उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले अरुलाई प्रधानमन्त्री बनाउन नभएर आफैं प्रधानमन्त्री बनेर देश परिवर्तन गर्न राजनीतिमा आएको बताएका छन्।
उनेपाले बिहीबार जनकपुरमा सञ्चालन गरेको ‘जनताको घरैदैलो’ कार्यक्रममा सहभागी हुने क्रममा घिसिङले आफ्नो पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गरे।
‘यो समाज परिवर्तन गर्नुपर्छ, देशको आर्थिक रुपान्तरण गर्नुपर्छ। हाम्रो पार्टी डेलिभरि दिने पार्टी हो। अरु भनेको भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होईन। डेलिभरी दिएर अर्गानिक रुपमा स्थापित भएको पार्टी हो,’ उनले भने।
देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उनेपाले नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने जिकिर गरे। उनले निर्वाचनपछि प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने बताए।
‘हामी छोटो समयमा आएका छौँ। तर यो पार्टीले नै यो देशको नेतृत्व गर्नेछ। प्रधानमन्त्री हामी नै हुन्छौँ। हामी यो देशको नेतृत्व गर्न आएको हो,’ घिसिङले भने, ‘हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होईन। हामी आफैँ प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौँ।’
भाषण गरेको आधारमा नभई काम गरेको आधारमा जनताले प्रधानमन्त्री छनोट गर्ने उनको भनाइ थियो। ‘भाषण गरेर मात्रै प्रधानमन्त्री बनिँदैन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि प्रधानमन्त्री हुने हो,’ उनले भने।
नयाँ ऊर्जा र जोशसहित अघि बढेको पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर थप सशक्त भएको बताए। दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेका पार्टी भएको उनको भनाइ थियो।
‘उज्योलो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापित सबैभन्दा नयाँ पार्टी हो। नयाँ उर्जा र जोश लिएर आएको पार्टी हो। उज्यालो नेपाल पार्टीसँग राष्ट्रिय परिवर्तन पार्टी पनि एकता भएको छ। यी दुवै पार्टी जेनजी आन्दोलन पछि स्थापना भएका पार्टी हुन्,’ उनले भने, ‘राष्ट्रिय परिवर्तन पार्टी जेनजी आन्दोलनका घाइतेहरुको पार्टी हो। दुवै पार्टीले जेनजी आन्दोलनको भावना र मागलाई बोकेको छ।’
मधेश प्रदेश धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्त्वपूर्ण प्रदेश भएकाले आफ्नो पार्टीको सशक्त उपस्थिति रहने उनको भनाइ थियो। प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उनले धेरै क्षेत्रमा प्रतिष्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गरे।
Shares

प्रतिक्रिया