२०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतलाई भारी मतान्तरले जिताएर ‘सरप्राइज’ दिएको क्षेत्र हो सप्तरी–२। नवोदित जनमतले कांग्रेस र एमाले नेतृत्वका दुवै गठबन्धनलाई सप्तरी–२ मा चक्मा दिएको थियो। सीके राउतले ३५ हजार ४२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी एमालेको समर्थन पाएका जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव १६ हजार ९ सय ७९ मा रोकिएका थिए।
कांग्रेस, माओवादी र एकीकृत समाजवादीको साथ पाएका तत्कालीन लोकतान्त्रिक पार्टीका जयप्रकाश ठाकुरलाई ७ हजार ३ सय ४७ मत मात्र प्राप्त भयो। तर, २०८२ मा आइपुग्दा तराई–मधेस मात्र होइन सप्तरी २ मा पनि सीकेको रापताप सेलाउँदो छ। पार्टी विस्तार नहुँदै विभाजन भोगेका जनमतका अध्यक्ष राउतलाई विगतका सारथीको मुकाबिला चुनौतीपूर्ण बनेको छ।
आफैँले ‘ग्रुम’ गरेका मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतीश सिंह र पार्टीका पूर्वप्रवक्ता शरदसिंह यादव नयाँ पार्टी खोलेर चुनावी मैदानमा उत्रिएपछि सप्तरी २ मा राउत रक्षात्मक देखिएका छन्। तर, राउतले नेपालखबरको इलेक्सन एक्सप्रेसमा पार्टी विभाजन र उनीहरूको उम्मेदवारीलाई अतिरञ्जित गरिएको बताए।
‘पार्टी विभाजनको जहाँसम्म कुरा छ, त्यसको खासै प्रभाव जनमत पार्टीमाथि छैन। पार्टी उनीहरूमाथि त्यति धेरै निर्भर थिएन,’ उनी भन्छन्।
यस्तै सीके शरदभन्दा सतीशप्रति ज्यादा क्रुद्ध सुनिए।
‘उहाँले पहिलो पटक पार्टी छोड्नुभएको होइन। उहाँको परिवारका पाँच जना मान्छे पाँच वटा फरकफरक पार्टीमा छन्। २०७९ को स्थानीय निर्वाचनमा मेयरमा हारेपछि बल्ल हाम्रो पार्टीमा आउनुभएको थियो। लाभ लिन सक्ने जति लाभ लिनुभयो। मुख्यमन्त्री बनेपछि मन्त्री बन्ने कुरा त आउँदैन। त्यो सारा लाभ लिइसकेपछि केही बाँकी नरहँदा फेरि आफ्नो अवसरको लागि जानुभयो,’ उनी भन्छन्।
सतीशको विद्रोहप्रति दुःख मान्ने भन्दा पनि आफू समयमै सचेत हुँदा ठूलो दुर्घटना हुनबाट जोगिएको राउतको तर्क थियो। भारतको झारखण्डस्थित राँचीको बीआईटी मिश्राबाट सूचना प्रविधिमा स्नातकोत्तर सिंह दल बदल्न भने खप्पिस नै देखिन्छन्। तत्कालीन लोसपाबाट राष्ट्रियसभा सांसद रहेका शेखर सिंहका माइला छोरा सतीशको राजनीति २०५३ सालबाट सुरु भएको थियो।
गजेन्द्रनारायण सिंहको सद्भावना पार्टीको विद्यार्थी संगठन मञ्चको सदस्यता लिएका उनी २०७० संविधानसभाको निर्वाचनपूर्व शरतसिंह भण्डारीको नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीमा प्रवेश गरेका थिए। उक्त पार्टीको सप्तरी अध्यक्ष भएका उनी मधेसकेन्द्रित ६ वटा दल मिलेर राजपा गठन हुँदा पनि जिल्ला अध्यक्ष रहे।
०७४ को स्थानीय निर्वाचनमा तत्कालीन राजपाबाट उनी सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा निर्वाचित भए। ०७९ स्थानीय तहको निर्वाचनमा राजपाबाटै अध्यक्षको उम्मेदवार बनेका उनी कांग्रेसका अरुणकुमार मण्डलसँग पराजित भए। त्यसपछि ०७९ भदौमा सीके राउत नेतृत्वको जनमत पार्टी प्रवेश गरेका उनी २०७९ मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी–२ (क)मा उम्मेदवार बने।
मधेस प्रदेशका तत्कालीन अर्थमन्त्री समेत रहेका जसपाका उम्मेदवार शैलेन्द्रप्रसाद साहलाई पराजित गरी सतीश प्रदेशसभा सदस्यमा निर्वाचित भए। मधेस प्रदेशमा जनमतको मुख्यमन्त्री बन्ने परिस्थिति बनेपछि संसदीय दलको नेतामा सीकेले २०८१ जेठ २५ मा सतीशलाई अगाडि सारे।
करिब १४ महिना मधेस प्रदेशको मुख्यमन्त्री रहेका सतीशले जेनजी आन्दोलनपछि सीकेको साथ छाडे। सप्तरी २ (क) मा राम्रो पकड भएका सतीशको साथ नहुँदा सीकेलाई सकस परेको देखिन्छ। सप्तरी २ को (क) क्षेत्रमा पर्ने छिन्नमस्ता, तिलाठी कोइलाडी, महादेवा र राजविराजका गरी १९ वटा वडामा सतीशको प्रभाव रहेको सीके राउतकै कार्यकर्ता पनि स्वीकार्छन्। उक्त क्षेत्रमा मुख्मन्त्री हुँदा सतीशले धेरै विकास योजना अगाडि बढाएका थिए।
आफू ग्रासरूटमा बसेर जनताको काम गरेको बताउने सतीश चुनाव जित्नेमा आशावादी सुनिए। सप्तरी र मधेसको समग्र विकास, नागरिकका हकअधिकार तथा पहिचानको सवाललाई राष्ट्रिय स्तरमा बलियो रूपमा उठाउने उनको नारा छ। सप्तरी २ मा पर्ने बाँकी १८ वडामा मधेस प्रदेशका अर्थमन्त्री तथा प्रदेश सभा (ख) निर्वाचित जनमत पार्टीका महेश यादवले सीकेका लागि भरमग्दुर प्रयास गरेपनि सतीशको गढमा जनमत छिर्न सकेको छैन।
सतीशसँगै जनमत पार्टीका पूर्वप्रवक्ता डा शरदसिंह यादव पनि सप्तरी २ बाट उम्मेदवार बनेपछि सीके सामु चुनौतीको पहाड खडा भएको छ। जेनजी आन्दोलनपछि जनमत पार्टी परित्याग गरेर जनअधिकार पार्टी स्थापना गरेका शरदसिंह विगतमा सीकेका सल्लाहकार र संगठन विस्तारका प्रमुख योजनाकार मध्येका एक थिए।
सीकेविरुद्ध शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन र पूर्वाधार विकासका एजेन्डा बोकेर शरदसिंह चुनावी मैदानमा छन्। सरकारी अस्पतालको स्तरोन्नति तथा स्वास्थ्य सेवामा सुधार, धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, सीमा क्षेत्रको व्यवस्थापन, कृषि तथा सिँचाइ सुधार, गुणस्तरीय शिक्षा, पुस्तकालय स्थापना तथा युवाका लागि रोजगारी सिर्जना गर्ने उनी बताउँछन्। फागुन २१ को निर्वाचनमा सीके राउत तेस्रो हुने दाबी गर्दै जनताले नयाँ पार्टी खोजेकाले आफू विजयी हुने उनको दाबी छ।
यो निर्वाचनमा सीकेका सारथीले साथ मात्र छोडेका छैनन्। दाइ जयकान्त राउतलाई राष्ट्रिय योजना आयोगको सदस्य तथा पार्टीको वरिष्ठ उपाध्यक्ष, भाउजू बबिता इशर राउतलाई प्रदेश सांसदसहित उपसभामुख र पार्टीको विशिष्ट उपाध्यक्ष बनाएकोमा विपक्षीले सीकेविरुद्ध परिवारवादको नारा पनि जबर्जस्त उठाएको पाइन्छ।
सीकेलाई विगतका सारथीसँगै जसपा नेपालबाट पूर्वसंविधानसभा सदस्य तथा पूर्वमन्त्री उमेशकुमार यादवको अर्को बलियो चुनौती छ। तत्कालीन नेकपा माओवादीबाट स्थापित उमेश चुनावअघि जसपा नेपाल प्रवेश गरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
यस्तै एमालेका मोहम्मद जियाउल रहमान, कांग्रेसका रामकुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव, नेकपाका सूर्यनाथप्रसाद यादव, राप्रपाका अजयकुमार दास, राष्ट्रिय मुक्ति पार्टीका अनिस अन्सारी, नेपाल संघीय समाजवादी पार्टीका राजकुमार मण्डल, नेपाल जनता पार्टीका रञ्जुकुमारी झा र स्वतन्त्र गरी ३४ जना चुनावी मैदानमा छन्।
कांग्रेसका उम्मेदवार यादव पार्टीको जिल्ला उपाध्यक्ष भइसकेका नेता हुन् भने एमालेका रहमानको व्यावसायिक पृष्ठभूमि हो। नेकपाका उम्मेदवार सूर्यनाथ यादव तत्कालीन माओवादी हुँदै फोरम नेपालमा पुगेर फेरि नेकपा फर्किएका थिए। २०६३ सालको अन्तरिम संसदमा माओवादीबाट सांसद बनेका सूर्यनाथले पछि फोरमबाट श्रीमती लक्ष्मी चौधरीलाई समानुपातिक सांसद बनाए। अहिले उनी नेकपाबाट चुनावी मैदानमा छन्।
रास्वपाका उम्मेदवार रामजी इन्जिनियर हुन्। जसपा नेपालबाट निर्वाचित राजविराज नगरपालिकाका मेयर शम्भु यादवका ज्वाइँ समेत रहेका रामजीप्रति सीके राउत बढी सशंकित देखिन्छन्। नेपालखबरसँगको संवादमा सीकेले रास्वपामाथि आक्रोश व्यक्त गरेका थिए।
‘रास्वपावालाहरू एकदम हतारैहतारमा छन्। तर उनीहरूले यहाँ केही एजेन्डा सम्बोधन गर्न सक्ने अवस्था नै छैन। उनीहरूको चर्चा नै हुन्न। अरू पार्टीले प्रचार थालेपछि रास्वपावालाहरूलाई भाग्न पनि हम्मेहम्मे पर्छ,’ उनी भन्छन्।
सप्तरी २ मा राजविराज नगरपालिका तथा तिलाठी कोइलाडी, महादेवा र छिन्नमस्ता गाउँपालिकाका ३७ वटा वडा छन्। सप्तरी २ मा २०४८ र २०५१ सालमा तत्कालीन नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह निर्वाचित भएका थिए भने २०५६ सालमा कांग्रेसका रामकुमार चौधरी विजयी भए। २०६४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका जयप्रकाशप्रसाद गुप्ताले जित्दा २०७० मा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट अशोककुमार मण्डल विजयी भए। २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए।
२०७९ को निर्वाचनमा उपेन्द्रलाई दोब्बर मतान्तरले हराएर जनमत पार्टीका अध्यक्ष सीके राउतले संघीय संसदको यात्रा तय गरेका थिए। सप्तरी २ ले अहिलेसम्म सांसद दोहोर्याएको पाइँदैन्। सप्तरी २ ले सीकेलाई दोहोर्याउँछ वा नयाँ सांसद चुन्छ, त्यो फागुन २१ गते १ लाख ५ हजार ८२२ मतदाताले फैसला गर्नेछन्।
Shares

प्रतिक्रिया