राजनीति


जनार्दनलाई ४ वटा चुनाव जिताएका गोपाल, यसपालि उनैलाई हराउन कस्सिए

जनार्दनलाई ४ वटा चुनाव जिताएका गोपाल, यसपालि उनैलाई हराउन कस्सिए

सागर न्यौपाने
माघ २२, २०८२ बिहिबार २१:२३, काठमाडौँ

जनयुद्ध थाल्नुअघि नेकपा माओवादीले जनार्दन शर्मालाई रुकुमबाट सरुवा गरेर दाङको जिम्मा दियो। जनयुद्ध थालेको केही वर्षपछि माओवादीले जनमुक्ति सेना बनायो। जनार्दन डेपुटी कमान्डर बने। लामो समय युद्धमै व्यस्त रहेपछि गृहजिल्ला रुकुमसँग उनको सांगठनिक सम्बन्ध पातलिन पुग्यो। 

उता रुकुममा चाहिँ शान्ति सम्झौतापछि पहिलो संविधान सभाको चुनाव हुन लाग्दा विद्यार्थी आन्दोलनबाट उदाएका गोपाल शर्मा प्रभाव फैलिँदै थियो। उनी जिल्ला सचिव थिए।

२०६४ मा तय भएको चुनावमा रुकुमबाट उठाउने नेताको खोजी हुँदा गोपालले नै जनार्दनको नाम लिए र सोही अनुसार निर्णय गराए।

नेता गोविन्द रोकाका अनुसार त्यसबेला जनार्दन जिल्ला फर्कन तयार थिएनन्।

‘उहाँहरूबीचको भौतिक सहकार्य ०६४ सालदेखि भएको हो,’ हाल नेपाली कम्युनिस्ट पार्टीको रुकुम पश्चिम संयोजक रहेका रोकाले नेपालखबरसँग भने, ‘जिल्ला आउन तयार नहुनुभएका जनार्दन शर्मालाई संविधान सभाको चुनावका बेला गोपाल शर्माले जोड गरेर भित्र्याउनुभएको हो। सानदार मत सहित जिताउनु पनि भयो।’

यसले जनार्दनलाई निकै प्रभावित पार्‍यो।

त्यसयता कुनै पनि चुनावमा जनार्दनले पछि फर्कनु परेन। गोपालसँगको सम्बन्ध निकट बन्दै गयो।

रुकुममा माओवादीको संगठन निर्माण गरेको, कार्यकर्तामाझ सालीन र वैचारिक छवि देखेपछि जनार्दन प्रभावित बने। उनीहरूबीच सम्बन्ध प्रगाढ हुँदै गयो।

यस्तो हिमचिम थियो कि धेरैलाई एकाघरका दाजुभाइ लाग्थ्यो। तर, जनार्दन र गोपालबीच कुनै पारिवारिक साइनो नभएको जनार्दनका भाइ अनिल शर्मा बताउँछन्।

२०६४ देखि २०७९ सम्मका हरेक निर्वाचनमा जनार्दनले सह जित मात्र निकालेका छैनन्, मतान्तर पनि बढाउँदै लगेका छन्। यसमा गोपाल शर्माको व्यवस्थापकीय कौशल र सांगठनिक  पकडले भूमिका खेलेको रोका बताउँछन्।

उनका अनुसार जनार्दन केन्द्रको राजनीति र मन्त्रालय सम्हाल्न व्यस्त रहँदा, रुकुमको गाउँ–गाउँ पुगेर संगठन जोगाउने काम गोपालले गरेका थिए।

‘यो जिल्लामा संगठन र चुनावको मुख्य योजनाकार गोपाल सर हो,’ रोकाले थपे, ‘चार वटा चुनावमा उहाँ चुनावी कमान्डर भएर खट्नुभयो,’ उनले भने।

२०७४ को वैशाखदेखि असोजसम्म गृहमन्त्री हुँदा जनार्दनले  गोपाललाई नै प्रमुख स्वकीय सचिव बनाएका थिए।

अनिलका अनुसार गोपाल शर्मालाई राष्ट्रिय राजनीतिमा ल्याउन जनार्दन शर्माको पनि हात छ। 

‘कर्णालीको आर्थिक मामिला तथा योजनामन्त्री बनाउनुभयो,’ अनिलले भने, ‘केन्द्रमै पनि उहाँलाई स्थापित गराउनु भएको हो।’ 

अलगअलग बाटो
चुनावी कमान्डर हुँदै हरेक गतिविधिमा सारथी बनेर साथ दिएका उनै गोपाल शर्मा र जनार्दनको  राजनीतिक यात्रा मोडिएको मात्र छैन, सम्बन्ध नै टुटेको छ। राजनीतिक बाटो फेरिएसँगै दुई शर्मा २०८२ कात्तिकपछि अलग भएका छन्। 

जनार्दन शर्माले माओवादी केन्द्र छाडेर २०८२ कात्तिक २८ गते प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरे। 

तर, उनलाई हरेक संकटमा साथ दिँदै आएका गोपालले यसपटक भने साथ दिएनन्। 

उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वकै धारमा उभिए। आगामी फागुन २१ गते हुने निर्वाचनमा उनले आफ्नै पुराना नेता जनार्दन शर्मासँग प्रतिस्पर्धा गर्दैछन्। नेपाली कम्युनिस्ट पार्टीले उनलाई रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ।

हिजोसम्म जनार्दनलाई कसरी जिताउने भनेर योजना बनाउने चुनावी कमान्डर गोपाल अहिले जनार्दन हराउने योजना बनाउन व्यस्त छन्। 

नेकपा रुकुम पश्चिमका संयोजक गोविन्द रोका गोपाल शर्माले जित्ने दाबी गर्छन्। 

‘ग्रासरुटमा गोपाल सर बढी जानकार हुनुहुन्छ,’ उनले भने, ‘उहाँको पक्षमा स्पष्ट जित्ने मत छ। सांगठनिक मत छ। रुकुम जिल्लाको मतदाता अलि बढी कमिटेड हुनुहुन्छ। यहाँ अहिलेसम्म पार्टी र मूल संस्थापन पक्षलाई मतदाताले धोका दिनुभएको छैन।’ 

तर, लगातार जितिरहेको सो क्षेत्र फेरि सजिलै जितिनेमा जनार्दन आशावादी छन्। झन्, उनलाई नेकपा एमालेले समर्थन गरेको छ।

हाल प्रलोपाका केन्द्रीय सदस्य समेत रहेका अनिल शर्माले गोपाल शर्माले अन्तिम अवस्थामा साथ छोडेर उम्मेदवारी दिएको दाबी गरे। तर, रुकुम पश्चिम जितिनेमा कुनै आशंका नरहेको उनको भनाइ छ।

‘जनताको मनमस्तिष्कमा बसेको, जनतासँग एकाकार भएको मान्छे जनार्दन शर्मा हो,’ अनिल शर्माले भने, ‘रुकुम पश्चिमको विकासमा गरेको योगदानको जनताले मूल्यांकन गर्नुहुनेछ।’

‘२८ दिन पर्खनू, नतिजा कसको पक्षमा आउँछ, त्यही दिन देखिन्छ,’ अनिलले थपे।
 
तर, जनार्दनका हरेक चुनावी दाउपेच, सबलता र कमजोरीबारे जानकार गोपालको उम्मेदवारीले जनार्दनलाई सबैभन्दा ठूलो संकटमा पारेको छ। 

‘जनार्दन सरको गोप्य चुनावी रणनीति, भोट बैंक कहाँ छ र त्यसलाई कसरी आफूतिर तान्ने भनेर गोपाल जानकार हुनुहुन्छ,’ एक नेताले भने, ‘विगतदेखि संगठनमा काम गरेको, कतिपयलाई आफैँले संगठित गरेको कारण स्थानीय कार्यकर्ताले यसपटक साथ दिन्छन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad