राजनीति


नागरिक समाजको आह्वानः निर्वाचन सफल बनाउन दलहरू जिम्मेवार बन

नागरिक समाजको आह्वानः निर्वाचन सफल बनाउन दलहरू जिम्मेवार बन

नेपालखबर
माघ १९, २०८२ सोमबार २०:१६, विराटनगर

फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनको समय नजिकिँदै गर्दा झापाका नागरिक समाजका अगुवाहरूले राजनीतिक दलहरूलाई संयमित र जिम्मेवार बन्न विशेष आग्रह गरेका छन्।

संवाद समूह कोसी प्रदेशले झापाको बिर्तामोडमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिहरूले मुलुकको वर्तमान सङ्कट समाधानका लागि निर्वाचनको विकल्प नभएको तर यसका लागि दलहरूको व्यवहारमा सुधार आउनुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ मेची बहुमुखी क्याम्पसका अध्यक्ष लीला अधिकारीले निर्वाचनको वातावरण सिर्जना गर्न चुनौतीहरू हटाउनुपर्ने बताउँदै सामाजिक सञ्जालमा बढ्दो गालीगलौज र घृणा फैलाउने कार्यले सुरक्षा चुनौती थपेकोतर्फ ध्यानाकर्षण गराए।

मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा। रूपक खनालले दलहरूमा उच्छृङ्खलपना बढेको र केवल प्रतिस्पर्धामा हराउने उद्देश्य मात्र देखिएको भन्दै एजेन्डा केन्द्रित बहसको आवश्यकता औँल्याए। उनले सञ्चारकर्मीहरू तटस्थ बस्नुपर्ने र सामाजिक सञ्जालको नियमन हुनुपर्नेमा जोड दिए।

चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण बिमलीले समाज दुई धारमा बाँडिएको र सुशासनका लागि भएको ‘जेनजी’ आन्दोलनले ल्याएको परिस्थितिले निर्वाचनमा अन्योल सिर्जना गरेको टिप्पणी गरे।

यस्तै, नेपाल आदिवासी जनजाति महासङ्घ झापाका अध्यक्ष पाण्डवलाल चौधरी र बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले विशेष गरी झापा क्षेत्र नम्बर ५ मा मतदाताहरू बढी त्रासमा रहेको र सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताए। उनले दलका नेताहरूले कार्यकर्ता उक्साउने र भड्काउने खालका अभिव्यक्ति दिन नहुने सुझाव दिए।

सञ्चारिक समूह झापाकी अध्यक्ष लीला अनमोलले नयाँ र पुराना शक्तिबिचको द्वन्द्व तथा संसद् पुनर्स्थापना जस्ता हल्लाले समाजमा भ्रम सिर्जना भइरहेकोले सुरक्षा संयन्त्र चनाखो हुनुपर्ने बताइन्।  

यस्तै, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले निर्वाचन आचारसंहिताको अक्षरशः पालना हुनुपर्ने र मतदानको दिन निजी सवारी साधन सञ्चालन गर्न दिनुपर्ने धारणा राखे। नेपाल शिक्षक महासङ्घका युवराज कट्टेल र औषधि व्यवसायी सङ्घका जीवनकुमार खड्काले निर्वाचनलाई लोकतन्त्रको आधार मान्दै भयमुक्त वातावरण बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

महिला, अपाङ्गता भएका र ज्येष्ठ नागरिकको मताधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले समाजको नकारात्मक मनोविज्ञान चिर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताइन्।

कार्यक्रमका अन्य सहभागीहरूले पनि नागरिक समाज निर्वाचन सम्पन्न गर्न आफ्नो तर्फबाट तटस्थ भूमिका निर्वाह गर्न तयार रहेको प्रतिबद्धता जनाउँदै सुरक्षा निकाय र राजनीतिक दलहरूलाई आपसी समन्वय र उच्च सतर्कताका साथ अघि बढ्न अपिल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad