खुट्टाको चोटका कारण उपचारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने चुनावी अभियानमा फर्किएका छन्।
मंगलबार साँझ सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै आफू चुनावी अभियानमा फर्किएको बताएका हुन्। ‘सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनिक जीवनमा फर्कँदै छु,’ लामिछानेले भनेका छन्।
रास्वपाले माघ ५ गते जनकपुरमा आयोजना गरेको सभामा सहभागी हुने क्रममा लामिछानेको खुट्टामा चोट लागेको थियो। त्यसमा संक्रमण भएपछि अस्पतालमै बसेर उपचार गराउनु परेको थियो।
उनले प्रतिनिधि सभा ब्युताउने खेलतिर नलाग्न चेनावती दिएका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको परिणाम जस्तो आए पनि स्वीकार्ने उनको भनाइ छ।
‘मेरो खुला आग्रह छ- अझै पनि जो-जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ,’ लामिछानेले भनेका छन्, ‘हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दवाब र धम्की स्वीकार्दैनौँ।’
रवि लामिछानले सार्वजनिक गरेको धारणा:
सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरामपछि आजबाट म सार्वजनिक जीवनमा फर्कँदै छु। र यो ऐलान, संकल्प र प्रतिबद्धताका साथ फर्कँदै छु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ। परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन्।
अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरीरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरू धाउँदा धाउँदा थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमुदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ। म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग्दै छु घण्टीमा भोट। दलहरूका मसिहाहरूले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु, तपाइँको भोट।
एकाध पुल, एकाध भवन र एकाध सडकका तस्बिर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन। कुशासनको मुख्यालय भएको सिंहदरबारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्यान्डेटविना हामी हार्नु र जित्नुको कुनै महत्त्व हुनेछैन। वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन।
म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन। यो देशको भविश्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि विल्कुल तयार छु। मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको परवाह छैन। तर यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरूविरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ।
भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी, भिजनविनाका, नीति सिद्धान्तविनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन। सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा-दस्तावेज पढ्ने जाँगर विश्लेषणजीविहरूलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने? विचार सिद्धान्त, नीति सबै भएका भनिएका तपाईंहरूको नियत, कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस्, नपढाउनुस्। देश रसातलमा पुग्दा पनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक।
भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउछौँ, नसके जनता छन्। आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ तर यो देश कुनै अमुक नेताले होइन, जनताले जोगाएका हुन्। तिनै जनताको ताकतको बलमा मतपत्र मार्फत हामी सुशासनको घन्टी बजाउँदै, विकास-कूटनीति र अर्थ-राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ।
गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ- अझै पनि जो-जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद, षड्यन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दवाब र धम्की स्वीकार्दैनौँ।
फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसद्मा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ। सर्प त एउटा पनि पाल्न सकिँदैन।
यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ। केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ। मात्र तपाईँको हातमा।
तपाईँको, रवि लामिछाने
Shares

प्रतिक्रिया