार्यकर्तालाई आफ्ना नेताको बचाउमा आँखै चिम्लेर नलाग्न सचेत गराएकी छन्। 'सहीलाई सही र गलतलाई गलत भन्न सक्ने नैतिक साहस बिना राजनीति होइन, केवल अन्धभक्ति मात्रै बाँकी रहन्छ,' उनले भनेकी छन्।
हिजो एमाले मन्त्रीको गाडीले ठक्कर दिँदा आक्रोशित हुनेहरूले आज रास्वपाको गल्तीमा बचाउ गर्नु दोहोरो चरित्र भएको उनको तर्क छ।
बमले सरकारलाई यस विषयलाई गम्भीरतापूर्वक लिन र राजनीतिक खोल ओढेर दोषीलाई उन्मुक्ति दिने काम नगर्न चेतावनी समेत दिएकी छन्।
यो पनि: रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट बालिकाको मृत्यु, चालक भागे
बालिका मृत्यु घटनाको छानबिन गर्न स्थानीय प्रशासनलाई सहयोग गर्छौं: रास्वपा
Shares

प्रतिक्रिया