ad ad

राजनीति


देउवालाई नेम्वाङको जवाफ : सांसद अपहरणको यथार्थ संसदको यसै अधिवेशनमा आउँछ

देउवालाई नेम्वाङको जवाफ : सांसद अपहरणको यथार्थ संसदको यसै अधिवेशनमा आउँछ

नेपालखबर
बैशाख २६, २०७७ शुक्रबार १२:४३,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार कुनै पनि प्रकारको आपराधिक कार्यको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

संघीय संसदको छैटौँ अधिवेशन अर्थात बजेट अधिवेशनको पहिलो दिन शुक्रबारको प्रतिनिधिसभा बैठकमा शुभकामना मन्तव्य दिँदै उपनेता नेम्वाङले सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध रहेको र आपराधिक कार्यको पक्षमा नरहेको बताएका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका नेता शेरबहादुर देउवाले बैठकमा बोल्दै सांसद अपहरण जस्तो अवाञ्छित र आपराधिक गतिविधिमा सरकार संलग्न रहेको आरोप लगाएपछि उपनेता नेम्वाङले सरकारको बचाउ गरेका हुन्। उनले ‘सांसद अपहरण’को यथार्थ यसै अधिवेशनमा आउने पनि बताए।

उनले भने, ‘सांसदको अपरहणको कुरा विवादै छैन। कुनै पनि नाममा यस्ता खालका कामहरु हुनु हुदैन। तर भएको के हो? यथार्थ के हो? त्यससम्बन्धी कुराहरु पनि यही संसद चल्दा चल्दैको अवस्थामा यथार्थ कुरा आउँछ भन्ने मलाई विश्वास छ। हामी कुनै प्रकारका आपराधिक कार्यहरुको पक्षमा छैनौ।’

उनले घुमाउरो शैलीमा सरकार जवाफदेही र पारदर्शी भएको दाबी पनि गरे। उनले भने, ‘यो अधिवेशनले एउटा राम्रो निष्कर्षमा हामीलाई पुराउन सकोस्। देशलाई जवाफदेहीता र पारदर्शीताको टुंगोमा, निष्कर्षमा पुर्याउन यो अधिवेशनले महत्वपुर्ण भूमिका निर्वाह गर्न सकोस्। यसमा हाम्रो भुमिका रहन्छ । हाम्रो सहयोग रहन्छ।’

उनले मुलुक अत्यन्तै अप्ठ्यारो र चुनौतिपुर्ण अवस्थामा रहेकाले समस्या सम्बोधन गर्ने सन्र्दभमा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याए। उनले कारोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन विकल्पहीन बाध्यता र आवश्यकता भएको बताए। उनले कोरोनाले क्षति पुराएको विविध पक्षको सम्बोधन गर्नका यो अधिवेशनमा आधारहरु तय गर्दै अघि बढ्नुपर्ने आवश्यता रहेकाले त्यस अभियानमा सबैको सहयोग प्राप्त हुने विश्वास आफूले लिएको बताए। प्रमुख प्रतिपक्षी लगायत सम्पूर्ण प्रतिपक्षी दललाई कोरोना विरुद्धको लडाईंमा एकजुट भएकोमा सरकारको तर्फबाट धन्यवाद दिए।

उनले यो अधिवेशनले बजेटसंगै शान्ति प्रक्रियाका बाँकी कामलाई पनि अन्तिम टुंगोमा पुर्याउने विश्वास व्यक्त गरे। सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोगसम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुगेको यसै अधिवेशले टुंगो लगाउने विश्वास आफुले लिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .