नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका चुनावी कमाण्डर देवेन्द्र दाहालले व्यक्तिगत र सरकारी भौतिक संरचना तोडफोड गराउने अदृश्य योजनाकारलाई भोट नहाल्न आग्रह गरेका छन्।
शुक्रबार झापाको दकम-८ स्थित मनकामना टोलमा आयोजित भेलालाई सम्बोधन गर्दै दाहालले भदौं २३ र २४ गते जेनजी तोडफोड गर्न बन्द कोठामा बसेर बालेन्द शाहले उक्साएको आरोप लगाए। आन्दोलनका क्रममा डेढ खर्बभन्दा बढीको क्षति भएको उल्लेख गर्दै भोट दिँदा सोचविचार गर्न आग्रह गरे।
एमाले केन्द्रीय सदस्य समेत रहेका नेता दाहालले झापाको विकासमा अध्यक्ष ओलीले महत्त्वपूर्ण भूमिका खेलेको बताए। ‘अध्यक्ष ओलीको भूमिका स्थानीय विकास मात्र नभई राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्ताको संरक्षणका लागि महत्त्वपूर्ण रहेको छ,’ उनलेभने।
टोल, वडा, क्षेत्र र देशको विकासका लागि ओलीलाई जिताउनुपर्ने उनको भनाइ थियो। स्थानीय चन्द्रकला मिश्रले दमक-८ मा लालपूर्जा वितरणको काम रोकिएको विषयमा सोधेको प्रश्नको उत्तर दिँदै नेता दाहालले जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले आयोग खारेज गरेका कारण समयमा काम नभएको बताए।
झापा-५ बाट एमाले अध्यक्ष ओली उम्मेदवार बनेका छन्। यो क्षेत्रमा रहेका २९ वटै वडामा एमालेले चुनाव प्रचारका लागि वडा र टोल कमिटी गठन गरेको छ।

प्रतिक्रिया