राजनीति


बाटोघाटो र पुलपुलेसा नै मुगुका चुनावी मुद्दा

बाटोघाटो र पुलपुलेसा नै मुगुका चुनावी मुद्दा

दिनेश बुढा
माघ १८, २०८२ आइतबार १७:१४, सुर्खेत

साढे दुई दशकअघि चुनावी मैदानमा जाँदा मुगुका चन्द्रबहादुर शाहीले पुलपुलेसा, बाटोघाटो, सडक, खानेपानीलगायतका विषय उठाएका थिए। अहिले चन्द्र फेरि उम्मेदवार बनेका छन्। उनले तिनै विषयलाई यस पटक पनि चुनावी मुद्दा बनाएका छन्। 

त्यतिवेला जस्तै यस पटक पनि मुगुका जनताले आफूलाई मत दिने उनको विश्वास छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार चन्द्र भन्छन्, ‘सडक, पुल, यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा बस्ती विकासलाई प्राथमिकतामा राखेको छु।’ 

२०५६ सालमा चन्द्रबहादुर नेकपा (एमाले)का उम्मेदवार थिए। एमाले विभाजनपछि माधवकुमार नेपालका नेतृत्वको नेकपा (एकीकृत समाजवादी) हुँदै उनी अहिले नेकपामा पुगेका हुन्। 

उनी २०७९ सालको निर्वाचनमै उम्मेदवार बन्न चाहन्थ्ये। तर, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीलगायत पाँच दलको गठबन्धनमा मुगु कांग्रेसको भागमा पर्‍यो। जसले गर्दा उनले पछि हट्नुपर्‍यो। 

त्यसअघि २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेशमा निर्वाचित भएका थिए। त्यतिवेला जस्तै अहिले पनि जिल्लाबासीको भरोसा गरेका चन्द्र मुगुका अधुरा विकास योजनालाई पूर्णता दिन फेरि उम्मेदवारी दिएको बताउँछन्। 

‘नाग्म-गमगडी, गमगडी-ताल्चा, ताल्चा विमानस्थल, मुगु-रारा पर्यटकीय सडक, दोमुख-तारापानी-नाचेलगढ सडक, रारा-छायानाथ पर्यटकीय मार्गलगायत पूर्वाधार विकासका कामलाई तीव्रता दिने मेरो प्रतिबद्धता छ’, उनी भन्छन्। 

अनुभवी उम्मेदवार चन्द्र मात्रै होइन, नयाँ अनुहारले पनि पुलपुलेसा, बाटोघाटोलाई नै चुनावी मुद्दा बनाएका छन्। पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेसका उम्मेदवार खड्ग शाही जिल्लाको समग्र विकास र जनजीविकाका सवाललाई संसद्सम्म पुर्‍याउन उम्मेदवारी दिएको बताउँछन्। 

मुगुमा विकास निर्माण नै पहिलो आवश्यकता भएको उनको भनाइ छ। ‘अझै पनि जनताका समस्यालाई संघीय सरकारले बेवास्ता गरिरहेको छ, ती समस्या समाधानका लागि सरकारको ध्यानकर्षण गराउन जरुरी छ,’ कांग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका खड्ग भन्छन्, ‘सडक, शिक्षा, स्वास्थ्य र रोजगारीलाई पनि प्राथमिकतामा राखेको छु।’ 

मुगुमा प्रतिस्पर्धा गरिरहेका नेकपा (एमाले) उम्मेदवार पूर्णबहादुर रोकाया पनि नयाँ अनुहार हुन्। पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरिरहेका उनी यसअघि जिल्ला समन्वय समितिको प्रमुख हुँदा गरेका विकास निर्माणका कामलाई नै देखाइरहेका छन्। 

अहिले घरदैलो अभियानमा व्यस्त रहेका उनी मतदाताबाट राम्रो प्रतिक्रिया पाइरहेको बताउँछन्। ‘जिसस प्रमुख हुँदा जनताका समस्याहरू नजिकबाट बुझ्ने मौका पाएँ। तर, त्यहाँबाट पूरा गर्ने ठाउँ थिएन्,’ पूर्ण भन्छन्, ‘अब प्रतिनिधि सभामा निर्वाचित भएपछि ती समस्या समाधानका लागि आवश्यक कानुन निर्माण र कार्यान्वयनमा मेरो भूमिका हुनेछ।’ 

प्रमुख दलसँगै सात उम्मेदवार प्रतिस्पर्धा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट भुवन टमटा, नेकपा (माओवादी)बाट रंगवीर परियार, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट ऐटनकुमार मल्ल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बलबहादुर मल्ल चुनावी मैदानमा छन्। उनीहरूले पनि मुगुको विकास निर्माणका विषयलाई नै आफ्नो चुनावी मुद्दा बनाएका छन्। 

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका थिए। उनले १४ हजार ७०६ मत पाएका थिए। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार राजबहादुर कार्की (राजु)ले १० हजार ७१० मत पाएका थिए। तेस्रोमा रहेका राप्रपाका राजबहादुर मल्लको २९९ मत थियो। 

चार वटा स्थानीय तह रहेको मुगुमा २०७९ वैशाखमा भएको चुनावमा दुई वटा स्थानीय तहको प्रमुख र अध्यक्ष कांग्रेसले र दुई वटा प्रमुख तथा अध्यक्ष नेकपाले जितेको थियो। त्यस्तै, तीन वटा उपप्रमुख र उपाध्यक्ष कांग्रेसले र एमालेले एक ठाउँमा जितेको थियो। 

समानुपातिकतर्फ एमालेले ८ हजार ६४३, कांग्रेसले ८ हजार ४४० मत, तत्कालीन माओवादी केन्द्रले ४ हजार ६५०, एकीकृत समाजवादीले २ हजार ६१२, राप्रपाले ३६८ र रास्वपाले २१० मत पाएको थियो। 

एउटै निर्वाचन क्षेत्र रहेको मुगुमा यस पटकको निर्वाचनमा ३६ हजार ३१ मतदाता छन्। चुनवाका लागि ६७ मतदानस्थल र ६९ वटा मतदान केन्द्र तोकिएका छन्। 

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका थिए। कांग्रेस पुरानो विरासत जोगाउने कसरतमा छ। तर, अहिले सबै दल एक्लाएक्लै चुनावी मैदानमा भएकाले अघिल्लो निर्वाचनमा जस्तो कांग्रेसलाई सजिलो छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad